नेपाल क्रिकेट संघ (क्यान)का महासचिव पारस खड्काले सन्दीप लामिछानेमाथि बलात्कारको आरोप प्रकरणमा आफूलाई मुछेकोका आपत्ति जनाएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खड्काले आफ्नो चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले आरोप लगाइएको भन्दै बुधबार साँझ सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले ममाथि भइरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबूकमा लेखेका छन्, ‘नेपालको कानूनले कसैलाई पनि बिनाप्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुला राखेको छ ।’
खड्काले सन्दीपसँग जोडिएको पछिल्लो मुद्दामा जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने बताएका छन् ।
आफूमाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो–चाँडो कानूनी दायरामा ल्याउनेसमेत उनले चेतावनी दिएका छन् ।
‘नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्ष र विशेषतः सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको र उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने नै छ,’ उनले भनेका छन्, ‘यो सबैका बीचसमेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले ममाथि भइरहेको नियोजित षड्यन्त्रलाई ढिलो–चाँडो कानूनी दायरामा ल्याउनेसमेत जानकारी गराउन चाहन्छु ।’
सन्दीपलाई एक किशोरीमाथि बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै जिल्ला अदालतले ८ वर्ष कैदको सजाय तोकेको छ ।
यसका विरुद्धमा उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका छन् । तर पटक–पटक पेशी सरिसकेको छ । यसलाई लिएर कतिपय क्रिकेट समर्थकले क्यानका महासचिव खड्काको नाम जोडिरहेका छन् । कतिपयले त उनले नै सन्दीपलाई फसाएको आरोप पनि लगाएका छन् ।