
गत असार २६ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको सोल्टीमोडस्थित म्याक्रो मिनी मार्ट र ताहाचलस्थित मेगा मार्ट प्रालिलाई ३/३ लाख रुपैयाँका दरले जरिवाना गर्यो । साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरित आयो नुन एमआरपीभन्दा बढी मूल्यमा बिक्री गरिरहेको पाइएपछि विभागबाट अनुगमनमा खटिएको टोलीले ती दुवै मार्टलाई ३/३ लाख रुपैयाँका दरले जरिवाना गरेको थियो ।
त्यसैगरी गत फागुनमा काठमाडौं उपत्यकामै पाँचवटा पाँचतारे होटललाई विभागले ३/३ लाख रुपैयाँ जरिवाना गरेको थियो । बौद्धको हायात होटल, बत्तीसपुतलीको द्वारिकाज होटल,बबरमहलमा रहेको बसेरा बुटिक होटल,लाजिम्पाटमा रहेको हिमालयन होटल, ललितपुरको कुपन्डोलमा रहेको हिमालय होटललाई विभागले कारबाही गरेको थियो । ती होटलहरूको किचेनमा म्याद गुज्रिएका खाद्यवस्तु भेटिएपछि अनुगमन गएको विभागको टोलीले ३/३ लाख रुपैयाँ जरिवाना गरेको थियो ।
यी केही उदाहरण मात्र हुन् । विभागले दिनहुँजसो बजार अनुगमन गरी कारबाही गर्ने गरेको छ ।
यसरी गत आर्थिक वर्ष २०८०/८१ मा विभागले ४ हजार २६९ वटा अनुगमन गरेर ९ सय ३५ वटा फर्मबाट जरिवानास्वरूप ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ राजस्व असुल गरेको छ । विभागका सूचना अधिकारी राकेश पाण्डेका अनुसार अनुगमनका क्रममा ८६ वटा फर्मबाट बरामद गरिएका १ करोड २६ लाख २ हजार ९२ रुपैयाँ बराबरको खाद्यान्न नष्ट गरिएको थियो ।
भारतमा स्टीम गरिएको चामल बिक्री वितरण गर्न निषेध गरिएको छ । तर, नेपालमा त्यही स्टीम गरिएको चामल आयात गरी निर्बाध बिक्री वितरण गर्ने गरिएको छ ।
विभागबाट अनुगमन गर्न जाने टोलीका एक अधिकृतले लोकान्तरसँग भने, 'हामीले बजार अनुगमन गर्दा धेरैजसो ठाउँमा भारतमा ब्यान्ड गरिएको स्टीम्ड चामल पार बोइल्ड भनेर बिक्री गर्ने गरेको अवस्थामा भेटिएर कारबाही गरेका छौं ।'

विगत २ /३ वर्षदेखि नेपालमा आफूखुशी बिक्रेताहरूले प्रतिबोरा २ सय रुपैयाँ मूल्य वृद्धि गरी बेच्ने ट्रेन्ड नै चलेको उनले बताए । खास गरेर नेपालका राइस मिल सञ्चालकहरूले अवैध चामलको कारोबार गर्ने गरेको पाइएको उनको कथन छ ।
'राइस मिलका सञ्चालकहरूले धान आयात गर्ने अनुमति पाएका हुन्छन्, तर धेरैजसोले ६० किलोको बोरामा चामल प्याक गरेर ल्याउने गरेको पाइएको छ,' उनले थपे, 'त्यसपछि नेपालमा २० देखि ३० केजीसम्मको बोरामा पुनः प्याक गरी बिक्री गर्छन् ।'
खाने तेलको बिक्री वितरणमा पनि व्यापक अनियमितता हुने गरेको खुलेको छ । धारा तेलले 'स्वस्थ मुटुका लागि धारा तेल' भनेर प्रचारप्रसार गर्ने गरेको छ । तर, त्यो तेलले मुटुलाई कसरी स्वस्थ राख्छ भन्ने कुरामा बिक्रेताले कुनै पनि प्रमाण पेश गर्न सकेको छैन । 'हामीले बजारबाट तीनपटक स्याम्पल उठाएर ल्याब परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाए पनि अहिलेसम्म रिपोर्ट आएको छैन,' उनले लोकान्तरसँग भने ।
