२९ असार २०८३, सोमबार

सुप्रिम सहकारीको रकम अपचलन प्रकरण: यी हुन् २८ प्रतिवादी, आजदेखि बयान शुरू हुँदै

बैशाख ४, २०८१
बुटवल
सुप्रिम सहकारीको रकम अपचलन प्रकरण: यी हुन् २८ प्रतिवादी, आजदेखि बयान शुरू हुँदै

बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको आज (मंगलबार)देखि बयान शुरू हुँदैछ । सहकारीको रकम अपचलनमा प्रतिवादी बनाइएका २८ जनाको आजदेखि बयान शुरू हुने जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले जानकारी दिए । ‘सोमबार राति अभियोग आएको छ,’ मरासिनीले लोकान्तरसँग भने, ‘आजदेखि बयान शुरू हुन्छ । दीपेश पुनसहित ६ जनालाई उपस्थित गराइएको छ। ६ जनामध्ये २ जना पोखरा कारागारमा छन् । उनीहरूलाई पनि झिकाइन्छ । बयान सकिएपछि थुनछेक बहस हुन्छ ।’ 

जाहेरीमा पीडितको ८६ करोड १८ लाख २३ हजार रकम फिर्ता गराउन माग गरिएको मरासिनीले बताए । रूपन्देही प्रहरीले अनुसन्धान सकेर गत शुक्रबार २८ जना प्रतिवादीलाई बनाउँदैसरकारी वकिलको कार्यालय, रूपन्देहीमा प्रतिवेदन बुझाएको थियो । 

मुद्दाका २८ प्रतिवादीमा जीबी राई, ओमप्रकाश गुरुङ, कुमार रम्तेल, दुर्गा पाण्डे, दीपेश पुन, भविश्वर अर्याल, नीता थापा, दीपक न्यौपाने, रोशनी गुरूङ, सागर केसी रहेका छन् ।

यस्तै, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अलि सिद्धिकी, बुद्धि गुरूङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, लिगल ढुंगाना, मनप्रसाद गुरूङ, पौबहादुर गुरूङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामी प्रतिवादी रहेको मरासिनीले जानकारी दिए । 

सुप्रिम सहकारीमा भएको ठगीबारे अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेका नाममा समेत रकम गएको देखिएको जनाएको छ । रूपन्देही प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले गोर्खा मिडियामा नाममा १ करोड ८० लाख रुपैयाँ गएको प्रमाणमा देखिएको बताए । तर, रवि लामिछानेको नाम उल्लेख नभएको उनले भनाइ छ । 

दीपेश पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । विक्रम संवत् २०५७ सालमा बुटवलमा दर्ता भएर सञ्चालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरेर पछि २०७२ साल फागुनदेखि सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाइएको थियो ।

त्यसलगत्तै कार्यक्षेत्र बाहिरका दुवैजना संस्थाको सदस्य बनेर पदाधिकारी चयन भएका थिए । सुप्रिमको कार्यालय बुटवल राजमार्ग चौराहमा रहेको छ । विक्रम संवत् २०७६ साल कार्तिकमा भएको साधारण सभाबाट पुन सहकारीको सचिव बनेका थिए । 

पुन सचिव भएकै समयमा सुप्रिम सहकारीका संस्थापक अध्यक्ष तथा अहिले संरक्षक रहेका जीबी राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको खुलेको छ । राई अहिले फरार छन् । 

बुटवलका बचतकर्ताले रकम फिर्ता माग्न थालेपछि सचिव पुनले २०७९ मंसिर २४ मा राजीनामा दिएका थिए । पुन नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय महासचिवसमेत हुन् । ८ हजार भन्दा बढी बचतकर्ताको झण्डै १ अर्ब रुपैयाँ अपचलन भएपछि सर्वसाधारण बिचल्लीमा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्