
स्थानीय तहमा करारमा कार्यरत एकजना खरिदार निजी भ्रमणका लागि अमेरिका जान लाग्दा पालिकाले काज भनेर २ महिनाभन्दा बढी समयका लागि भ्रमण स्वीकृति दिएको पाइएको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा करारमा कार्यरत खरिदार तुलसीराम लामिछानेलाई पालिकाले काज भ्रमणमा अमेरिका पठाएको खुलेको हो ।
पालिकाले ६९ दिनका लागि काज भ्रमण स्वीकृत गरेको कागजातमा देखिन्छ ।
२०८० साउन १ गतेदेखि बढीमा २०८० असोज १० गतेसम्म अमेरिका भ्रमणमा जानका लागि कार्यपालिका बैठकबाट स्वीकृति दिएको पाइएको हो । करारका कर्मचारी ६९ दिनसम्म अनुपस्थित रहँदा जागिर नै जाने हुँदा काज स्वीकृत गरेर उनको जागिर थमौती गर्न खोजेको देखिन्छ ।
अझ उनको नियुक्ति खरिदारसरह भए पनि समन्वय अधिकृत तोकेर काज स्वीकृति गरेको देखिन्छ ।
'लुम्बिनी सांस्कृतिक नगरपालिकामा कार्यरत परामर्श सेवाका समन्वय अधिकृत तुलसीराम लामिछाने मिति २०८० साउन १ गतेदेखि २०८० असोज ९ सम्म निजी कामका लागि यूएसए जान लाग्नुभएको सन्दर्भमा उहाँको कार्य जिम्मेवारी लुम्बिनीको पर्यटन प्रबर्द्धन, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, अन्तर्राष्ट्रिय संघ-संस्था र सीटीसँग समन्वय, सहकार्य र सम्बन्ध विस्तार भएको हुँदा सो मितिमा यूएसएमा लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, अन्तर्राष्ट्रिय संघ-संस्था र सीटीसँग समन्वय, सहकार्य र सम्बन्ध विस्तार लगायतका कार्यहरू गर्ने गरी मिति २०८० साउन १ देखि २०८० असोज ९ सम्म स्थानीय सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी युएसए भ्रमण स्वीकृत गर्ने निर्णय गरियो,' २०८० असार ३१ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयमा उल्लेख छ ।
हेर्नुहोस्, कार्यपालिका बैठकको निर्णय :

त्यसअघि लामिछानेले इन्द्रेणी सांस्कृतिक संघ टेक्सास अमेरिकाद्वारा आयोजना हुने कार्यक्रममा सहभागिताका लागि अमेरिका जान र त्यहाँ रहन स्वीकृति माग्दै २०८० असार २९ गते निवेदन दिएका थिए । सोही आधारमा उनको भ्रमण कार्यपालिका बैठकबाट स्वीकृत गरिएको थियो ।
हेर्नुहोस्,लामिछानेको निवेदन :

एक त खरिदारस्तरको करार कर्मचारी त्यसमा पनि नगरपालिकाको एउटा शाखाको प्रमुख बनाएर विदेश भ्रमणका लागि काज भन्दै स्वीकृति दिनु गैरकानूनी काम हो ।
२०७५ सालदेखि आफू परामर्श सेवाअन्तर्गत करारमा कार्यरत कर्मचारी रहेको लामिछानेले बताए ।
'समन्वय शाखामा कर्मचारी अभाव भएकाले शाखा प्रमुखको जिम्मेवारी दिइएको हो,' लामिछानेले लोकान्तरसँग भने, 'अमेरिकामा मेरो भाइ बस्छ । उसले पीआर पनि पाएको छ । आमालाई अमेरिका लग्नु थियो, सोही क्रममा लुम्बिनीको प्रचारप्रसार गर्नेगरि काजमा भ्रमण स्वीकृति भएको हो ।'
लामिछानेका भाइ डा. रोशन शर्मा अमेरिकाको पीआर होल्डर हुन् । शर्मा अमेरिका बस्ने गरेका कारण आमालाई लिएर जानुपर्ने हुनाले सोही सिलसिलामा लुम्बिनीको प्रचारप्रसार गर्न गएको उनको जिकिर छ ।
'राजीनामा नै गरेर जान लागेको थिएँ, तर मेयर सा'बले किन राजीनामा गर्नुपर्यो, तपाईंको भ्रमण स्वीकृत गरेर काज मिलाउँछु भनेर मिलाइदिनुभएको हो,' लामिछानेले भने, 'अफिसियल भिजिटमा गएको होइन । निजी भिजिटमा जान लाग्दा लुम्बिनीको प्रचारप्रसारमै संस्थागत काम गरेको हो । त्यसका लागि ५०/६० हजार जति मेरो खर्च भएको थियो । त्यो मेरो भाइले नै मिलाइदिएको हो ।'
पालिकाको काम गरे पनि पालिकाको एक पैसा पनि खर्च नभएको उनले बताए ।
खरिदारसरह मासिक ३२ हजार रुपैयाँ तलबबाहेक अन्य कुनै पनि सुविधा नलिएको उनको कथन छ ।
'सबैले अमेरिका गएको मान्छे किन फर्केर आइस् भनेर भन्छन् । उमेर ५३ वर्ष भइसक्यो । सधैं यहीँ लुम्बिनीमै काम गरियो भनेर फर्किएको हो,' उनले थपे, 'तर, गैरकानूनी भ्रमण भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म कसैले उजुरी गरिदिएका छन् ।'
अमेरिका मात्र नभएर आफूले विगतमा यूके, जापान, थाइल्यान्डसहितका देश भ्रमण गरेको उनले बताए । विगतमा युनेस्कोको प्रोजेक्टमा लामो समय काम गरेकाले विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको प्रचारप्रसार गर्नका लागि नगरपालिकाले सचिवालय बनाएर करारमा परामर्शका लागि नियुक्ति दिएको उनको भनाइ छ ।
गैरआवासीय नेपाली संघ अमेरिकाको १२ औं साधारण सभा बैठकमा सहभागी भएको तथा निर्वाचित पदाधिकारीलाई बधाई दिएको, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीसँग दूतावास वासिंगटन डीसीमा भेटेको, टेक्सासस्थित पशुपतिनाथ र बुद्ध मन्दिर भ्रमण गरेको, टेक्सासको युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलसँग भेटेको, भ्रमणमा जाँदा बुद्ध जन्मस्थल लुम्बीनीको प्रचारप्रसार गरेको भन्दै उनले भ्रमण प्रतिवेदन नगरपालिकामा बुझाएका छन् ।


उनले ६९ दिनको भ्रमण स्वीकृत गराएर भ्रमण गरे पनि उनलाई आमन्त्रण भने ७ दिनका लागि मात्र गरिएको थियो ।
हेर्नुहोस्, भ्रमणका लागि आएको आमन्त्रण :

अमेरिकाको टेक्सासस्थित इन्द्रेणी सांस्कृतिक संघले सहकार्य एवं समन्वय गर्न भनेर भदौ १-७ गतेसम्म सहभागिताका लागि उनलाई आमन्त्रण गरेको थियो । त्यसकैका आधारमा ६९ दिनको काज स्वीकृत गरेको देखिन्छ ।