१९ असार २०८३, शुक्रबार
आँखैअगाडि श्रीमान् गुमाएकी तुलकुमारीको बयान

त्यो रात घाइते सेनाले ढोका नढक्ढक्याएको भए !

बैशाख १, २०८१
काठमाडौं
त्यो रात घाइते सेनाले ढोका नढक्ढक्याएको भए !

पोखरा– रगतले लत्पितिएकोे भुइँ । काखमा दुई वर्षे छोरी । हर छोपेको कपडा रगतले नै रुझेको । सिनेमामा देखाउने ‘फाइट’जस्तो बन्दुक र बारुदको आवाज । छत छेडेर आएका गोली शरीरको वारपार भए । यी दृश्य कुनै थ्रिलर सिनेमाका होइनन् । यो २० वर्षअघि तुलकुमारी गैरेको आँखाअघि घटित घटना हो । जो आजसम्म पनि उनको मानसपटलमा ताजै छ । 

म्याग्दीको बेनी बजारमा रहेको तत्कालीन जिल्ला विकास समिति (जिविस)कार्यालयमा तुलकुमारीका श्रीमान्ले चमेना गृह (क्यान्टिन) चलाउँथे । श्रीमान्लाई साथ दिन उनीसँगै बसेकी थिइन् । मंगला गाउँपालिका वडा नं ५ बाट बेनी झरेको यो दम्पतीले चमेना गृहबाट जीविका चलाएको थियो । काखमा दुई वर्षीया छोरी हुर्कँदै थिइन् । 

२०६० चैत ७, बेनी आक्रमणको रात थियो । जुन रातले तुलकुमारीको सानो परिवार उजाडियो । आँखैअघि उनीबाट श्रीमान्को साथ खोसियो । आक्रमणमा उनका श्रीमान्ले ज्यान गुमाए । ‘दोहोरो भिडन्तमा कसको गोली लाग्यो थाहा भएन,’ उनी भावुक हुँदै त्यो घटना सम्झिन्छिन् । 

त्यो रात दैनिकी सकेर सुत्ने तरखर थियो तुलकुमारीको परिवार । अचानक गोली चल्यो । बस्तीमै भीडन्त शुरू भयो । बाहिरको माहोल कोलाहलको थियो । यस्तोमा तुलकुमारीले काखमा छोरी च्यापिन् । यसपछि श्रीमान् र जेठाजुको छोरासहित खाटमूनि लुकिन् । त्यत्तिकैमा घाइते तत्कालीन शाही नेपाली सेनाका सदस्यले पानी माग्दै ढोका ढक्ढक्याए । 

दैलोमा घाइते आएपछि पानी नदिइ बस्न उनको श्रीमान्को मनले मानेन । ज्यान जोगाउन आड लिइरहेको स्थान छोडेर श्रीमान्ले पानी दिन ढोका उघारे । ढोका के खोलेका थिए गोलीले उनको शरीर छेड्यो । गोलीको प्रहारले रनथनिँदै उनी कोठाबाट बाहिर निस्किए । कोठा बाहिर निस्किएपछि उनको शरीरमा थप गोली लाग्यो । तुलकुमारीका श्रीमान्ले यसरी नै उनकै अघि सास गुमाए । 

‘घाइते आर्मी आएर पानी खाम है गैरै दाइ भने । चुकुल खोलेर पानी दिन्छु भन्दा गोली आएर कोखमा लाग्यो । उहाँलाई गाह्रो भएर बाहिर निस्किँदा फेरि अर्को गोली लाग्यो । आँगनमा उहाँको सास गयो,’ उनले सम्झिन् त्यो कहालीलाग्दो रात । 

null

श्रीमान्को ज्यान जाँदा पनि केही गर्न नसक्ने विवशता तुलकुमारीमा थियो । उनले भने खाटमुनि नै छोरी च्यापेर रात कटाइन् । त्यो बेला उनलाई अँगालेर रुने माहोलसमेत बनेन् । बिहान ८ बजेसम्म बेनीमा दोहोरो भीडन्त भयो । दिउँसो ३ बजेमात्र उनको परिवारलाई सुरिक्षत निकालियो । उनीहरू रगतले लत्पतिएको अवस्थामा थिए ।

गत चैत ७ गते बेनी आक्रमणको २० वर्ष पुगेको छ । तुलकुमारीको मनमा अझैपनि एउटा कुरा खेल्छ– त्यो रात घाइते सेनाले ढोका नढक्ढक्याएको भए !

‘घाइते मान्छे नआएको भए खाटैमुनि बसेर मेरा श्रीमान् पनि बच्न हुन्थ्यो कि जस्तो लाग्छ मलाई । गोली खाटमुनि त पुग्दैनथ्यो होला नि !’, गहभरी आँशु पार्दै उनले भनिन् । 

यी त लुलकुमारीको मनमा खेल्ने बात हुन् । तर, उनले सत्यलाई स्वीकार गरिसकेकी छिन् । श्रीमान्को यादन भने उनको मनमा गहिरोसँग गढेको छ । त्यसलाई चिर्दै उनले आफू र छोरीको जीवन धान्न एक्लै उभिन सिकेकी छिन् । ‘मनमा गहिरो घाउ त छ नि !’, उनी भन्छिन्, ‘यही चोटले नै मलाई बलियो पात्रका रुपमा उभ्याएको छ ।’ द्धन्द्धमा आफन्त गुमाउने म एक्ली पात्र होइन भन्ने बुझेर उनले मन बुझाउने गरेकी छिन् ।  

श्रीमान्को साथ छुट्दा तुलकुमारी २५ वर्षकी मात्र थिइन् । उनले छोरीको जिम्मेवारी एक्लै सम्हाल्नुपर्ने भयो । सरकारले १० लाख रुपैयाँ राहत त थियो । तर त्यो पनि किस्तैकिस्तैमा मा पाइन् । छोरी पढाउनेदेखि सबै खर्च धान्नु नै पर्ने थियो । अक्षर चिन्न नपाएकी उनलाई त्यस्तै काम भागमा पर्ने कुरा भएन । श्रीमान्ले काम गर्ने कार्यालयमा अहिले कार्यालय सहयोगीका रुपमा उनले जागिर पाएकी छिन् । त्यही हो अहिले उनको जीविकोपार्जनको माध्यम । एक्लो संघर्षबीच छोरी हुर्काइन् ।
१२ पास गरेपछि छोरीले बेनी बजारमै बसेर स्नातकको सट्टा जापानिज भाषा पढ्न थालिन् । ‘छोरी पढाउन गाह्रो भयो । मान्छेले एकल महिला भनेपछि हेप्ने गर्थे । यसका बीच संषर्ष गरेर पढाएँ । पढ्दैगर्दा भिसा आयो । अहिले त्यही पढाइबाट विदेश गएकी छे,’ खुसी हुँदै उनले सुनाइन् ।  

तुलकुमारीकी छोरी विदेश गएको दुई वर्ष भइसकेको छ । कार्तिकमा एकवर्ष पुगेपछि कात्तिकमा घर आएकी थिइन् । आक्रमणको रात सम्झिँदा मलिन हुने उनको अनुहार छोरीलाई देख्दा त्यसै हर्षित हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्