
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।
प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार पङ्गेनीका कृति प्रकाशन गरिदिने निर्णय गरेको प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । 'कीर्तिशेष पङ्गेनीले साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँले सृजना गर्नुभएको तर, प्रकाशन नभएका कृतिलाई गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गर्ने निर्णय गरियो,' उनले भने।
त्यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्ने गजल वाचन एवं प्रतियोगिता कीर्तिशेष प्रकटको जन्मजयन्तीको सन्दर्भ पारेर ‘गजलमा प्रकट’ शीर्षकमा सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।
बैठकले गण्डकी प्रदेशको चिनारी गीतका सर्जक रहेका प्रकटको निधनले गण्डकी प्रदेशको साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै प्रतिष्ठानले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । पंगेनीको मंगलबार निन भएको थियो ।