०२ साउन २०८३, शनिबार
बहस– अर्थतन्त्रको

बलियो सरकार बनेपछि आर्थिक क्षेत्रमा उत्साह, शिथिल अर्थतन्त्र उकासिने आशा

साउन १०, २०८१
काठमाडौं
बलियो सरकार बनेपछि आर्थिक क्षेत्रमा उत्साह, शिथिल अर्थतन्त्र उकासिने आशा
तस्वीरमा बायाँतर्फ माथिबाट क्रमश: पाण्डे, राणा, अग्रवाल, सिंह, शाह, लोहनी, पोखरेल र खनाल

देशका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ सत्ता गठबन्धनको अभ्यास गरेपछि अर्थतन्त्रमा ६५ प्रतिशतभन्दा बढी हिस्सेदारी बोकेको निजी क्षेत्र तुलनात्मक रूपमा हौसिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरूको दुई वर्ष सरकारको नेतृत्व लिने सहमति भएलगत्तै अर्थतन्त्रको ऐना मानिने शेयरबजारको बुलिश यात्रा शुरू भयो र यो क्रम रोकिएको छैन ।

घरजग्गा, पर्यटन, निर्माण व्यवसायलगायत अन्य क्षेत्रमा हात हालेका कतिपयले कन्फिडेन्स बढेको महसुस भएको बताएका छन् ।

कतिपय नेताहरू अहिलेको गठबन्धन राजनीतिक समीकरणको सबैभन्दा अन्तिम विकल्प भएको र यसलाई असफल हुने छुट नभएको प्रतिक्रिया दिने गरेका छन्, जुन निजी क्षेत्रमा पलाएको आत्मविश्वासको एउटा उदाहरण पनि हो ।

नयाँ सत्ता समीकरण बनिसकेपछि बसेका प्रतिनिधि सभा बैठकहरूमा राजनीतिक आरोप-प्रत्यारोपसँगै उद्योग, व्यवसाय र अर्थतन्त्रका अन्य क्षेत्रबारे पनि छलफल भइरहेको छ ।

यी छलफलकै कारण पनि दुवै ठूला दलहरू देशको वर्तमान अवस्थाप्रति संवेदनशील छन् कि भन्ने आभास निजी क्षेत्रले गरिरहेको हो । नयाँ सरकार बन्नेबित्तिकै उद्योगी/व्यवसायीले प्रधानमन्त्री र मन्त्रीहरूसँग शृंखलाबद्ध भेटघाट गरे ।

हुन त यो नयाँ चलन होइन तर, अहिले माटो बुझेका अर्थमन्त्री विष्णु पौडेल, विकासे मन्त्रालयका अनुभवी मन्त्रीहरू र प्रधानमन्त्री ओली स्वयंले समस्याको गाम्भीर्यता बुझेको र समाधानमा ठोस पहल लिन खोजेकोजस्तो देखिएको निजी क्षेत्रका प्रतिनिधिहरूको भनाइ छ ।

सरकारको वित्त नीति र राष्ट्र बैंकको मौद्रिक नीतिबीच ट्युनिङ मिलाउने उद्देश्यका लागि एक हप्ता अगाडि आउने भनिएको मौद्रिक नीति पछि धकेलिएको छ ।

सम्भवतः शुक्रबार (भोलि) राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । चर्चामा आएअनुसार मौद्रिक नीति पनि खुकुलो हुनेछ, जसले सेयर, घरजग्गा, हायर पर्चेज, बैंकिङ तरलतालगायत धेरै क्षेत्रको व्यवस्थापन सहज र स्वतन्त्र ढंगबाट गर्ने विश्वास गरिएको छ । यसको संकेत गभर्नर महाप्रसाद अधिकारीले धेरैपटक गरेका छन् ।

नयाँ सरकार बनेलगत्तै भारत, चीन र अमेरिकाले शुभकामना दिन गरेको हतारोले पनि कूटनीतिक वृत्तमा समेत केही सकारात्मक सन्देश गएको भान मिल्छ ।

लोकान्तरले 'नयाँ सरकार बनेपछि अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा आएको आत्मविश्वास कृत्रिम हो कि व्यावहारिक हो ?' भनी निजी क्षेत्रका केही प्रतिनिधि, नीति अनुसन्धान प्रतिष्ठानका शोधकर्ता र कूटनीतिज्ञसँग प्रश्न गरेको थियो ।

****

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा अहिले उद्यमीहरूमा आत्मविश्वास आएको स्वीकार्छिन् ।

