
सम्झना गुरुङ (नाम परिवर्तन) सानै छँदा उनका बुवा बिते । कमाइको स्रोत सुक्यो । आर्थिक अवस्था कमजोर बनेपछि पढ्ने वातावरण मिलेन । उनले ६ कक्षाबाटै पढाइ छाडिन् ।
१६ वर्षको उमेरमा पोखरा आएकी सम्झनाले केही समयमा दोहोरी साँझमा काम गर्न थालिन् । ८ वर्ष भयो उनले दोहोरीमा वेटरका रूपमा काम गर्न थालेको ।
पोखरा आएको केही समयमा नै उनको विवाह भयो । तर, वैवाहिक सम्बन्ध राम्रो हुन सकेन । ७ वर्षकी छोरी छन् । विवाहपश्चात केही समय दोहोरीमा काम गर्न छाडेकी सम्झना अहिले पुनः पुरानै काममा फर्किएकी छिन् ।
‘गाउँबाट आएर यतै काम गर्न लागियो । यतै बिहे गरियो । केही समय छाडे पनि एक्लै भएपछि फेरि दोहोरीमा फर्किएकी छु । यही सजिलो लाग्छ, अरू काम गर्नै मन लाग्दैन,’ उनले भनिन् ।
पोखरामा उनी आमा र छोरीसँग बस्छिन् । घरव्यवहार र छोरीको पढाइ खर्च उनकै काँधमा छ । दोहोरीमा वेटरको रूपमा कार्यरत उनको तलब भने मासिक ७ हजार रुपैयाँ मात्र छ । ‘टिप्स’का कारण जिन्दगी जसोतसो चलेको छ ।

मनोरञ्जन क्षेत्र (दोहोरी साँझ, रेस्टुरेन्ट, डान्सबार, स्पा र मसाज सेन्टरलगायत)मा काम गर्नेहरूले न्यूनतम् पारिश्रमिकको आधा पनि पाउँदैनन् । हालै सार्वजनिक भएको एक सर्वेक्षणले पनि यो कुराको पुष्टि गर्छ ।
यूएनडीएफको सहयोगमा शक्ति समूह र महिलाका निम्ति महिला मञ्च नेपाल (ओफोओन)सँगको संयुक्त साझेदारीमा ‘मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको हक/अधिकार संरक्षण’ गर्ने उद्देश्यले एक सर्वेक्षण गरेको थियो ।
२०२३ मार्चदेखि शुरू भएको सो परियोजनाकोे मुख्य उद्देश्य मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको अधिकार सुनिश्चित र संरक्षण गर्नका लागि आर्थिक, सामाजिक अवस्था पहिचान गरी अधिकार प्राप्त गर्नका लागि सशक्तीकरण गर्नु थियो ।
सो आयोजनाअन्तर्गत शुरूआतमा पोखरा, काठमाडौं र सुनसरीमा मनोरञ्जन क्षेत्रमा सर्वे गरिएको छ । क्याबिन रेस्टुरेन्ट, खाजाघर, दोहोरी, डान्सबार, मसाज र स्पामा काम गर्ने श्रमिक महिलामा सर्वे गरिएको थियो ।
सो सर्वेले दिनमा ९ देखि १२ घण्टा काम गर्नुपर्ने र दोहोरीमा काम गर्ने वेटरको तलब अधिकतम ६ हजार रहेको देखाउँछ । यस्तै, दोहोरीमा गायकको अधिकतम तलब ११ हजार रुपैयाँ रहेको तथ्यांक सर्वेले बाहिर ल्याएको छ । अधिकतम टिप्स दिनमा ९ हजारसम्म हुने गरेको पनि सर्वेमा पाइएको छ ।
सम्झनाले पनि यस्तै अनुभव सुनाइन् । ‘टिप्स कहिले त ९–१० हजार नै आउँछ दिनमा । कहिले ४–५ हजार, कहिले सय/डेढ सय, कहिले त ५० पनि पर्दैन । यो फिक्स हुन्न,’ सम्झनाले सुनाइन् ।
