
लोकसभा चुनाव लड्ने घोषणा गरेकी बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो सक्रियता बढाएकी छिन् । आफ्नो पक्षमा चुनावी माहोल बनाउन उनी लागिपरेकी हुन् ।
यस क्रममा भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार बनेकी उनले आफ्नै दलका राष्ट्रिय जगतप्रकाश नड्डालाई भेटेकी छिन् ।
अध्यक्ष नड्डासँगको भेटपछि कंगनाले उनको मार्गदर्शन र सहयोगका लागि आभार प्रकट गरेकी छिन् ।
‘मैले राष्ट्रिय अध्यक्ष जगतप्रकाश नड्डालाई भेटेँ । उहाँको मार्गदर्शन र सहयोगका लागि म सधैं आभारी रहनेछु, म हाम्रो क्षेत्र बजारको उन्नति र समृद्धिको लागि कडा मेहनत गर्नेछु,’ भेटबारे उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
कंगनालाई सत्तारुढ दल भाजपा आगामी लोकसभा चुनावमा उम्मेदवार बनाएको छ ।
आइतवार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्रबाट उठाउने निर्णय गरेको हो ।
कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छिन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् ।
त्यस्तै उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारसँगै केही सेलेब्रिटीविरुद्ध निशाना साधेकी थिइन् ।
यसै वर्षको अप्रिल १९ तारिखमा भारतमा लोकसभाको चुनाव शुरू हुँदैछ ।