'यसअघि पनि केपी ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुँदा केही उत्साह थियो । त्यो उत्साह अहिले पनि देखिएको छ । दुई ठूला दल मिलेर अघि बढ्ने हो भने त थप उत्साह भइहाल्ने भयो,' राणाले लोकान्तरसँग भनिन् ।

null

अहिले बजारले देखाएको उत्साह कृत्रिम र मनोवैज्ञानिक मात्र नभएको विश्वास उनको छ । 'अब केही दिनमा मौद्रिक नीति पनि आउला, त्यो डिपार्चर पोइन्ट होला भन्ने मैले बुझेकी छु,' उनले भनिन् ।

****

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल अहिले थोरै मात्र उत्साह देखिएको र सरकारको आगामी बाटोले अर्थतन्त्र थप सुधारतिर अघि बढ्ने आफ्नो विश्वास रहेको बताउँछन् ।

उनले सरकार र केन्द्रीय बैंकले सुधार गर्नुपर्ने केही विषय सुझाउँदै भने, 'नीतिगत दरहरू क्रमशः घटाउँदै लैजानुपर्दछ । बैंकहरूले सबै प्रकारका कर्जाको आधार दरमा अधिकतम् २ प्रतिशतमात्रै प्रिमियम थप्न पाउने व्यवस्था गरिनुपर्दछ ।'

null

त्यस्तै घरकर्जा र सेयर धितो कर्जामा भएका संकुचित नीतिहरू तुरुन्त हटाउनुपर्ने उनको माग छ ।

'अनौपचारिक अर्थतन्त्रमा भएको पूँजीलाई बैंकिङ प्रणालीमा ल्याउन बैंकमा नगद डिपोजिटको सीमा हटाउन आवश्यक छ,' उनले भने, 'निश्चित रकमभन्दा बढी नगद जम्मा गर्न पाइँदैन भन्ने प्रावधानका कारण अनौपचारिक अर्थतन्त्र मौलाउँदै गएको छ ।'

****

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नयाँ सरकार बन्ने सुनिश्चिततासँगै सेयर बजार अघि बढ्न थालेकाले लगानीकर्तामा हौसला थपिएको टिप्पणी गरिन् ।

null

'अर्थतन्त्रको ऐना मानिने सेयर बजार बढेको छ, यसले नयाँ सरकारप्रति लगानीकर्ताको विश्वास रहेको छ भन्ने सन्देश गएको छ,' पोखरेलको टिप्पणी छ, 'अब मौद्रिक नीतिबाट पनि धेरै आशा छ ।'

पोखरेलले अहिलेको बजारको कन्फिडेन्स कृत्रिम नभएको र यसलाई थप व्यावहारिक बनाउन सरकारले नीतिगत कदम चाल्नुपर्ने सुझाव दिइन् ।

****

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले पनि दुई ठूला दलबीच बनेको गठबन्धनले घरजग्गा व्यवसायले गति लिने आफ्नो आशा रहेको बताए ।

null

'हामीले उठाइरहेका विषयहरू नयाँ नेतृत्वसँग पनि राखेका छौं । उहाँहरू सकारात्मक देखिनुहुन्छ । केही होला कि भनेर आशा गर्ने ठाउँ छ,' उनले भने ।

यद्यपि घरजग्गासँग सम्बन्धित केही नीतिहरू यसअघिकै सरकारले खुकुलो बनाएको थियो । पछिल्लो ६ महिनायता घरजग्गा कारोबार सामान्य ढंगले बढेको विभिन्न तथ्यांकहरूले देखाउँछन् ।

****

नेपाल होटेल एसोसियसनका अध्यक्ष विनायक शाहले भने अहिलेसम्म सामान्य व्यापार व्यवसायको मान्यता पाएको होटेललाई उद्योगकै रूपमा मान्यता दिने गरी नयाँ सरकार अघि बढ्नुपर्ने बताए ।

null

'विश्वासभन्दा पनि आशा छ । तर वार्षिक बजेटबराबरको लगानी भइसकेको होटेल क्षेत्रलाई सामान्य व्यवसायको रूपमा मात्र हेर्ने गरिएको छ । त्यसप्रति असन्तुष्टि पनि छ,' शाहको भनाइ छ ।

उनले अहिले आइरहेका विदेशी पर्यटकको संख्याको तीन गुणासम्म धान्ने होटेल संरचना नेपालमा रहेको दाबी गरे ।

'हाम्रो क्षमता सरकारले बुझेको छैन,' उनको गुनासो छ, 'हामीले तीन गुणा संख्यासम्म विदेशी पर्यटक धान्न सक्छौं । तर अन्य संरचना गएगुज्रेका छन् । विश्वस्तरीय बाटो छैन । शहरको व्यवस्थापन छैन । अहिलेकै पर्यटकको संख्यालाई धान्ने अन्य संरचना नभएपछि हाम्रो क्षमता बढ्दैमा संख्या बढ्छ भनेर कसरी भन्नु ?'

