२६ असार २०८३, शुक्रबार
प्रदेशका नयाँ मुख्यमन्त्री

आफ्नै पार्टीका 'सिनियर' नेतालाई पाखा लगाएर लुम्बिनीमा आचार्यको उदय

आन्तरिक र बाह्य सन्तुलन मिलाएर अघि बढ्नुपर्ने चुनौती
साउन ८, २०८१
बुटवल
आफ्नै पार्टीका 'सिनियर' नेतालाई पाखा लगाएर लुम्बिनीमा आचार्यको उदय

पार्टी भित्रको अन्तरसंघर्षको फाइदा उठाउँदै नेकपा (एमाले)का नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । संसदीय दलका नेता लीला गिरीलाई अस्वाभाविक रूपमा पाखा लगाएर आचार्य लुम्बिनीको मुख्यमन्त्री बनेका हुन् । 

केन्द्रको भागबन्डाअनुसार लुम्बिनीको नेतृत्व एमालेले पाएपछि पार्टीका केन्द्रीय सदस्यसमेत रहेका ५६ वर्षीय आचार्य पहिलोपटक लुम्बिनीको मुख्यमन्त्री बनेका हुन् । 

आचार्यलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका छन् । आचार्यलाई प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससहित ५६ सांसदको समर्थन छ । आचार्य एमाले महासचिव शंकर पोखरेलनिकट हुन् । 

उनी अर्घाखाँचीमा पार्टीका निलम्बित सचिव टोपबहादुर रायमाझीसँग काम गरेका नेता हुन् । रायमाझीकै निर्वाचन क्षेत्र अर्घाखाँची १ (१)बाट लगातार दोस्रोपटक प्रदेश सभामा निर्वाचित भएका आचार्य प्रदेशसभामा दोस्रो तहका नेतामा पर्छन् । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–९ अर्घामा जन्मिएका नेताको अहिलेको बसाइँ जिल्ला सदरमुकाम सन्धीखर्कमा छ । 

वि.स.२०२५ मा अर्घाखाँचीको साविक अर्घा गाविसमा बाबा टीकाराम र आमा तारादेवीको ७ सन्तानमध्ये चौथौं सन्तानका रूपमा जन्मिएका आचार्य सन्धीखर्कमा बस्छन् । वि.स. २०३७ सालदेखि १२ वर्षकै उमेरमा पञ्चायत विरूद्धको आन्दोलनमा सहभागी भएर आचार्य राजनीतिमा होमिएका थिए ।

सामाजिक र राजनीतिक दुवै क्षेत्रमा सक्रिय आचार्य वि.सं २०४३ सालमा बुटवल बहुमुखी क्याम्पसमा पढ्दै गर्दै तत्कालीन अखिलको प्रारम्भिक इकाई कमिटीबाट राजनीति यात्रा अघि बढाएका थिए । आचार्य बहुदल आएपछि एमाले २०४७ मा अर्घाखाँचीको सदस्यता प्राप्त गरे । २०४८ मा जिल्ला सदस्य २०५५ मा एमाले अर्घाखाँचीको नेतृत्व गरी सचिव बने । त्यो बेला पार्टीको नेतृत्व सचिवले गर्ने व्यवस्था थियो । 

वि.स.२०६४ को पहिलो संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट उम्मेदवार भए पनि विजयी हुन सकेनन् । २०६९ मा फेरि एमाले जिल्ला अध्यक्ष भएर पार्टी हाँके । एमालेको नवौं र दशौं महाधिवेशनमा केन्द्रीय सदस्य बने । अहिले एमाले केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज छन् । अर्घाखाँचीमा जन्मिए पनि उनले प्रदेशभरको जनताको अवस्था र स्थिति बुझेका छन् । 

प्रदेशसभाको पहिलो कार्यकाल (२०७४) सालमा शंकर पोखरेल नेतृत्वको पहिलो  प्रदेश सरकारमा केही महिना आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए । गिरी नेतृत्वको पहिलो ३ महिने कार्यकालमा आचार्यले ग्रामीण विकास मन्त्री भएर काम गरेका थिए । 

नवनिर्वाचित मुख्यमन्त्री आचार्यले २०७९ सालको चुनावमा  अर्घाखाँची १ (१)बाट निर्वाचित भएका हुन् । उनले प्रदेश सभा निर्वाचनमा तत्कालीन गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७४० मतान्तरले पराजित गरेका थिए । त्यो बेला एकातिर पार्टीभित्र अन्तरद्वन्द्व थियो भने अर्कोतिर ५ दलीय गठबन्धनका कारण चुनाव सहज थिएन । 

निर्वाचित भएपछि उनी लुम्बिनीमा सर्वसम्मत संसदीय दलको उपनेता भएका थिए । कार्यकालको २० महिनापछि केन्द्रमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि आफ्नै पार्टीमा 'सिनियर' नेतालाई पाखा लगाएर आचार्यलाई लुम्बिनीको नेतृत्व गर्ने अवसर जुरेको हो । 

निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारमा उनले आर्थिक मामिला तथा योजना मन्त्री भएर काम गरे । कानून संकायमा स्नातक पूरा गरेका आचार्य पञ्चायत र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध लाग्दा पटक–पटक पक्राउ परेका थिए । 

उनी पार्टीको कुशल संगठन र विकासप्रेमी नेताको रूपमा आचार्य चिनिन्छन् । एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले आचार्य कार्यकर्ताले रुचाइएको नेता भएको बताउँछन् । इमान्दार र महासचिव शंकर पोखरेलनिकट रहेर काम गरेकोले उनी मुख्यमन्त्री बनेको एमाले अध्यक्ष भुसालले बताए । 

आफ्नै पार्टीका निवर्तमान मुख्यमन्त्री लीला गिरीसहित कांग्रेससहित नेतालाई मन्त्रिपरिषद्‌देखि संसद्सम्म चित्त बुझाएर अगाडि हिँड्नुपर्ने उनलाई चुनौती छ । 

यसअघिका मुख्यमन्त्रीले शुरूआत गरेका प्रदेश गौरवका आयोजनाको प्राथमिकता र आउँदा दिनमा अगाडि सार्ने विकास र जनतासँग जोडिएका कामले आचार्य भाबी राजनीतिक यात्रामा पनि अर्थ राख्छ । 

प्रदेशप्रति जनतामा देखिएको वितृष्णालाई कम गर्दै चुस्त र मितव्ययी ढंगले प्रदेशको काम गर्न आचार्यलाई अर्को दबाब पनि छ । काम गर्ने हुटहुटी भएका आचार्यले अब आन्तरिक र बाह्य सन्तुलन मिलाएर अघि बढ्नुपर्ने प्राध्यापक डा. खगराज शर्माले सुझाव दिए । 

लुम्बिनीले पहिलो ५ वर्षमा २ जना मुख्यमन्त्री पाएको थियो । पहिलो मुख्यमन्त्री एमालेका शंकर पोखरेल र त्यसपछि माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । 

दोस्रो कार्यकालको झण्डै २० महिनामा चार वटा मुख्यमन्त्री लुम्बिनीले पाइसकेको छ । शुरूआतमा गिरी, त्यसपछि कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी, त्यसपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा र अहिले फेरि आचार्य गरी चार वटा सरकार बनिसकेका छन् । प्रदेशसभाको शुरूआतआतदेखि सत्तमा रहेको माओवादी अब प्रतिपक्षमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्