०८ साउन २०८३, शुक्रबार
सडक स्तरोन्नति

बुटवल–नारायणगढ खण्ड विस्तारले गति लिँदै, दैनिक साढे २ किलोमिटर कालोपत्रे गर्न सकिने

बैशाख ३०, २०८१
काठमाडौं
बुटवल–नारायणगढ खण्ड विस्तारले गति लिँदै, दैनिक साढे २ किलोमिटर कालोपत्रे गर्न सकिने

निर्माणमा भएको ढिलाइका कारण चौतर्फी आलोचना खेपेको बुटवल–नारायणगढ सडक विस्तार कार्यले गति लिने भएको छ ।

दैनिक साढे २ किलोमिटर सडक कालोपत्रे गर्न सक्ने गरी निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले ‘हटमिक्स प्लान्ट’ जडान गरेको छ । 

कालोपत्रेलाई गति दिने तयारीसहित कच्चा पदार्थ (अस्फाल्ट) बनाउन नेपालकै ठूलो (प्रतिघण्टा ४०० मेट्रिक टन क्षमताको) ‘प्लान्ट’ पूर्वी नवलपरासीको कावासोतीमा जडान गरिएको छ । यसबाट अब सडक ‘पिच’ गर्ने कार्यले तीव्रता पाउने बुटवल–नारायणगढ सडक विस्तार आयोजना पूर्वी खण्डका इन्जिनीयर आशिष थापाले बताए ।

‘कन्ट्याक्टरले अब छिटो काम गर्न चाह्यो भने दैनिक साढे २ किलोमिटर कालोपत्रे गर्न सक्नेछ,’ थापाले भने, ‘सबै इक्युपमेन्ट मिलाएर फूल क्षमतामा काम गरेमा धेरै समस्या रहँदैन ।’ 

‘हटमिक्स प्लान्ट’ पूर्वी नवलपरासीको कावासोती नगरपालिका– १६ स्थित सुख्खा खोलाको किनारमा फिट गरिएको छ । 

null

एक वर्षका लागि थपिएको सडक निर्माणको म्याद आउँदो साउनमा सकिँदै छ । अहिलेसम्म जम्मा ५२ प्रतिशत भौतिक प्रगति छ । 

थापाले अगाडि भने, ‘अहिलेसम्म पूर्वी खण्डमा एकतर्फी ३८ किलोमिटर कालोपत्रे भएको छ । आउँदो म्यादसम्म झन्डै ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति होला । अझै एकपटक एक वर्षको म्याद थपिएपछि निर्माण सकिन्छ भन्ने हाम्रो अनुमान छ । हेरौं, ठेकेदारले कसरी काम गर्छ ।’

बुटवलदेखि नारायणगढसम्मको ११४ किलोमिटर सडक ६ र ४ लेनमा विस्तार भइरहेको छ । दाउन्ने पूर्व र पश्चिमगरी दुई खण्डमा २०७४ चैतदेखि निर्माण थालिएको हो । दाउन्ने पूर्वी खण्ड ६६ किलोमिटर छ । 

कम्पनीका कन्ट्र्याक्ट म्यानेजर राकेश झाले सडक कालोपत्रे गर्ने काम चाँडो गर्न र प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल भइरहेको बताए । फूल क्षमतामा सञ्चालन भए तयारी अवस्थाको सडकलाई दैनिक तीन किलोमिटरसम्म कालोपत्रे गर्न सक्ने यस प्लान्टको क्षमता छ । यहाँबाट उत्पादन भएको अस्फाल्टले एकैपटक ३/४ स्थानमा कालोपत्रे गर्न सकिने झाले बताए छ ।

‘सब बेस र बेस तयार भएको ठाउँमा पिचको काम भइरहेको छ’, झाले भने, ‘विभिन्न कारणले गर्दा हाम्रो ‘हटमिक्स प्लान्ट’ पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । दाउन्नेपश्चिम खण्डमा पनि यो प्लान्ट जडान गरे कामले गति लिने थियो ।’

‘लाइफ लाइन’को रूपमा रहेको पूर्व पश्चिम राजमार्गमा पर्ने यस खण्डको स्तरोन्तति कछुवा गतिमा हुँदा यात्रुलाई सास्ती पर्दै आएको छ । हजारौं सवारी गुड्ने सडक अस्तव्यस्त अवस्थामा छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा बन्ने सडकका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा लागत अनुमान छ । सडक निर्माणको कूल लागतमध्ये एसियाली विकास बैंक (एडीबी) ले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराएको छ भने बाँकी रकम नेपाल सरकारकै लगानी रहेको छ । सडक समयमा निर्माण नहुँदा लागत बढ्ने देखिएको छ ।

पूर्वपश्चिम राजमार्ग वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रको योजनाअनुसार शिलान्यास भई वि.सं. २०२८ सालमा निर्माण सम्पन्न भएको थियो । सडक स्तरोन्नतिपछि बुटवलबाट–नारायणगढ यात्रा डेढ घण्टामै गर्न सकिने छ । विस्तारित सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनको हुनेछ । 

null

बुटवल नारायणगढ सडक खण्ड दाउन्ने पश्चिम खण्डका प्रमुख शशांक मिश्रले सडक निर्माणको स्पीड बढेको बताए ।

‘हामीले प्रतिमहिना ३ देखि ४ प्रतिशतसम्म काम गर्नेगरी स्पीड बढाएका छौं,’ मिश्रले भने, ‘पूर्वी खण्डमा जत्रो ठूलो प्लान्ट छैन, तर दैनिक एक किलोमिटर अस्फाल्ट तयार गर्ने प्लान्ट हाम्रो पनि छ । हाम्रो अबको काम कालोपत्रेमा बढी केन्द्रित हुन्छ । चौतर्फी दबाबका बीच ठेकेदारले पनि कामलाई गति दिएको छ ।’

पश्चिम खण्ड ४८.५ किलोमिटरको छ । यो सडक अहिले एकतर्फीरूपमा ३० किलोमिटर कालोपत्रे भएको छ । आउँदो २०८२ को साउनसम्म सक्नेगरी अब काम अघि बढेको मिश्रको भनाइ छ । 

सडक विस्तारका लागि डीपीआर बनेको केही वर्षपछि मात्रै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो । पछिल्लो सम्झौतापछि पनि तुरुन्तै काम शुरू हुन सकेन । 

कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम शुरू झण्डै १ वर्ष लागेको थियो । डीपीआर बन्दा शुरूआति चरणमा वातावरणीय प्रभाव मूल्यांकनबाट ९ हजारवटा रूख काट्नुपर्ने देखिएको थियो । तर, सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रूखको संख्या अत्यधिक बढी देखियो ।

null

धेरै रूख काट्नुपर्ने भएपछि प्रक्रिया मिलाउँदा झण्डै एक वर्ष ढिलाइ भयो । राजमार्गको लालपुर्जा सडक विभागको नाममा रहे पनि वनका कारण ढिलाइ भएको थियो ।

त्यसपछि कोरोना भाइरसको महामारी र मजदूरहरूले गरेको आन्दोलनका कारण सडक निर्माणको काममा ढिलाइ भयो । एकपछि अर्को गर्दै विभिन्न कारण सडक निर्माणले सोचेजस्तो गति लिन सकेन ।

गत वर्षदेखि सडक विस्तारको काम केही प्रभावकारी रूपमा अघि बढेको हो । 

salt training

कमेन्ट गर्नुहोस्