
रूपन्देहीकी अञ्जु थापा घरेलु स्यानेटरी प्याड उत्पादन गर्छिन् । महिलाले महिनावारीको समयमा प्रयोग गर्ने वातावरणमैत्री प्याड बनाएर बिक्री गर्छु भन्दा शुरूवाती दिनमा उनलाई धेरैको पत्याएनन् । तर अहिले अवस्था फेरिएको छ ।
उमेरले भर्खरै ३५ वर्ष टेकेकी तिलोत्तमा नगरपालिका वडा नम्बर–१ की अञ्जु आफैँ बजारमा पाइने महंगो ‘केमिकलयुक्त’ प्याड प्रयोग गर्थिन् । यसले समस्या निम्त्याएपछि उनमा विकल्पको रुपमा नयाँ केही गर्ने सोच आयो । यही मेसोमा उनले ६ वर्षअघि विसं २०७६ मा अञ्जु स्यानेटरी प्याड उद्योग स्थापना गरिन् । त्यसयता उनले रियुजेबल (पुनः प्रयोग गर्न मिल्ने) स्यानेटरी प्याड उत्पादन गर्दै आएकी छिन् । यतिमात्र होइन महिनावारीसम्बन्धी संकुचित सोचमा समेत परिवर्तन गराउन सहयोग पुर्याउँदै आएकी छिन् ।
स्यानेटरी प्याडको विशेषता, आवश्यकता, उत्पादन र बजारीकरणमा उत्कृष्ट ठहरिएर उनी हालै तिलोत्तमाकै उत्कृष्ट उद्यमीमा छनोट भएकी थिइन् । यसबापत एक लाख पुरस्कारसमेत जितेकी छिन् । ‘मैले जुन उद्यम थालें यसैमा म खुसी छु,’ उनी थप्छिन् । बैंकको जागिर छाडेर प्याड उद्यममा लागेकी अञ्जुले विदेशमा रहेका आफ्ना श्रीमान् प्रकाश जीसीलाई पनि स्वदेश फर्काएर यही उद्यममा लगाएकी छिन् ।
आफूले उत्पादन गरेका प्याड बजारमा पाइने विभिन्न कम्पनीका ‘रेडिमेड प्याड’भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि सस्तो हुने तथा पुनः प्रयोग गर्न सकिने अञ्जु दाबी गर्छिन् । घरेलु प्याड बनाएर उनी आफैँ बजारमा पठाउँछिन् । मुलायम सुतीको कपडा र एउटा बटन प्रयोग गरेर बनाइने प्याड अञ्जुले प्रतिगोटा फुटकर १५० देखि ५०० सम्मका उत्पादन गर्छिन् । अहिले उनको उद्योगबाट मासिक ९० हजार प्याड बजारमा खपत भइरहेको छ । आफ्नै वेभ साइट अञ्जुप्याड डटकम र विभिन्न सामाजिक सञ्जालबाट प्रचार गर्दै उनी अनलाइनमार्फत् बढी बिक्री गर्ने गर्छिन् । साथै ‘डोनेसन’का लागि विभिन्न संघ/संस्थाले पनि प्याड उत्तिकै किन्ने गरेका छन् । साथै घरेलु प्याडको चेतना बढ्दै गएपछि अहिले रुपन्देहीसहित आसपासका जिल्लामा खपत यसको बढ्दो रहेको अञ्जुले बताइन् ।

उनले यो क्षेत्रमा प्रवेश गर्नुअघिका दिनलाई फरक ढंगले सम्झिन्छिन् । उनका अनुसार गाउँमा प्याडको पहुँच र उपलब्धता नहुँदा महिनावारी भएको बेला आमा–दिदीले कपडा लगाउन सिकाए । त्यो प्रयोग गरेर विद्यालय वा कतै बाहिर जाँदा धेरै समस्या आयो । कतिपय अवस्थामा पढाइ नै छुट्न गयो । उच्च शिक्षा पढ्न थालेपछि गाउँमा पनि प्याड पुगिसकेको थियो । ‘शुरूमा ती प्याड प्रयोग गर्दा खुसी लागे पनि पछि समस्या देखियो । त्यो प्याडले समस्या निम्त्यिाएपछि कपडा राखेर प्रयोग गर्न थालेँ । श्रीमानको सल्लाहमा कटन प्याड प्रयोग गरेँ,’ ती दिन सम्झँदै उनले भनिन्, ‘यो मेरो मात्रै समस्या थिएन । यसैले प्याड निर्माणको क्षेत्रमा व्यावसायिक रूपले नै केही गरौँ भन्ने लागेर आफू अघि बढेकी हुँ । धुन मिल्ने प्याड धेरै सस्तो पर्ने भएकाले यसको उत्पादनको शुरूवात गरेकी हुँ ।’
प्याडका लागि सामान्य कटनको कपडा नभइ विशेष खालको हाइजेनिक ‘माइक्रो फिलिस्ट’ कपडा प्रयोग गर्ने गरेको उनले बताइन् । जसले मासिकश्राव सोस्ने र बाहिर चुहिनबाट रोक्छ । प्याडको भित्रपट्टी राखिने माइक्रो फाइबरले रगत सोस्ने मात्र नभएर छिटो सुकाउने काम पनि गर्ने अञ्जु बताउँछिन् । ‘प्याडको माथिल्लो भागमा राखिने लेमिनेट कटन कपडाले रगत सोस्छ । यसबाट हावा वारपार हुने पनि गर्दछ । जसले गर्दा संक्रमण हुने, चिलाउने समस्या हुन दिँदैन,’ उनी भन्छिन् ।
