२८ असार २०८३, आइतबार
मन्त्री बन्न हानथाप

कांग्रेसमा मन्त्री छान्न सकस : शेखर पक्षले चार मागेपछि दबाबमा देउवा

असार ३०, २०८१
काठमाडौं
कांग्रेसमा मन्त्री छान्न सकस : शेखर पक्षले चार मागेपछि दबाबमा देउवा

नेकपा (एमाले)का अध्यक्ष केपी ओली प्रधानमन्त्री नियुक्त हुने समय नजिकिएसँगै प्रमुख सत्ता साझेदार दुई दलले मन्त्री चयनको अन्तिम गृहकार्य गरिरहेका छन् । आज साँझ प्रधानमन्त्रीमा ओलीको नियुक्ति हुने र सोमबार बिहान शपथ ग्रहणको कार्यक्रम छ । त्यसअघि कांग्रेस र एमाले मन्त्री चयनको अन्तिम गृहकार्यमा जुटेका हुन् ।

२१ मन्त्रालयमध्ये कांग्रेसले ९, एमालेले ८ र ४ वटा मन्त्रालय साना दलको भागमा पर्ने लगभग पक्का छ । संख्या भागबन्डा टुंग्याएका दुई दल मन्त्रालय भागबन्डा गर्ने तयारीमा छन् । दुवै दलमा आन्तरिक छलफल पनि जारी छ । संख्यासँगै दुवै दलले क-कसलाई मन्त्री बनाउने भन्ने गृहकार्य पनि गरिरहेका छन् । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले कांग्रेसको भागमा ९ वटा मन्त्रालय परेको बताए । आज प्रधानमन्त्रीको नियुक्ति भएपछि भोलि बिहानसम्म कांग्रेसले सबै मन्त्रीको टुंगो लगाउने उनले बताए । ‘हाम्रो भागमा ९ वटा मन्त्रालय परेका छन् । भोलि बिहानसम्म कांग्रेसले मन्त्रालय र मन्त्रीको नाम टुंग्याउँछ,’ पौडेलले लोकान्तरसँग भने, ‘एमालेले ८ वटा र साना दलको लागि ४ वटा मन्त्रालय राख्ने समझदारी भएको छ ।’ 

पौडेलका अनुसार जसपा, जसपा नेपाल, जनमत र लोसपाले एक एक मन्त्रालय पाउने भएका छन् । उनीहरूसँग संवाद भइरहेको छ । 

तर, कांग्रेसभित्र मन्त्री चयनको सकस अझै जारी छ । शेखर कोइराला–गगन थापा समूहले आइतबार बिहान बैठक गर्दै कांग्रेसले १० मन्त्रालय पाउने दाबी गर्दै ४ वटामा पाउनुपर्ने अडान अगाडि सारेको छ । ‘कांग्रेसले पाउने १० मन्त्रालयमा सामूहिक र उचित ढंगले निर्णय गर्नुपर्छ भन्ने हाम्रो मत छ,’ शेखर–गगन समूहका नेता अर्जुननरसिंह केसीले लोकान्तरसँग भने, ‘कांगेसले १० मन्त्रालय पाउने स्थितिमा ४ वटा हाम्रो समूहले पाउनुपर्छ भन्ने समान मत बनेको छ ।’

कांग्रेसले गृह, परराष्ट्र र अन्य दुई प्रभावशाली मन्त्रालय पाउने मुख्य सचिव बताए । कांग्रेसबाट नेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्ने विषय टुंगिएको मुख्य सचिव उनले बताए ।

गृहमा रमेश लेखक र परराष्ट्रमा आरजु राणा देउवा जाँदैछन् । यसबाहेक शेखर समूहबाट जीवन परियार यसपटक मन्त्री बन्ने पक्का भएको नेता केसीले जानकारी दिए । 

