१९ असार २०८३, शुक्रबार
सहकारी ठगीको अनुसन्धान

सुप्रिम सहकारी ठगी: जीबी, दीपेशसहित २८ जनालाई प्रतिवादी​ कायम गर्नुपर्ने प्रहरीको निष्कर्ष

बैशाख २, २०८१
बुटवल
सुप्रिम सहकारी ठगी: जीबी, दीपेशसहित २८ जनालाई प्रतिवादी​ कायम गर्नुपर्ने प्रहरीको निष्कर्ष

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा प्रकरणमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

झण्डै २ महिना लगाएर अनुसन्धान सकी जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा प्रतिवेदन बुझाएको रुपन्देहीका प्रहरी प्रमुख (एसपी) रञ्जित राठौरले जानकारी दिए ।

प्रहरीले बचतकर्ताको उजुरी र सहकारी प्रतिवेदनका आधारमा यो सहकारी ठगी प्रकरणमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

‘हामीले अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिलको कार्यक्रममा शुक्रबार बुझाएका छौं’, एसपी राठौरले लोकान्तरसँग भने, ‘अनुसन्धानले २८ जनालाई प्रतिवादी बनाएको छ । अरू बिस्तारै पछि आउँदै जानेछ ।’

‘हामीले अध्यक्ष जीबी राई, सचिव दीपेश पुनसहित सहकारीका पदाधिकारी र पक्राउ परेका सबैलाई प्रतिवादी बनाएर प्रतिवेदन पठाएका छौं,’ एसपी राठौरले थपे ।

सहकारीको रकम हिनामिनामा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई गत चैत २ गते पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याइएको थियो ।

पुनसहित सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव दुर्गा चापागाईंलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

पछि सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीका आईटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान गरिएको थियो ।

विक्रम संवत् २०७२ फागुनको साधारण सभाबाट सुप्रिमको अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र कोषाध्यक्ष दीपेश पुन चयन भएका थिए ।

विक्रम संवत् २०५७ सालमा बुटवलमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर पछि २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहामा रहेको छ ।

विक्रम संवत् २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए ।

पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको खुलेको छ । राई अहिले फरार छन् ।

बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए ।

पुन नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय महासचिवसमेत हुन् ।

करोडौं रकम सहकारीले हिनामिना गरेपछि बचतकर्ताहरू अहिले बिचल्लीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्