****

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यो गठबन्धन मौजुदा राजनीतिक समीकरणको बीचबाट बनेको उत्तम विकल्प भएको बताए ।

null

'योभन्दा बेटर हामीले आशा गर्न सक्दैनौं । अघिल्लो सरकार कमजोर थियो भन्ने पुष्टि त अर्थतन्त्रले गुमाएको आत्मविश्वासबाटै भयो नि,' उनले भने ।

नयाँ सरकारले निर्माण क्षेत्रलाई अघि बढाउन प्रशस्त होमवर्क गरिरहेको विश्वास उनले व्यक्त गरे ।

'अर्थमन्त्रीज्यूले पनि हामी समस्याको आगो ताप्न आएका होइनौं भन्नुभएको छ,' उनले भने, 'निर्माण व्यवसायीले अहिलेसम्म नपाएको भुक्तानीका लागि सहजीकरण हुन्छ भनेर भन्नुभएको छ । हामी आशावादी छौं । काम गरेपछि आत्मविश्वास आउने हो ।'

****

अर्थतन्त्रका क्षेत्रमा आएको आत्मविश्वास व्यावहारिक हो भन्ने पुष्टि गर्न नयाँ सरकारलाई केही समय दिनुपर्ने नीति अनुसन्धान प्रतिष्ठानकी वरिष्ठ शोधकर्ता डा. कल्पना खनालको मत छ ।

null

'मैले त जम्मा एउटा क्षेत्रमा मात्र उत्साह देखेकी छु, सेयर बजारमा,' उनले लोकान्तरसँग भनिन्, 'बजेट पहिलाकै सरकारले ल्याएको छ । प्रतिस्थापन विधेयक ल्याउने तयारी छैन । मौद्रिक नीति आएको छैन । त्यसैले केही मूल्यांकन गर्नुअघि सरकारलाई केही समय दिनुपर्छजस्तो लाग्छ,' डा. खनालले भनिन् ।

बजारका लगानीकर्ताहरूले सधैं विवेकपूर्ण निर्णय नगर्ने र बजारको ट्रेन्ड फलो गर्ने भएकाले अहिलेको कन्फिडेन्स व्यावहारिक नै हो भन्ने पुष्टि नहुने उनको तर्क छ ।

****

बलियो सरकारले कूटनीतिक क्षेत्रमा पनि बलियो भूमिका निर्वाह गर्न सक्ला त भनेर हामीले पूर्व परराष्ट्रमन्त्री तथा अन्तर्राष्ट्रिय क्षेत्रका जानकार रमेशनाथ पाण्डेलाई पनि पनि सोधेका थियौं ।

उनले राजनीतिक रूपमा प्रतिस्पर्धी आधा दर्जन दलहरूको विभिन्न गठबन्धन देखेको तर कसैले पनि स्थायित्व नदिएकाले नयाँ गठबन्धनबाट पनि त्यो आश नरहेको बताए ।

null

'संसदको गणितमा सुविधाजनक अवस्थाको यो सरकारमाथि देशमा राजनीतिक स्थायित्व, सुशासन, हावाजस्तै सर्वत्र व्याप्त भएको भ्रष्टाचार र दुवै छिमेकीसँगको सम्बन्धमा वर्षौंदेखि सञ्चित विश्वास रित्तिएको अवस्थालाई सम्बोधन गर्ने दायित्व छ,' उनले भने ।

यो प्रयोग सफल भए नेपालमा तेस्रो संसदीय व्यवस्था संस्थागत हुने अन्यथा देश फेरि विपत्तिमा पर्न सक्ने कुराको हेक्का राख्न दुवै ठूला दलका प्रमुख नेताहरूलाई उनको सुझाव छ ।

'सरकार बनेपछि भारत र चीनले व्यवहारमा देखाएको प्रतिक्रिया सोचनीय छ,' पाण्डेले लोकान्तरसँग भने, 'नेपालमा पहिलो नागरिक प्रधानमन्त्री हुँदा भारतका तत्कालीन प्रधानमन्त्री नेहरू र अमेरिकी राष्ट्रपति ट्रुम्यानले लिखित शुभकामना सन्देश पठाएका थिए । अहिले ट्वीट र सम्बन्धित देशका दूतावासमार्फत आउने गरेको छ । यसले नेपालको कूटनीतिक अवस्था कमजोर हुँदै गइरहेको प्रमाणित हुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्