
कुनै जमानामा लोक–पप शैलीका गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाएको कन्दरा ब्यान्ड वर्षांैको विश्रामपछि पुनः संगीतमा फर्किएको छ । पोखरेली ब्यान्ड कन्दराले आफूलाई पोखरामा मात्र चिनाएन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली दर्शक तथा श्रोतामाझ आफूलाई चिनायो ।
विसं २०४८ सालबाट सांगीतिक यात्रा शुरु गरेको ब्यान्डले पोखरा हुँदै देशका विभिन्न स्थान र विदेशमा समेत सांगीतिक प्रस्तुति दियो । छोटो समयमै कन्दरा ब्यान्डलाई दर्शकले रुचाए । ब्यान्डका गीतहरू हिट भए । तर दर्शकको मन जितिसकेको ब्यान्ड एकाएक हरायो ।
ब्यान्डका सदस्यहरूले संगीतमा आफ्नो भविष्य खोज्न चाहेनन् शायद । भोकलिस्ट विवेक श्रेष्ठ पनि बिहे गरेर बेलायत हानिए । त्यसपछि ब्यान्ड अधूरो बन्यो । यद्यपि अहिले भने ब्यान्ड आफ्नै पुरानो लयमा फर्किने कोशिशमा छ । त्यो पनि उस्तै शैलीका गीत र नयाँ सांगीतिक बाजागाजासहित ।
‘बीस वर्षमा संंगीतमा धेरै परिवर्तन आएको छ, हामीले आफ्नो उही शैलीमा नयाँ बाजागाजाको सम्मिश्रण सहितको सांगीतिक स्वाद दिनेछौं,’ ब्यान्डका म्यानेजर समेत रहेका आशिष पराजुलीले लोकान्तरलाई बताए ।
नेपालका विभिन्न भेग, पाखा, पखेरा, कुना, कन्दरा तथा गाउँवस्तीका भावनालाई गीत संगीतमार्फत प्रस्तुत गर्ने कन्दरा ब्यान्डका गीतहरू श्रोता÷दर्शकले उत्तिकै रुचाएका छन् । संगीतको यो लामो यात्रामा अहिले दर्शकले लोकपप शैलीलाई मन नपराउने हुन् कि भन्ने भय पनि थियो ब्यान्डका सदस्यलाई ।
तर हालै उनीहरूले अस्टे«लियामा कार्यक्रम गरे । त्यतिबेला ब्यान्डलाई हजारौं दर्शकले साथ दिए । त्यो स्नेहले ब्यान्डमा थप जोश जाग्यो । ब्यान्ड अहिले उही शैलीमा आफ्नो संगीतको तरंग दर्शकमाझ फैलाउने प्रयासमा जुटेको छ ।
‘हङकङ पोखरा...’, ‘तिमी पारि त्यो गाउँमा,’ ‘तगारोमा रुमाल राखी,’ ‘चञ्चले कान्छीको जोवन’ लगायतका चर्चित गीत गाएर आफूलाई स्थापित बनाएको ब्यान्ड लगभग १२ वर्षपछि सक्रिय रूपमा संगीतमा फर्केको हो ।
ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ विदेशमा रहँदा पनि थुप्रै अनौपचारिक कार्यक्रम गरिरहेका थिए । श्रेष्ठले अन्य ब्यान्डसँग मिलेर बेलायतमै केही सांगीतिक कार्यक्रम पनि गरे ।

कन्दरा ब्यान्डसँग सहकार्य नभए पनि भोकलिस्ट श्रेष्ठले स्थानीय स्तरका लोकल ब्यान्डसँग मिलेर कार्यक्रम गरिरहेका थिए । अहिले भने ब्यान्ड आफ्नै लयमा आएको छ ।
भोकलिस्ट श्रेष्ठ, सदस्य बुद्धराज बज्राचार्य, कम्पोजर सुनिल थापाबाहेक अन्य सदस्य नयाँ छन् । पुराना समूहका सदस्यहरू कोही विदेशमा छन् । नेपालमा भएका सदस्य पनि आफ्नो पेशा तथा व्यवसायमा छन् ।
अमित गुरुङ, असीम शेरचन, अविनाश गायक र अनिल गुरुङसहित नयाँ र पुराना तीन सदस्य गरी अहिले ब्यान्डमा सात सदस्य छन् । सुनिल थापाले गीत कम्पोज गर्छन् ।
विभिन्न नयाँ योजनासहित स्थापित भइसकेको ब्यान्डलाई निरन्तरता दिन अहिले ब्यान्ड तत्पर देखिएको छ । श्रेष्ठले गत वर्ष नै ‘के पहाड, के तराई, के हिमाल’ गीत सार्वजनिक गरेका थिए । अहिले आफ्नै ब्यान्डसँग मिलेर ‘भेडी गोठैमा’ सार्वजनिक गरेका छन् ।
अहिले ब्यान्ड विभिन्न कार्यक्रम तथा प्रस्तुतिको तयारीमा छ । लामो समयपछि संगीतमा फर्किएको कन्दराले हङकङ, कोरिया, अस्ट्रेलिया र युकेमा आफ्नो प्रस्तुति दिइसकेको छ । विदेशका कार्यक्रम सफल भएकोमा ब्यान्ड मेम्बर उत्साहित छन् ।
ब्यान्डले नेपाल टुर योजनासहित काठमाडौंमा ‘कन्दरा लाइभ इन काठमाडौं’ कार्यक्रम समेत गर्ने भएको छ । ‘कार्यक्रम निःशुल्क हुनेछ, हामी स्पोन्सर जुटाएर निःशुल्क कन्सर्ट गर्नेछौं,’ आशिषले लोकान्तरसँग योजना बताए ।
अहिले कन्दरालाई विदेशबाट पनि कन्सर्ट गर्नका लागि प्रस्ताव आइरहेको छ ।
ब्यान्डले पोखरामा हुने लिटरेचर फेस्टिभलको कर्टेन रेजरमा समेत प्रस्तुति दिनेछ । केही महिनापछि जापानमा कन्सर्ट गर्न लागेको ब्यान्डले संगीतबाट कमाएको केही रकमलाई कन्दरा फाउन्डेसनमार्फत सामाजिक सेवा गर्ने योजना समेत बनाएको छ ।