महिनामा ३० हजारको हाराहारीमा आम्दानी गर्ने गरेको उनको भनाइ छ । सम्झनाको काम बेलुका ८ बजेदेखि रातको १ बजेसम्म हुन्छ ।
दोहोरीमा हरेक खालका मान्छे आउँछन् ।
‘मान्छेअनुसार हो, कोही बुझ्ने हुन्छन्, कोही नबुझ्ने । नबुझ्ने मान्छेहरूले त के–के भन्छन् । दोहोरीमा आउँछन् । खान्छन् । मसँग जाऊँ, यति पैसा दिन्छु भन्ने पनि आउँछन् ।’
कोही गलत तरिकाले छुन आउँछन् । कोही राम्रो व्यवहार गर्छन् । कसैले केही भने उनी बोल्न सक्दिनन् । दुर्व्यवहार गरे भने टीम लिडर वा साहुलाई भन्ने गर्छिन् ।
‘मलाई केही भनिहाले भने म बोल्न सक्दिनँ, अफिसमा जानकारी दिन्छु । कोही गेस्ट त्यसरी हात हाल्नै आए भने साहुलाई भन्छु । लिडरहरूलाई भन्छु । गलत तरिकाले छुने हुन्छन् कोही मान्छे । कसैले भने छोरी भन्छन्, राम्रो पनि गर्छन्,’ सम्झनाले सुनाइन् ।
उनी दुर्व्यवहारको घटनादेखि सकेसम्म तर्किन र त्यसलाई बिर्सिन खोज्छिन् । कसैले नराम्रो गरे प्रतिकार नगरी हाँसेर टार्ने गरेको स्वभाव छ ।
मनोरञ्जन क्षेत्र जोखिमपूर्ण मानिन्छ । त्यसैले यहाँ १८ वर्षभन्दा मुनिका बालबालिकालाई काममा लगाउन पाइन्न । तर, सम्झनाले १७ वर्ष लाग्दानलाग्दै काम थालेकी थिइन् ।
सर्वेक्षणले पनि अन्य स्थानको तुलनामा पोखरामा कम उमेर समूहका श्रमिकहरू बढी हुने गरेको देखाउँछ ।
साथै, कार्यस्थलमा दुर्व्यवहार झेल्नेमा पनि पोखरा अगाडि छ । पोखरामा ६९ प्रतिशतले कार्यस्थलमा दुर्व्यवहार भोगेको सर्वेक्षणको निष्कर्ष छ । डान्सबारमा ७३ प्रतिशत र दोहोरीमा ५१ प्रतिशतले दुर्व्यवहार भोगेको सर्वेक्षणले देखाएको छ ।
......
२७ वर्षकी रमा परियार (नाम परिवर्तन) कास्कीको ग्रामीण भेगमा जन्मे/हुर्केकी हुन् । अभिभावकको सम्बन्ध राम्रो रहेन । ५ कक्षासम्म मात्र पढ्ने अवसर पाइन् । १६ वर्षको उमेरमा गाउँमा नै उनको बिहे भयो । बालविवाह भएपछि पनि उनको वैवाहिक सम्बन्ध लामो समय टिक्न सकेन ।
१८ वर्षको उमेरमा नै सम्बन्ध राम्रो नभएपछि रमा गाउँ छाडेर पोखरा झरिन् । पोखरा आएपछि रमाले दोहोरी साँझमा काम गर्न थालिन् ।
उनका ठूली र माइली दिदी दोहोरीमा गाउने काम गर्छन् । त्यसैले पनि उनलाई दोहोरीमा वेटरका रूपमा काम गर्न सहज लाग्यो । तीन/चार महिना वेटरको रूपमा काम गरेपछि सबैले स्वर राम्रो छ भने । साहुले स्टेजमा गाउने काम दिए । त्यसयता ९ वर्षदेखि रमाले गाउने काम गर्छिन् । स्टेजमा रहने हुनाले आफूले धेरै समस्या भोग्नुनपरेको उनको भनाइ छ ।
‘हामीलाई खासै त्यस्तो समस्या पर्दैन । हामी फेरि तल पनि झरिँदैन । एकदम चिनेकाहरू आए भने मात्र झर्ने हो । चिनेकाहरूले त्यस्तो व्यवहार गर्दैनन्,’ रमाले भनिन् ।

