
प्रदेश सरकार अस्थिर हुँदा साना दल हरेकका सांसद निरन्तर मन्त्री बन्दै आएका छन् । यस्तै सांसद हुन्, लुम्बिनी प्रदेशका भण्डारीलाल अहिर । बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित अहिर एक वर्षमा तीन पटक मन्त्री बनेका छन् । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता अहिरले आम निर्वाचन–२०७९ पछि लुम्बिनीमा बनेका तीन वटा सरकारमा तीन पटक नै मन्त्री बनेका हुन् ।
वि.स. २०७९ पुसमा नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा उनी कृषि तथा भूमि व्यवस्था मन्त्री बने । तर एमाले नेतृत्वको सरकार तीन महिनामै ढलेपछि नेपाली कांग्रेसका डिल्लीबहादुर नेतृत्वमा २०८० वैशाखमा बनेको सरकारमा पनि उनी कृषि मन्त्री नै बने । चौधरीको सरकार ११ महिनामा ढलेपछि अहिले फेरि नेकपा माओवादी नेतृत्वको ‘मिलीजुली’ नेतृत्वको सरकारमा पनि उनले आइतबार मन्त्रीको शपथ लिएका छन् । तर, उनको जिम्मेवारी नतोकिए पनि फेरि सोही मन्त्रालय मागेका छन् । उनीले मन्त्री बनेपछि गाडी समेत फेर्नुपरेको छैन ।
जसपाका लुम्बिनीमा तीन जना सांसद छन् मन्त्री भण्डारीका स्वकीय सचिव राजेन्द्र विश्वकर्माले जनतासँग जोडिनको लागि उहाँ (अहिर) को रोजाइ कृषि मन्त्री रहेको बताए । ‘अहिले पनि उहाँले कृषि मन्त्री दिनुपर्छ भन्नुभएको छ ,’ उनले भने ।
बाँके डुडुवा गाउँपालिका–३ वनकटटीका ५६ वर्षीया अहिर पूर्व शिक्षक हुन् । उनी शिक्षण पेसा छाडेपछि राजनीतिमा आएका हुन् । नयाँ सत्ता समीकरणपछि प्रदेश सरकार फेरिदा साना दलबिना सरकार बन्ने अवस्था नहुँदा साना दल ‘किङमेकर’ जस्तै बनेका छन् । ‘मन्त्री अहिरले पार्टीले अघि सारेपछि मन्त्री बनिरहेको बताए । ‘जबरजस्ती मन्त्री बन्छु भनेर बनेको होइन’ नवनियुक्त मन्त्री अहिरले लोकान्तरसँग भने, ‘यो बाहेक अझै एक पटक बन्छु त्यसपछि अरू पनि अघि सर्नुहोला । मेरो रोजाइ अहिले पनि कृषि नै छ ।’ मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिएपछि मन्त्रालय भागबण्डाको टुङ्गो लाग्ने उनको भनाइ छ ।
लुम्बिनीमा अहिले माओवादीको नेतृत्वमा एमाले, जसपा, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सहितको सरकार बनेको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले (नाउपा) पनि सरकारलाई समर्थन गरेको छ ।