१७ असार २०८३, बुधबार

तिमी आयौ, तिमी आएनौ

कात्तिक २०, २०७४
तिमी आयौ, तिमी आएनौ


चुपचाप आउनुपर्ने तिमी
निकै कोलाहल गर्दै आयौ
जसरी आन्दोलनको राप बोकेर
आन्दोलनकारी सुरक्षाको घेरा तोड्थे
युद्धमा छापामारहरू परेड खेल्दै आउँथे
मथिङ्गलमा उत्पात मच्चाएर आयौ
यता ढोका खुलै थियो
ताला कहिले लगाइएन
बत्ती बलेकै थियो
म पर्खिरहेकै थिएँ
पर्खिरहेकै छु अभौतिक बन्दै
तर,
तर तिमी आएनौ
************
तिमी एकोहोरो आयौ
आँखामा दोहोरी गायौ
मलाई निर्वस्त्र पार्‍यौ र रङ्गायौ
कलाकारले खाली क्यानभासमा
कुची चलाएर रङ्ग पोते जस्तै
म पनि चुपचाप रङ्गिएँ
यो तीतो यथार्थ कहिले खुब मीठो लाग्छ
किनकि,
किनकि
तिमी कहिले सुटुक्क
कहिले उत्पात मच्चाउँदै आयौ
तर मोबाइल हातमै हुन्छ
नेटवर्क राम्रै छ
अपरिचितहरु घुरघुर र टिङटिङ गर्छन् 
पर्खाइमा निदाउँदो रैछु
झस्ल्यास्स ब्युँझेर हेर्छु
अहँ तिमी आएनौ
***********
तिमी कस्तो मीठो थियौ
तिमी कस्तो राम्रो थियौ
बर्फी, लालमोहन, रसवरी
बेली, चमेली, सुनगाभा वा शिरीष
यस्तै रुपमा आयौ
अमृतपान रसपान, फुलहरुको चुम्बनमा
यायावरझैँ उकाली र ओरालीहरुमा
जताततै तिमी आयौ
बसन्ती बहार बनेर छायौ
तर शरदको उल्लासमा
हेमन्तको मङ्सिरमा
शिशिरको माघ, फागुनमा
बसन्तकै बैशाखमा
लगनहरुमा सुर्किने डोरि बनेनौ
नफुक्ने गाठो बन्यौ
नौमती बाजाको धुन बनेनौ
कर्कश आवाज बन्यौ
सहयात्री बनेनौ
केबल मौसमी यात्री बन्यौ
त्यसैले मुटु निचोरेर भन्दैछु
अहँ, जिन्दगीमा तिमी कहिल्यै आएनौ

-कमल शिशिर

salt training

कमेन्ट गर्नुहोस्