
बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती प्रहरी हिरासतमा छन् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेतीले झण्डै ५४ हजार बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।
बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले गत बुधबार उप्रेतीलाई नियन्त्रणमा लिएको थियो । उनी अहिले प्रहरी वृत्त महाराजगन्जको हिरासतमा छन् ।
विगत दुई दशकदेखि सहकारीका बेथितिलाई बाहिर आउनबाट रोकेका उप्रतीले चलाखीपूर्ण तबरबाट अन्य पाँच वटा सहकारीलाई मर्जरमार्फत आफ्नो ठगी धन्दालाई मूर्तरूप दिएको पाइएको छ ।
उप्रेती हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष थिए ।
सहकारी बैंकको समेत अध्यक्ष रहेका उनले सगरमाथासँगै अन्य सहकारीहरू क्रमशः आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारीलाई मर्ज गराएर हाम्रो अइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनाएका हुन् ।
२०७९ फागुन २७ गते यी सहकारीहरू मर्ज गर्ने निर्णय गरिएको थियो ।
सुकेधारामा केन्द्रीय कार्यालय रहेको सहकारीमा ५४ हजार जनाले बचत गरेका छन् ।
५५ वटा सेवा केन्द्र रहेको सहकारीमा कुल बचत ८ अर्ब १८ करोड रुपैयाँ रहेको पाइएको छ । तर कर्जा भने ९ अर्ब देखाइएको छ । यो सहकारीको कुल सम्पत्ति भने एक अर्ब मात्रै देखिन्छ ।
महाराजगन्ज प्रहरी वृत्तले उप्रेतीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रहरीले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष मनोजकुमार थापामगर, सचिव कुयाङछुयाङ दोर्जे लामा, कोषाध्यक्ष प्रजुलकुमार गुरुङका साथै सदस्यहरू प्रकाशमान शाही खड्गी, श्रवणकुमार राई, गोपीनाथ घिमिरे, महितकुमार तामाङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
यस्तै लेखा सुपरीवेक्षक समितिको संयोजक कुमारसिंह घिसिङ, लेखा समिति सदस्य बद्री महत, लेखा समिति सदस्य रामप्रसाद श्रेष्ठसहित १२ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरू अहिले फरार छन् ।
प्रहरीमा हालसम्म २३२ जनाले नौ करोड २६ लाख नौ हजार ६ सय ६४ रुपैयाँ बराबरको बिगो दाबीसहित उजुरी दिएका छन् । उजुरी आउनेक्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
बचतकर्तालाई आकर्षक ब्याज दिने भनि प्रलोभनमा पारी सहकारी संस्थामा खाता सञ्चालन गर्न लगाएर उनीहरूले रकम अपचलन गरेको भनाइ पीडितहरूको छ ।
यो सहकारी संस्थाले ठूलो रकम घरजग्गालगायत क्षेत्रमा लगानी गरेको र अहिले त्यो क्षेत्रमा समस्या भएपछि कर्जा असुली हुन नसकेको बयान उप्रतीले प्रहरीमा दिएका छन् ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उप्रेती झन्डै २१ वर्षदेखि लगातार राष्ट्रिय सहकारी बैंकको नेतृत्वमा छन् । उनले राष्ट्रिय सहकारी महासंघमा समेत लेखा सुपरीवेक्षण समितिको संयोजक रहेर काम गरेका थिए ।
नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागमा समेत उनले काम गरेका छन् । उप्रेतीको सहकारीमा समस्या आएपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।
उप्रेतीले आफू सञ्चालक रहेको हाम्रो सगरमाथा सहकारी समस्याग्रस्त हुन लागेपछि अन्य सहकारीसँग मर्ज गरेको आशंका प्रहरीको छ ।
‘उपचारका लागि भन्दै भारत गएको भनेर ढाँटेका उप्रेतीलाई बालाजुबाट नियन्त्रणमा लिइएको हो,’ परिसरका प्रवक्ता एसपी अधिकारीले लोकान्तरसँग भने, ‘पीडितहरूको जाहेरी आउनेक्रम जारी छ । हामी अनुसन्धानमै छौं ।’
महाराजगन्जले शुरू गरेको अनुसन्धान फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।