रमाको कार्य समय बेलुका ८ बजेबाट मध्यराति साढे १२ बजेसम्म हुन्छ । उनले तलब महिनाको १२ हजार बुझ्छिन् । रमा र सम्झना दुवै पारिवारिक अवस्थाका कारण शिक्षाबाट वञ्चित बने ।
सो सर्वेमा दोहोरीमा काम गर्नेमध्ये २१ प्रतिशत साक्षर र ७ प्रतिशत निरक्षर भेटिएका थिए । सर्वेक्षणअनुसार १९ प्रतिशत आधारभूत तह हासिल गरेपछि पढ्न नपाएका छन् । शिक्षा नपाउनुका मुख्य कारणहरूमा आर्थिक अभाव ४३ प्रतिशत छ ।
अध्ययनका लागि परिवारको सहयोग अभाव ३९ प्रतिशत, अध्ययनमा रुचि नभएका ६ प्रतिशत लगायत छन् । सर्वेक्षणमा ४५ प्रतिशत उत्तरदाता अविवाहित, २३ प्रतिशत विवाहित र १५ प्रतिशत विवाहपछि छुट्टै बस्ने पाइएको थियो ।
जोखिमपूर्ण क्षेत्रमा यावत समस्या छन् भनेर सरकारीदेखि गैरसरकारी संस्थासम्म जानकार छन् । तर, यी क्षेत्रका समस्या समाधानका लागि नतिजामुखी काम हुन सकेको छैन ।
विभिन्न गैरसरकारी संस्थाले प्रोजेक्ट बनाएर मनोरञ्जन क्षेत्रमा काम गरेका छन् । गैरसरकारी संस्थाको प्रोजेक्ट निश्चित समयका लागि हुन्छन् । राइट फर चिल्ड्रेन नेपालले विगत डेढ वर्षदेखि मनोरञ्जन क्षेत्रमा केन्द्रित भएर प्रयास प्रोजेक्ट सञ्चालन गरेको छ । तीन वर्षको अवधि रहेको यो प्रोजेक्टले सय बढी श्रमिकलाई सेवा दिइसकेको छ ।
राइट फर चिल्ड्रेन नेपालकी प्रयास प्रोजेक्ट म्यानेजर लक्ष्मी गौतम यस विषयमा सरकार जवाफदेही हुनुपर्ने बताउँछिन् । मनोरञ्जन व्यवसाय सञ्चालक, संस्था र सरकारलाई यी समस्याको विषयमा जिम्मेवार बन्न उनको सुझाव छ ।
‘सरकारी निकायबाट अनुगमन गरेर मर्यादितरूपमा सञ्चालन गरिराखेको व्यवसायलाई प्रोत्साहन गर्ने र मर्यादा पालना नगरेकालाई कारबाहीमा ल्याउने हो,’ उनले थपिन्, ‘ल है कारबाहीमा ल्याउने रैछ भनेर उहाँहरू पनि सजग हुनुहुन्थ्यो कि ! अनि भएका नीतिहरू कार्यान्वयन गर्नका लागि उहाँहरू पनि लाग्नुपर्यो, अनुगमन गर्नुपर्यो ।’
अन्य क्षेत्रको तुलनामा पोखरामा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने नाबालिकको संख्या बढी छ । त्यसका पनि विविध सामाजिक पक्ष छन् । आर्थिकरूपमा कमजोर पारिवारिक पृष्ठभूमि, अभिभावकबीचको बेमेलजस्ता कारणले नाबालिकहरू यो क्षेत्रमा काम गर्न बाध्य छन् ।
‘घरमा खानाका लागि व्यवस्था छैन । आर्थिक अवस्था कमजोर छ । उनीहरूले डकुमेन्ट ल्याउँदा उमेर १८ वर्षको भनेर ल्याउँछन् । काउन्सिलिङ बस्दा जम्मा १६ लागेको १७ लागेको भन्ने कुरा आउँछ,’ गौतमले भनिन् ।
सामाजिक पक्षको पनि भूमिका भएकाले स्थानीय तह समेत जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।