![ललितपुर महानगरले बनायो वातावरण प्रहरी, पार्कमा सुन्तला–बदामका खोस्टा फ्याँक्नेका गए दिन [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/lalitpur_mahanagar-main_75AeTAmiTk.jpg)
वातावरण र पर्यावरण क्षेत्रमा काम गर्ने उद्देश्यसहित ललितपुर महानगरपालिकाले वातावरण प्रहरी राख्ने भएको छ ।
अमेरिकी सहायता संस्था यूएसएडको ‘स्वच्छ हावा’ नामक कार्यक्रमअन्तर्गत महानगरले १५ जना नगर प्रहरीलाई वातावरणसम्बन्धी कामको तालिम दिन शुरू गरेको हो ।
सीताराम हाछेथुको नेतृत्वमा १५ जना नगर प्रहरीलाई वातावरणसम्बन्धी तालिम दिन लागिएको नगर प्रमुख (मेयर) चिरीबाबु महर्जनले बताए ।
बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले उक्त कुराको जानकारी दिएका हुन् ।
कार्यक्रममा वातावरण प्रहरीका लागि संयुक्त राज्य अमेरिकाद्वारा सञ्चालित यूएसएडको सहयोगमा बिहीवार ३ दिने तालिमको उद्घाटनसमेत गरिएको छ ।
तालिममा यूएसएडले प्राविधिकलगायत अरु सम्पूर्ण सहयोग गरेको जानकारीसमेत दिइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर महर्जनले ललितपुरमा मात्र वातावरण सुधार गरेर खास सुधार नहुने बताए ।
‘हेर्दाखेरी ललितपुर सफा, हरियाली हुनु उपलब्धिमूलक होला, तर वायु प्रदूषणको सन्दर्भमा जबसम्म काठमाडौं उपत्यकाका दुईवटा महानगरलगायत १६ वटा नगरपालिकाले संयुक्तरुपमा काम नगरे यसको नतिजा देखिने आउँदैन,’ उनले भने ।
त्यस्तै ललितपुरको सडक छेउको हरियालीमा मान्छेले बसेर बदाम र सुन्तलाको बोक्रा फ्याँकिदिनाले पनि वातावरणमा नकारात्मक असर पारिरहेको उनले बताए । भएको हरियाली संरक्षणका लागिसमेत वातावरण प्रहरीले ध्यान दिने उनको भनाइ छ ।
यस्तै कार्यक्रममा महानगर उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले वातावरणसम्बधी तालिमले वातावरण प्रहरीलाई सशक्त ढंगले थप अगाडि बढ्न बल पुग्ने बताइन् ।
’महानगरले गरेको वातावरणसम्बन्धी सबै निर्णयलाई व्यावहारिक कार्यान्वयन गर्न अब उहाँहरूलाई यस तालिमले थप मदत पुग्नेछ,’ उनले भनिन्, ’गाउँमा होस् या शहरमा हामीलाई जतिखेर मन लाग्यो त्यतिखेर खन्ने प्रक्रिया जुन छ, त्यसले निकाल्ने धुलोका कारण गर्दा पनि वातावरण प्रदूषण हुने गरेको छ ।’
त्यस्तै कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, यूएसएडअन्तर्गत स्वच्छ हावा कार्यक्रमका प्रमुख भूषण तुलाधर लगायतले कार्यक्रमको सान्दर्भिकतासम्बन्धी आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।
हेरौं भिडियोः