२० असार २०८३, शनिबार
उद्यमी महिला

वातावरणमैत्री ‘रियुजेबल स्यानेटरी प्याड’ उत्पादन गरिरहेकी अञ्जु

असार १, २०८१
बुटवल
वातावरणमैत्री ‘रियुजेबल स्यानेटरी प्याड’ उत्पादन गरिरहेकी अञ्जु

रूपन्देहीकी अञ्जु थापा घरेलु स्यानेटरी प्याड उत्पादन गर्छिन् । महिलाले महिनावारीको समयमा प्रयोग गर्ने वातावरणमैत्री प्याड बनाएर बिक्री गर्छु भन्दा शुरूवाती दिनमा उनलाई धेरैको पत्याएनन् । तर अहिले अवस्था फेरिएको छ ।

उमेरले भर्खरै ३५ वर्ष टेकेकी तिलोत्तमा नगरपालिका वडा नम्बर–१ की अञ्जु आफैँ बजारमा पाइने महंगो ‘केमिकलयुक्त’ प्याड प्रयोग गर्थिन् । यसले समस्या निम्त्याएपछि उनमा विकल्पको रुपमा नयाँ केही गर्ने सोच आयो । यही मेसोमा उनले ६ वर्षअघि विसं २०७६ मा अञ्जु स्यानेटरी प्याड उद्योग स्थापना गरिन् ।  त्यसयता उनले रियुजेबल (पुनः प्रयोग गर्न मिल्ने) स्यानेटरी प्याड उत्पादन गर्दै आएकी छिन् । यतिमात्र होइन महिनावारीसम्बन्धी संकुचित सोचमा समेत परिवर्तन गराउन सहयोग पुर्याउँदै आएकी छिन् ।

स्यानेटरी प्याडको विशेषता, आवश्यकता, उत्पादन र बजारीकरणमा उत्कृष्ट ठहरिएर उनी हालै तिलोत्तमाकै उत्कृष्ट उद्यमीमा छनोट भएकी थिइन् । यसबापत एक लाख पुरस्कारसमेत जितेकी छिन् । ‘मैले जुन उद्यम थालें यसैमा म खुसी छु,’ उनी थप्छिन् । बैंकको जागिर छाडेर प्याड उद्यममा लागेकी अञ्जुले विदेशमा रहेका आफ्ना श्रीमान् प्रकाश जीसीलाई पनि स्वदेश फर्काएर यही उद्यममा लगाएकी छिन् ।

आफूले उत्पादन गरेका प्याड बजारमा पाइने विभिन्न कम्पनीका ‘रेडिमेड प्याड’भन्दा स्वस्थकर र खर्चका हिसाबले पनि सस्तो हुने तथा पुनः प्रयोग गर्न सकिने अञ्जु दाबी गर्छिन् । घरेलु प्याड बनाएर उनी आफैँ बजारमा पठाउँछिन् । मुलायम सुतीको कपडा र एउटा बटन प्रयोग गरेर बनाइने प्याड अञ्जुले प्रतिगोटा फुटकर १५० देखि ५०० सम्मका उत्पादन गर्छिन् । अहिले उनको उद्योगबाट मासिक ९० हजार प्याड बजारमा खपत भइरहेको छ । आफ्नै वेभ साइट अञ्जुप्याड डटकम र विभिन्न सामाजिक सञ्जालबाट प्रचार गर्दै उनी अनलाइनमार्फत् बढी बिक्री गर्ने गर्छिन् । साथै ‘डोनेसन’का लागि विभिन्न संघ/संस्थाले पनि प्याड उत्तिकै किन्ने गरेका छन् । साथै घरेलु प्याडको चेतना बढ्दै गएपछि अहिले रुपन्देहीसहित आसपासका जिल्लामा खपत यसको बढ्दो रहेको अञ्जुले बताइन् । 

null

उनले यो क्षेत्रमा प्रवेश गर्नुअघिका दिनलाई फरक ढंगले सम्झिन्छिन् । उनका अनुसार गाउँमा प्याडको पहुँच र उपलब्धता नहुँदा महिनावारी भएको बेला आमा–दिदीले कपडा लगाउन सिकाए । त्यो प्रयोग गरेर विद्यालय वा कतै बाहिर जाँदा धेरै समस्या आयो । कतिपय अवस्थामा पढाइ नै छुट्न गयो । उच्च शिक्षा पढ्न थालेपछि गाउँमा पनि प्याड पुगिसकेको थियो । ‘शुरूमा ती प्याड प्रयोग गर्दा खुसी लागे पनि पछि समस्या देखियो । त्यो प्याडले समस्या निम्त्यिाएपछि कपडा राखेर प्रयोग गर्न थालेँ । श्रीमानको सल्लाहमा कटन प्याड प्रयोग गरेँ,’ ती दिन सम्झँदै उनले भनिन्, ‘यो मेरो मात्रै समस्या थिएन । यसैले प्याड निर्माणको क्षेत्रमा व्यावसायिक रूपले नै केही गरौँ भन्ने लागेर आफू अघि बढेकी हुँ । धुन मिल्ने प्याड धेरै सस्तो पर्ने भएकाले यसको उत्पादनको शुरूवात गरेकी हुँ ।’

