
खोटाङ सेवा समाज बेलायतले जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे । समाजले जिल्लाका १० वटै स्थानीय तहका ११ स्थानमा ३ करोड रुपैयाँ खर्चिएर विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिए ।

विशिष्ट स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको उनले बताए । आजदेखि शुरू भएको शिविर २४ गतेसम्म चल्ने छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित १३० जनाभन्दा बढी मेडिकल टिमको सहभागिता छ ।
समाजले ६ महिना अघिदेखि सामाजिक अभियान चलाएर मातृभूमिका नागरिकहरूको सेवाका लागि करिब १२ हजार पाउन्ड रकम सङ्कलन गरेको थियो । अभियानका लागि विश्वका विभिन्न देशमा रहेका नेपालीबाट करिब ७० लाख जति सङ्कलन भएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिए ।

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलितसहित करिब ३ करोड १० लाख रुपैयाँ बराबरको रकम शिविरमा खर्च गरिने उनले बताए ।
शिविरमा गाईनोक्लोजिस्ट, पेडियार्टिक, जनरल फिजिसिन, दन्त रोग, हाजजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको उपचार र परीक्षण गरी करिब ४५–५० हजार खोटाङेहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिने समाजले जनाएको छ ।