२३ असार २०८३, मंगलबार
नागरिक उन्मुक्ति पार्टी भित्र किचलो

सुदूरपश्चिम सरकारमा सहभागितापछि नाउपामा दुई धार : सरकार छाड्न अध्यक्ष श्रेष्ठको निर्देशन

फागुन २६, २०८०
धनगढी
सुदूरपश्चिम सरकारमा सहभागितापछि नाउपामा दुई धार : सरकार छाड्न अध्यक्ष श्रेष्ठको निर्देशन

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र दुई धार देखिएको छ । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशन बमोजिम नाउपाले थप तीन मन्त्री सरकारमा पठाएको थियो । तर पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएकी छिन् ।

योसँगै रेशम र रञ्जीता दुई धारमा देखिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरीले आर्थिक मामिला मन्त्री, खुसीराम चौधरी विनाविभागीय र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएसँगै शपथसमेत लिइसकेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये घनश्याम चौधरी, रामेश्वर चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी रेशमको साथमा छन् भने पूर्व कृषि राज्यमन्त्री कैलाश चौधरी लगायतका बाँकी तीन सांसद रञ्जीताको पक्षमा छन् ।

प्रदेश सभाको यो अङ्क गणित हेर्ने हो भने रञ्जीता अल्पमतमा छिन् । 

मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले पार्टी भित्र छलफल भएर आफूहरू सरकारमा गएको प्रतिक्रिया दिएका छन् । ‘पार्टीमा छलफलपछि मात्रै हामी सरकारमा गएका हौं । जिम्मेवारी बाँडफाँट पनि सकिएको छ । अब हामी काम गर्न थाल्छौ, ‘विनाविभागीय मन्त्री खुसीराम चौधरीले भने ।

शपथ लगत्तै नवनियुक्त मन्त्रीहरू संरक्षक रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । ‘संरक्षक ज्यूले हामीलाई बोलाउनु भएको थियो । हाम्रो बीचमा छलफल भयो । उहाँले हामीलाई बधाई दिनुभयो', एक मन्त्रीले भने ।

पार्टीको अध्यक्षमा निर्वाचन आयोगले रेशम चौधरीलाई वैधानिकता नदिएपछि अहिले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ छिन् ।

तत्काल सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा केन्द्रमा छलफल चलिरहेकै बेला प्रदेशमा मन्त्रीले शपथ ग्रहण गरेपछि पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले कारबाही गर्ने चेतावनी दिएकी छिन् । ‘पार्टीमा छलफल विनै सरकारमा सहभागी हुनेहरूलाई कारबाही गर्छाैं । छलफल र निर्देशनविना उहाँहरू सरकारमा सहभागी हुनुभएको हो । यस विषयमा मलाईं कुनै जानकारी छैन', श्रेष्ठले भनिन् ।

श्रेष्ठले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशनसमेत दिइसकेकी छिन् ।

नागरिक उन्मुक्ति पार्टीबाटै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाएर उनको ठाउँमा उन्मुक्तिकै इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको छ ।

पूर्व राज्यमन्त्री चौधरीले आफूसँगै छलफल विनै जिम्मेवारी हेरफेर गुनासो गरेका छन् ।

‘मलाई जानकारी नै थिएन । सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा मात्रै छलफल भएको हो । त्यसमा पनि कुन गठबन्धनबाट सहभागी हुने भन्ने टुङ्गो लागेको थिएन । केन्द्रमा एक थरी गठबन्धन र प्रदेशमा अर्को थरी गठबन्धन हुँदा समस्या हुन्छ । केन्द्रीय अध्यक्ष श्रेष्ठले पनि आपत्ति जनाउनु भएको छ', पूर्व कृषि राज्यमन्त्री चौधरीले भने ।

केन्द्रमा एमाले–माओवादीकै सरकारलाई समर्थन रहने भन्दै प्रदेशमा पनि त्योभन्दा फरक गठबन्धनमा सहभागी हुन नसकिने पार्टी अध्यक्ष श्रेष्ठको जिकिर छ ।

तर रेशम चौधरी भने धनगढीमै बसेर सरकार गठनको गृहकार्य गरेका थिए । रञ्जीता केन्द्रीय समीकरणअनुसार नै अगाडि बढ्न चाहन्छिन् । उनी एमाले माओवादी गठबन्धनको पक्षमा छिन् भने रेशम नेपाली कांग्रेससँग छलफलमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्