प्याडका लागि सामान्य कटनको कपडा नभइ विशेष खालको हाइजेनिक ‘माइक्रो फिलिस्ट’ कपडा प्रयोग गर्ने गरेको उनले बताइन् । जसले मासिकश्राव सोस्ने र बाहिर चुहिनबाट रोक्छ । प्याडको भित्रपट्टी राखिने माइक्रो फाइबरले रगत सोस्ने मात्र नभएर छिटो सुकाउने काम पनि गर्ने अञ्जु बताउँछिन् । ‘प्याडको माथिल्लो भागमा राखिने लेमिनेट कटन कपडाले रगत सोस्छ । यसबाट हावा वारपार हुने पनि गर्दछ । जसले गर्दा संक्रमण हुने, चिलाउने समस्या हुन दिँदैन,’ उनी भन्छिन् । 

यो प्याड करिब तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिने अञ्जुको भनाइ छ । यसका लागि उनी स्कूले छात्रादेखि सबै महिलालाई स्वच्छ महिनावारी र ‘रियुजेबल’ स्यानेटरी प्याडबारे प्रयोग गर्न सचेतना गराउँदै हिँडेकी छिन् । ‘स्कूले छात्रादेखि सबै महिलालाई स्वच्छ महिनावारी र ‘रियुजेबल’ स्यानेटरी प्याडबारे प्रयोग गर्न सचेतना पनि दिँदै हिँडेकी छु,’ उनी भन्छिन्, ‘प्रयोग गरेको प्याडलाई सफा पानीले धोएर घाममा सुकाउनु पर्छ । सुकेपछि आइरन लगाएर पुनः प्रयोग गरेमा ब्याक्टेरिया संक्रमणको सम्भावना कम हुन्छ । बजारमा पाइने प्याड युज एन्ड थ्रो हो, हामीले बनाएर बजारमा ल्याएको रियुजेबल हो । यो धेरैले मन पराउनुभएको छ ।’

null

घरेलु स्यानेटरी प्याड बजारमा पाइने ‘रेडिमेड’ प्याडको तुलनामा सस्तो र वातावरणमैत्री मानिन्छ । एकपटक महिनावारी हुँदा एकजना महिलालाई ३०० रुपैयाँको प्याड आवश्यक पर्छ । जबकि सामान्यतया २५० मा पाइने घरेलु प्याड तीन वर्षसम्म पुनः प्रयोग गर्न सकिन्छ । अर्कातिर, प्लास्टिक र डाइअक्सिनलगायत रसायन हुने भएकाले रेडिमेड स्यानेटरी प्याडले स्वास्थ्य जोखिम निम्त्याउने विभिन्न अनुसन्धानले देखाएको छ । साथै, त्यस्तो प्याड लामो समयसम्म नकुहिने भएकाले वातावरणीय असर पुर्याउँदै आएको पनि विज्ञहरूको तर्क छ । यस्तोमा घरेलु स्यानेटरी प्याडको प्रयोगबारे बढीभन्दा बढी बुझाउन र यसलाई सबैतिर पुर्याउन आवश्यक रहेको अञ्जुको जोड छ ।

अहिले घरेलु प्याडको प्रयोगले बजारमा पाइने ‘रेडिमेड प्याड’ प्रयोग गर्ने महिलाको संख्यामा कमी आएको प्रयोगकर्ताहरू बताउँछन् । नेपालबाट वार्षिक रुपमा अबौँ रुपैयाँ बराबरको स्यानेटरी प्याड आयात हुने गरेको छ । विशेषगरी शहरी क्षेत्रका महिलाहरूले बजारमा पाइने प्याड खरिद गरी प्रयोग गर्ने गर्छन् । अब भने बजारका पाइने प्याडभन्दा कपडाको प्याड नै प्रयोग गर्न आम महिलालाई अञ्जुको सुझाव छ । 

पछिल्लो समय अञ्जुले आफ्ना योजना फराकिलो बताउँदै लगेकी छिन् । छिट्टै उनी प्याडसहितको पेन्टी बजारमा ल्याउने तयारीमा जुटेकी छिन् । महिनावारी हुँदा प्याड र पेन्टी लगाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न प्याडसहितको पेन्टी तयार गर्ने योजना रहेको उनले सुनाइन् । वातावरण खराब गर्ने र महिनावारी सकसबाट मुक्ति दिन आफूले यो योजना ल्याएको उनको भनाइ छ ।

‘प्याडसहित पेन्टी तयार गर्दा महिलालाई सस्तो र सुलभ पर्न जान्छ । यो महिनावारी पेन्टी छिट्टै हामी बनाउँदैछौँ,’ उनी भन्छिन्, ‘स्यानेटरी प्याडको नामबाट घरेलु उद्योगमा दर्ता गरी उत्पादन गरिएका प्याडहरू फार्मेसीले पनि लिने गर्छन् ।’ 
उनको उद्योगको अहिले २५ लाख रुपैयाँ लगानी पुगेको छ ।

यकिन तथ्याङ्क नभए पनि देशका शहरी क्षेत्रमा वार्षिक एक करोड थान प्याड खपत हुने गर्छ । अञ्जुले आफूजस्तै उद्यम गर्न चाहनेका लागि तालिम पनि दिन्छिन् । ‘शुरूवाती दिनमा उनलाई अविश्वास गर्नेहरूले आज राम्रो गर्‍यौं भन्न थालेका छन् । ‘आफ्नो लगाव, संघर्ष र उद्देश्यमा इमान्दार भएपछि त्यो लय बदलिएर समाजको सोच र चेतनामा समेत परिवर्तन गर्न सकिने रहेछ,’ उनी भन्छिन्, ‘हिजो हाँसोको पात्र बनाउनेहरू आज मलाई प्रेरणादायी पात्रका रुपमा हेर्न थालेका छन् ।’ 

salt training

कमेन्ट गर्नुहोस्