
पश्चिम नवलपरासीमा श्रीमती हत्याको आरोपमा जोखन कँहार पक्राउ परे । गत वैशाख २१ गते रामग्राम नगरपालिका–१६ सबुन बस्ने ललिता कहाँरलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
कहाँरदम्पत्तिबीच लामो समयदेखि घरायसी विवाद हुँदै आएको थियो । दुई छोराकी आमा ललिता भारतको महाराजगञ्ज जिल्लास्थित नौतनवा माइत गएपछि सम्बन्धमा खटपट भएको थियो ।
जोखनले आफू सुध्रिने बताएपछि ललिताका माइतीपक्षले उनलाई रामग्राम पठाए । वैशाख २१ मा ललितालाई घर ल्याएका जोखनले सोही दिन राति हत्या गरेका थिए ।
****
म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक वृद्ध दम्पतीको हत्या भयो । गत चैत १९ गते राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया गमला जिसीको वीभत्स हत्याको अनुसन्धानमा गएका प्रहरीको समेत होश उडेको थियो ।
अनुसन्धान गर्न काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली घटनास्थल पुगेको थियो । स्थानीय प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेका बेला हत्या आरोपमा म्याग्दीका कृष्ण विक र दीपक परियारलाई पक्राउ गरियो ।
लुटपाट गर्ने उद्देश्यले जिसी दम्पतीको हत्या गरिएको निष्कर्ष प्रहरीको थियो । प्रहरीले विक र परियारबाट लुटेको सुनको गरगहनासमेत बरामद गरेको छ ।
****
गएको चैत एक गते विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भयो । चन्द्रिकाको हत्यामा उनकै प्रेमी भनिएका शिवशंकर दासको संलग्नता देखियो । तर, शिवले पनि आत्महत्या गरे । उनले चन्द्रिकालाई एकतर्फी मन पराएका थिए ।
****
गएको वैशाख ११ गते सिरहाको लहानमा एक महिलाले ५ वर्षीय छोराको हत्या गरिन् । सिरहाको सखुवा ननकारकटी गाउँपालिका–५ घर भएर लहानमा बस्दै आएकी सरिता कुमारी साहले छोरा आयुषको प्राण लिएको प्रहरी अनुसन्धानबाट खुलेपछि उनलाई पक्राउ गरियो ।
विवाहेत्तर सम्बन्धका कारण सरिताले छोराको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । सरिताले छोराको हत्या गरेर बक्स पलङको घर्राभित्र लुकाएर राखेको अवस्थामा शव बरामद गरेको थियो ।
****
विगत एक महिनायता देशका विभिन्न स्थानमा भएका व्यक्ति हत्याका यी केही उदाहरण मात्रै हुन् । पछिल्ला दिनमा व्यक्ति हत्याका घटना बढ्दो क्रममा छन् । गरिबी, लुटपाटको उद्देश्य, विवाहेत्तर सम्बन्ध र प्रेम सम्बन्ध लगायतका कारणबाट गराइएका यस्ता घटनाले नेपाली समाज कहाँ गइरहेको छ भनेर सहजै अनुमान लगाउन सकिन्छ ।
मनोविद् गोपाल ढकालको बुझाइमा पारिवारिक सम्बन्धमा आएको खटपट, शंकाउपशंका, निराशा, भौतिक आवश्यकता पूर्ति हुन सक्नु, यौन आवश्यकता पूरा नहुनुलगायत कारणले व्यक्ति हत्या बढेका हुन् । पारिवारिक मूल्य मान्यता र कर्तव्यबोधलाई चिन्न नसक्दा पनि व्यक्तिमा निराशा र उत्तेजना पैदा हुँदा त्यसले हत्याको रूप लिन सक्ने बुझाइ ढकालको छ ।
‘पारिवारिक सम्बन्धमा दरार पैदा हुँदा, श्रीमानश्रीमतीले एक अर्काको आकांक्षा पूरा गर्न नसक्दा, वैदेशिक रोजगारमा गएका बेला श्रीमतीले विवाहेत्तर सम्बन्ध कायम राख्दा पनि हत्याका घटना भएका छन्,’ ढकालले लोकान्तरसँग भने, ‘हत्याका सबै घटनामा मानसिक समस्या देखिँदैन, बदलिँदो समाज र परिवेशका कारण मान्छेका इच्छा आवश्यकताभन्दा बढी हुँदै जाँदा परिवार विखण्डन हुने अवस्था सिर्जना हुन्छ र त्यो कालान्तरमा हत्याजस्ता घटनामा परिणत हुन्छ ।’
प्रहरी प्रधान कार्यालयका अनुसार गएको ७ वर्षमा चार हजार ६ सय ११ वटा हत्याका घटना भएका छन् । ९० प्रतिशत घटना परिवारभित्रैका र चिनेजानेकाले नै गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी भीम ढकालका अनुसार परिवारभित्र हुने गरेका हत्याका घटना केहीबाहेक अधिकांश आवेगप्रेरित देखिन्छन् । व्यक्तिको मनोविज्ञान र संवेगात्मक सम्बन्ध परिवारभित्रै जोडिएकाले त्यहाँ फुट वा असन्तुष्टि पैदा हुनेबित्तिकै घटनाले विकराल रूप लिने गरेको बुझाइ डीआईजी ढकालको छ ।
‘श्रीमतीको हत्यामा श्रीमान जोडिनेबित्तिकै त्यहाँ कि विवाहेत्तर सम्बन्ध देखिन्छ, कि त श्रीमतीका चाहनासँग जोडिन्छ,’ उनले भने, ‘शंका र उपशंकासँगै परिवारभित्रको वातावरण बिग्रिन्छ । दुवै जनाबीच द्वन्द्व पैदा भएपछि घटनाले हत्याको रूप लिएको केही उदाहरण छन् ।’
प्रहरी मुख्यालयका अनुसार गत आर्थिक वर्षमा ५ सय १ वटा हत्याका घटना प्रहरीमा दर्ता भएका थिए । यो आर्थिक वर्षको वैशाख २० गतेसम्मको आँकडा हेर्दा ५ सय ४१ वटा घटना दर्ता भएका छन् । हत्यामा अधिकांश परिवारभित्रैका वा चिनेजानेकै व्यक्ति संलग्न देखिन्छन् ।
****
कहिले कति हत्या ?
आर्थिक वर्ष
२०७३/०७४– ६१६
२०७४/०७५– ६२८
२०७५/०७६– ६५९
२०७६/०७७– ५५५
२०७७/०७८– ५२१
२०७८/०७९– ५९०
२०७९/०८०– ५०१
२०८०/०८१ –५४१
स्रोत ः प्रहरी प्रधान कार्यालय