तर, यी चारबाहेक अन्य ५ मन्त्रीका लागि संस्थापन, इतर पक्ष र सिटौला समूहमा हानथाप चलेको कांग्रेसका एक नेताले बताए । ‘तीन/चार जना मन्त्री टुंगिएको जानकारी पाएका छौं । बाँकी ५ जनाको लागि संस्थापन, इतर र अरु समूहको हानथाप छ,’ कांग्रेसका एक नेताले भने, ‘कांग्रेसले ९ वटा पाउने भनिएको छ । यसमा शेखर पक्षले नै ४ वटा दाबी गर्दा सिटौला पक्षले पनि कम्तीमा एउटा मागिरहेको छ । यसैले सहजै टुंगिन गाह्रो परिरहेको छ । अरुलाई दिँदा संस्थापनलाई भाग नै नरहने हो कि भन्ने देखिन्छ ।’

null

शेखर पक्षले ४ वटा मन्त्रालय मागे पनि सकेसम्म २ वटामा मनाउन पहल गर्ने नभए ३ भन्दा बढी मन्त्रालय शेखर समूहलाई नदिने संस्थापनको तयारी छ ।

युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारी छ । तर, सभापति देउवाले पौडेलका निम्ति बल नगरेको नेताहरू बताउँछन् । ‘प्रदीपको नाममा सभापतिले इच्छा नगरेपछि अर्जुननरसिंह केसीलाई मन्त्री बनाउने चर्चा सुनेका छौं’, कांग्रेस स्रोतले भन्यो, ‘सरकारमा युवा नेतालाई पठाउनुपर्छ भन्ने तर, भित्रभित्रै पटकपटक अवसर पाएकालाई मन्त्री बनाउनेसम्मको तयारी सुनेका छौं ।’ शेखर समूहबाट जीवन परियार र चन्द्र भण्डारी मन्त्री बने नेता केसी मन्त्री बन्न बन्न कठिन रहेको नेताहरू बताउँछन् । 

कांग्रेसले शनिबार समावेशीता, भूगोलसहितका मन्त्री छान्ने मापदण्ड बनाएको थियो । यो मापदण्डअनुसार यसपटक शेखर पक्षले कर्णालीबाट पनि मन्त्रीमा दाबेदारी गरेको छ । सुदूरपश्चिमबाट पनि बद्री पाण्डे मन्त्रीका लागि दाबेदार छन् ।  

कांग्रेसबाट को–को छन् मन्त्रीका आकांक्षी ? 
कांग्रेसमा कोशीबाट दीपक खडका र रामहरि खतिवडा मन्त्रीका मुख्य दाबेदार छन् । खड्का डा. शशांक कोइराला निकटका हुन् । खतिवडा देउवा समूहमा पनि उपसभापति पूर्णबहादुर खड्कानजिक छन् । मधेशबाट अजयकुमार चौरसिया र तेजुलाल चौधरी दाबेदार छन् । चौरसिया संस्थापन निकटका हुन् । उनको मन्त्री बन्ने सम्भावना बढी रहेको नेताहरू बताउँछन् । 

बागमती प्रदेशबाट युवा नेता प्रदीप पौडेल, उदयशमशेर राणा, श्याम घिमिरे र रामनाथ अधिकारी पनि बलिया दाबेदार हुन् । गण्डकीबाट जीवन परियार र शंकर भण्डारीको दाबेदारी छ । संस्थापन इतरबाट चन्द्र भण्डारी र हृदयराम थानी मन्त्रीका दाबेदार हुन् । बद्री पाण्डे, वीरबहादुर बलायर, ईश्वरी न्यौपाने र किशोरसिंह राठोर पनि मन्त्रीका दाबेदार हुन् ।

एमालेमा भने अध्यक्ष ओलीले नै मन्त्रीको अन्तिम टुंगो लगाउने तयारी छ । उनले कसलाई मन्त्री बनाउने भनेर मुख नखोलेको नेताहरू बताउँछन् । तर, अर्थमन्त्री विष्णु पौडेल हुने चर्चा छ ।

यी पनि पढ्नुहोस्

- अर्थ र गृहकै मोडालिटीमा कांग्रेस र एमालेबीच भागबन्डा

- कांग्रेसमा टुंगियो मन्त्री बन्‍ने तीन जनाको नाम, अरु को-को छन् आकांक्षी ?

salt training

कमेन्ट गर्नुहोस्