१० साउन २०८३, आइतबार
नयाँ समीकरणको प्रभाव

लुम्बिनीमा साना दलको ‘बार्गेनिङ’ बन्द, कांग्रेस–एमालेसँगै करिब दुई तिहाइ बहुमत

साउन १, २०८१
बुटवल
लुम्बिनीमा साना दलको ‘बार्गेनिङ’ बन्द, कांग्रेस–एमालेसँगै करिब दुई तिहाइ बहुमत

केन्द्रमा दुई ठूला र प्रमुख दल नेपाली कांग्रेस र नेकपा (एमाले)को समीकरण बनेसँगै प्रदेशमा पनि दुई दलकै सरकार बन्ने निश्चित छ । कांग्रेस–एमाले मिलेसँगै प्रदेशमा सरकार बनाउन निर्णायक मानिने साना दल भने कमजोर भएका छन् । सत्ता समीकरण अदलबदल हुँदा उनीहरूले गर्ने ‘बार्गेनिङ’ अब करिब सकिएको छ । 

एमाले–माओवादी होस् वा कांग्रेस–माओवादी गठबन्धन बन्दा बार्गेनिङ गरेर मन्त्री भइरहने सानाका नेता कांग्रेस–एमाले मिलेसँगै निराश बनेका छन् । साना दलले यसअघि सरकारको लागि सधैं च्याँखे थाप्ने गरेका थिए । जसको नेतृत्वमा सरकार बने पनि हाम फाल्ने उनीहरू कांग्रेस–एमाले मिलेपछि भने स्तब्ध भएका हुन् ।

लुम्बिनीमा एमाले–कांग्रेससँग सरकार गठन गर्न पर्याप्त बहुमत छ । उनीहरूसँग प्रदेश सभाको झण्डै दुई तिहाइ मत छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभा ११ दलको प्रतिनिधित्व छ । लुम्बिनीमा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ । 

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद् छन् । यस्तै, नेकपा (माओवादी केन्द्र)का (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४/४, जनता समाजवादी पार्टी (जसपा) २, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३/३, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् ।

प्रदेश सभामा थोरै सिट भएका केही दल हरेक सरकारमा सहभागी भए । ठूला दल सत्तामा मात्र रमाएको आरोप लगाएर उदाएका साना दल पनि सत्ताकै पेरिफेरिमा घुमिरहेका थिए । संसदीय अभ्यासमा ठूलो दलले सरकार चलाउने र साना दलहरू प्रतिपक्षमा बसेर खबरदारी गर्नुपर्ने हो । तर, केही साना दलहरू खबरदारीभन्दा सत्तामा च्याँखे थाप्न व्यस्त भए । 

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका थिए । उनलाई माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी र लोकतान्त्रिक लोसपाले समर्थन गरेका थिए । गिरी नेतृत्वको सरकारले १०० दिन कटाउन नपाउँदै केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बने । 

उनलाई माओवादी, जसपा, लोसपा, नाउपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरे । चौधरी सरकार ढलेपछि फेरि एमाले–माओवादी गठबन्धनबाट माओवादी संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बने । महरालाई एमालेसहित नागरिक उन्मुक्ति, जसपा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।

राजनीति शास्त्रका प्राध्यापक नुरजंग केसी कांग्रेस–एमाले गठबन्धनले साना दलका अनावश्यक ‘बार्गेनिङ’ बन्द हुने बताउँछन् । ‘अहिले बनेको गठबन्धनले संविधान संशोधन गरेर संघ र प्रदेशमा रहेको समानुपातिक प्रणालीलाई हटाउन सके भने धेरै राम्रो हो,’ केसी भन्छन्, ‘सत्ताकै लागि बनेको हो भने राम्रो होइन । निर्वाचन प्रणाली पनि संशोधन गरेर एकल बहुमतको सरकार बन्ने अवस्था ल्याउने गराउनुपर्छ । प्रचण्डलाई तह लगाउन हो भने, राम्रो होइन ।’ 

प्रमुख दुई दल स्थिरताको खोजीमा लाग्नुपर्ने उनको भनाइ छ । ‘जनतालाई सधैं समृद्धिको सपना देखाउने ठूला दलप्रति जनताको आक्रोस बेग्लै छ । अब उनीहरूले आफ्नो कामको आत्मसमीक्षा गरेर स्थिरताको खोजीमा लाग्नुपर्छ ।’

अब फेरि लुम्बिनीमा नयाँ सरकार गठनको गृहकार्य हुन थालेको छ । कांग्रेस–एमाले मिलेर स्थिरता दिने भन्ने कुराले केही सकारात्मक आशाको सञ्चार त गरेको छ तर, फेरि प्रदेशहरूमा पनि सरकार फेरिने र भागबन्डा हुने देखिन्छ । 

प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छन् । लुम्बिनी १७ सदस्यीय मन्त्रिमण्डल बनेको इतिहास छ । प्रदेशमा मन्त्रालय घटाउने योजनामा एमाले–कांग्रेसको छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले अब मन्त्रालय घटाएर चुस्त बनाउँदै स्थिर सरकार चलाउनुपर्ने बताए । लुम्बिनीमा अब फेरि एमालेका लिला गिरी नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो छ । पहिलोपटक ३ महिनामा ढलेको गिरी सरकार अब फेरि बन्ने तयारी छ । 

लोसपा सांसद तथा पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले केन्द्रमा पार्टी कसरी अघि बढ्छ त्यहीअनुसार प्रदेशमा पनि हुने बताए । ‘अहिले एमाले कांग्रेसले भनेका संविधान संशोधनको लागि साना दल चाहिन्छ । साना दलको महत्व घटेको छैन । यद्यपि सरकार बनाउन मात्र आवश्यक नहोला तर, अन्य महत्वपूर्ण काममा साना दल नै चाहिने अवस्था छ,’ उनले भने । 

डेढ वर्षमा चारवटा सरकार बन्ने अवस्था आउँदा लुम्बिनी प्रदेश सरकारका काम प्रभावित भएका छन् । विकास बजेट खर्च हुन सकेको छैन भने कर्मचारीको अभाव छ ।

केन्द्रमा सरकार फेरिनेवित्तिकै त्यसको असर देखिँदा प्रदेशको राजनीति पनि अस्थिर भएको छ । केन्द्रीय अस्थिरताको प्रभावले अस्तित्व निर्माणको अवस्थामा रहेको प्रदेश संरचनाप्रति अविश्वास बढेको छ । जसले गर्दा प्रदेश संरचनाप्रति जनतामा वितृष्णा बढ्दो छ । प्रदेशको आम्दानी र खर्चको खाडल ठूलो छ । त्यसलाई चिर्दै प्रदेशले नागरिकको धर्मराउँदो विश्वास चिर्नुपर्ने पारदर्शी सरोकार समूह रूपन्देहीका अध्यक्ष लालहरि पाण्डे बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्