
अर्जुनमोहन भट्टराई
गुरु तिमी हौ ज्ञाता, अन्धकार सारा हटाउने ।
आफू जलेर दियोसरी, लोकमा उज्यालो फैलाउने ।।
तिमीमा थिएन लोभ, अनि क्षोभ, न क्रोध नै ।
तसर्थ, बन्यौ तिमी महान, दिव्य ज्योति झैं ।।
म कहाँ पाउँ त्यो समय, अति तिम्रा पेचिला सन्देश।
साथै जीवन उपयोगी सार्थक, अर्ती उपदेश विवेक ।।
थिएन स्वार्थ तिमीमा, तब तिमी महान थियौं ।
जे-जो आफूसँग थियो, सबै रित्ताएर दियौं ।।
तिम्रो महिमा अपार छ, जो कोही मानव जगतमा।
सिक्न सिकाउन उद्धत, हरेक निमेष पलमा ।।
बन्न मुस्किल छ यो समयमा, असल गुरु शिक्षक ।
बनेर निःस्वार्थ संसारमा, सत्यमार्ग सावित रक्षक ।।
नाममा तिम्रो प्रताप, सदा नतमस्तक छु।
सिक्न जान्न नसक्दा, पश्चातापले जलिरहेछु ।।
न थियो ,तिमीमा लोभ, मोह कुण्ठा क्षोभ नै ।
गुरु पूर्णिमामा अभिनन्दन गर्छु, सदा अनुगृहीत भै ।।