
नेपाली सङ्गीतमा परिचित पप गायक ओमविक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिएको ‘मलाई छोडी दूर नजाउ’ गीतको श्रव्य दृश्य सामग्री आज सार्वजनिक गरिएको छ ।
पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्य दृश्यको विजयराज भुर्तेलले निर्देशन गरेका छन् ।
सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्य दृश्यसमेत सार्वजनिक गरिएको थियो ।
भूषण खरेलको शब्द, जेम्स प्रधानको सङ्गीत रहेको गीतको श्रव्य दृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ ।
६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न छन् । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् ।
उनी सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट अवकाश हुन् ।
गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गरेका थिए ।