यो प्याड करिब तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिने अञ्जुको भनाइ छ । यसका लागि उनी स्कूले छात्रादेखि सबै महिलालाई स्वच्छ महिनावारी र ‘रियुजेबल’ स्यानेटरी प्याडबारे प्रयोग गर्न सचेतना गराउँदै हिँडेकी छिन् । ‘स्कूले छात्रादेखि सबै महिलालाई स्वच्छ महिनावारी र ‘रियुजेबल’ स्यानेटरी प्याडबारे प्रयोग गर्न सचेतना पनि दिँदै हिँडेकी छु,’ उनी भन्छिन्, ‘प्रयोग गरेको प्याडलाई सफा पानीले धोएर घाममा सुकाउनु पर्छ । सुकेपछि आइरन लगाएर पुनः प्रयोग गरेमा ब्याक्टेरिया संक्रमणको सम्भावना कम हुन्छ । बजारमा पाइने प्याड युज एन्ड थ्रो हो, हामीले बनाएर बजारमा ल्याएको रियुजेबल हो । यो धेरैले मन पराउनुभएको छ ।’

घरेलु स्यानेटरी प्याड बजारमा पाइने ‘रेडिमेड’ प्याडको तुलनामा सस्तो र वातावरणमैत्री मानिन्छ । एकपटक महिनावारी हुँदा एकजना महिलालाई ३०० रुपैयाँको प्याड आवश्यक पर्छ । जबकि सामान्यतया २५० मा पाइने घरेलु प्याड तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिन्छ । अर्कातिर, प्लास्टिक र डाइअक्सिनलगायत रसायन हुने भएकाले रेडिमेड स्यानेटरी प्याडले स्वास्थ्य जोखिम निम्त्याउने विभिन्न अनुसन्धानले देखाएको छ । साथै, त्यस्तो प्याड लामो समयसम्म नकुहिने भएकाले वातावरणीय असर पुर्याउँदै आएको पनि विज्ञहरूको तर्क छ । यस्तोमा घरेलु स्यानेटरी प्याडको प्रयोगबारे बढीभन्दा बढी बुझाउन र यसलाई सबैतिर पुर्याउन आवश्यक रहेको अञ्जुको जोड छ ।
अहिले घरेलु प्याडको प्रयोगले बजारमा पाइने ‘रेडिमेड प्याड’ प्रयोग गर्ने महिलाको संख्यामा कमी आएको प्रयोगकर्ताहरू बताउँछन् । नेपालबाट वार्षिक रुपमा अबौँ रुपैयाँ बराबरको स्यानेटरी प्याड आयात हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रका महिलाहरूले बजारमा पाइने प्याड खरिद गरी प्रयोग गर्ने गर्छन् । अब भने बजारका पाइने प्याडभन्दा कपडाको प्याड नै प्रयोग गर्न आम महिलालाई अञ्जुको सुझाव छ ।
पछिल्लो समय अञ्जुले आफ्ना योजना फराकिलो बताउँदै लगेकी छिन् । छिट्टै उनी प्याडसहितको पेन्टी बजारमा ल्याउने तयारीमा जुटेकी छिन् । महिनावारी हुँदा प्याड र पेन्टी लगाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न प्याडसहितको पेन्टी तयार गर्ने योजना रहेको उनले सुनाइन् । वातावरण खराब गर्ने र महिनावारी सकसबाट मुक्ति दिन आफूले यो योजना ल्याएको उनको भनाइ छ ।
‘प्याडसहित पेन्टी तयार गर्दा महिलालाई सस्तो र सुलभ पर्न जान्छ । यो महिनावारी पेन्टी छिट्टै हामी बनाउँदैछौँ,’ उनी भन्छिन्, ‘स्यानेटरी प्याडको नामबाट घरेलु उद्योगमा दर्ता गरी उत्पादन गरिएका प्याडहरू फार्मेसीले पनि लिने गर्छन् ।’
उनको उद्योगको अहिले २५ लाख रुपैयाँ लगानी पुगेको छ ।
यकिन तथ्याङ्क नभए पनि देशका शहरी क्षेत्रमा वार्षिक एक करोड थान प्याड खपत हुने गर्छ । अञ्जुले आफूजस्तै उद्यम गर्न चाहनेका लागि तालिम पनि दिन्छिन् । ‘शुरूवाती दिनमा उनलाई अविश्वास गर्नेहरूले आज राम्रो गर्यौं भन्न थालेका छन् । ‘आफ्नो लगाव, संघर्ष र उद्देश्यमा इमान्दार भएपछि त्यो लय बदलिएर समाजको सोच र चेतनामा समेत परिवर्तन गर्न सकिने रहेछ,’ उनी भन्छिन्, ‘हिजो हाँसोको पात्र बनाउनेहरू आज मलाई प्रेरणादायी पात्रका रुपमा हेर्न थालेका छन् ।’