
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुन धरौटी रकम नबुझाएका कारण कारागारमै छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई वैशाख ७ गते जिल्ला अदालत, रूपन्देहीले ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
५ दिनसम्म पनि धरौटी नबुझाएपछि पुन जिल्ला कारागार रूपन्देहीमै रहेका हुन् । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित राठौरले धरौटी रकम नबुझाएपछि दीपेश कारागारमा रहेको जानकारी दिए ।
‘दीपेशसँगै धरौटी नबुझाएका नविन अछामी धरौटी बुझाएर निस्किए,’ एसपी राठौरेले लोकान्तरसँग भने, ‘दीपेश बुझाएका छैनन्, त्यसैले कारागारमै छन् ।’
गत ७ गते सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनका अभियुक्त दीपेशसहित ६ जनालाई जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको थियो ।
सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि जेल पठाउँदै अन्य ६ जनालाई धरौटीमा छाड्ने आदेश आएको थियो ।
पुन माओवादी निकट अखिल क्रान्तिकारीका महासचिव पनि हुन् । पुनलाई सुन काण्डको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं लैजाने तयारी गरेको बताइएको छ ।
प्रहरीको झन्डै २ महिला लामो अनुसन्धानपछि वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।
सहकारीमा नियमित बचत गरेको सर्वसाधारणको रकम ठगी गरेको भन्दै १ हजार ८३१ जनालाई प्रहरीमा उजुरी गरेका थिए ।