
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको पद्मकन्या माध्यामिक विद्यालयको छात्रावासको उद्घाटन गरिएको छ ।
मंगलादेवी सिंह मेमोरियल छात्रावास नाम दिइएको उक्त भवन सोमवार जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कूल परियोजना लागत नेरु.३ करोड २३ लाख ६० हजार रहेको उक्त छात्रावास भारतको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग छात्रावास भान्सा कोठा, डाइनिङ हल, भण्डार कक्ष, वार्डेन कक्ष, गार्ड कक्ष, अतिथि कक्ष, कार्यालय कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, ग्रीन रुम, लन्ड्री, शौचालय, स्नानघर, सोलार ब्याकअप सिस्टम लगायतको सुविधासहितको हो । चार तल्ले उक्त छात्रावासमा ३९ वटा कोठा छन् ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति काठमाडौंमार्फत गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास सहभागीहरूले लिएका छन् ।
सन् २००३ यता भारतले नेपालका विभिन्न क्षेत्रमा ५ सय ५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४ सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।
यीमध्ये काठमाडौं जिल्लाका ४१ वटा परियोजनासहित बागमती प्रदेशमा १ सय ६ परियोजना रहेका छन् ।
यसका साथै भारतले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १ हजार ९ एम्बुलेन्स र ३ सय स्कुलबस उपहारस्वरुप प्रदान गरिसकेको छ ।
त्यसमध्ये काठमाडौं जिल्लालाई प्रदान गरिएको ७० एम्बुलेन्स र ५३ स्कुलबससहित बागमती प्रदेशलाई २ सय ३६ एम्बुलेन्स र ९८ स्कुल बस उपहारस्वरुप प्रदान गरिएको हो ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।