बजारमा खाने तेलको फरक–फरक बिक्रीदर हुनुले पनि त्यसमा अराजकता देखिएको पुष्टि हुने उनले बताए ।
'नेपालमा खाने तेल बिक्री गर्ने सबै बिक्रेताले शुद्ध आयातित तोरीका लागि अनुमति लिने गरेका छन्,' उनले थपे, 'तर, बजारमा १६५ रुपैयाँदेखि ३४० रुपैयाँ प्रतिलिटरसम्म फरक–फरक ब्रान्डको नाममा तेल बिक्री भइरहेको छ । सबैले शुद्ध तोरी नै आयात गर्ने भनेपछि मूल्यमा पनि समानता हुनुपर्थ्यो, तर त्यस्तो छैन ।'
पतञ्जलीले त ३४० रुपैयाँ प्रतिलिटरमा खाने तेल बेचिरहेको छ । तेलको लागत विश्लेषण 'कस्ट एनालिसिस' के आधारमा गरिएको हो, त्यसको केही कारण खुलाइएको छैन ।
नेपालमा सबै तेल बिक्रेता कम्पनीले भारतबाट कन्टेनरमा तेल ल्याउने गर्छन् र नेपालमा रिफाइन मात्र गर्छन् भने के आधारमा कुनै तेल १६५ रुपैयाँ प्रतिलिटर र कुनै तेल ३४० रुपैयाँ प्रतिलिटरसम्ममा बिक्री भइरहेको छ, त्यसको कारण खुलाइएको हुँदैन ।
प्रायःजसोले पाल्मोलाइन मिसावट गरेर तेल बिक्री गर्ने गरेको पाइएको उनले खुलाए ।
खानेपानीको विषयमा पनि बजारमा व्यापक गडबडी भएको पाइएको छ । एक त मिनरल वाटर भनेर धेरैजसोले बजारमा त्यही प्रोसेस्ड खानेपानी बिक्री गरी ठगी गरिरहेका छन् । त्यसमा पनि १ लिटर बोतलको मूल्य १६ रुपैयाँ र १ जार पानीको मूल्य ४७ रुपैयाँ निर्धारण गरिएको छ ।
'तर, बजारमा पानीको बोतलमा २० रुपैयाँको लेबलिङ गरेर २५ देखि ३० रुपैयाँमा बेचिरहेका छन्,' उनले थपे, 'त्यसैगरी १५० रुपैयाँ प्रतिजार पनि बिक्री भइरहेको छ ।'
अरू कम्पनीको भन्दा आफ्नो जारको स्ट्यान्डर्ड फरक रहेको भन्दै ४७ रुपैयाँमा बिक्री हुनुपर्ने जार ६० रुपैयाँदेखि १५० रुपैयाँसम्ममा बिक्री भएको पाइएको उनले खुलाए ।
मोटर पार्ट्सको बिक्रीमा पनि उपभोक्ता ठगिने गरेका छन् । प्रायःजसो सबै मोटर पार्ट्स, स्पेयर पार्ट्समा अधिकतम बिक्री मूल्य 'एमआरपी' नै उल्लेख गरिएको हुँदैन ।
'हामीले मोटर पार्ट्स बिक्री गर्नेहरूको छाता संगठन नाडालाई पटक–पटक एमआरपी किन नलेख्ने गरिएको भनेर पत्राचार गरिसकेको भएपनि जवाफ आएको छैन,' विभागका अर्का एक अधिकृतले भने ।
कस्मेटिक आइटममा त झन् बढी कालोबजारी हुने गरेको ती अधिकारीले बताए । 'भारत र बढीजसो चीनबाट नेपालका विभिन्न आयातकर्ताहरूले विभिन्न कम्पनीका क्रिम, पाउडर, तेलसहितका कस्मेटिक आइटमको भ्रमपूर्ण विज्ञापन गरेर बिक्री गरिरहेको पाइएको छ,' उनले थपे, 'ती कस्मेटिक आइटमको ल्याब परीक्षण गर्न नेपालमा ल्याब नै छैन । त्यसकारण जस्तोसुकै भ्रमपूर्ण विज्ञापन गरेर ती आइटमहरू बिक्री भइरहेको छ ।'
जुत्ता/चप्पलमा नेपाल आत्मनिर्भर भइसकेको छ । तर, नाइक, एडिडास नामक कम्पनीको फरक–फरक पार्ट ल्याएर नेपालमै एसेम्बल गर्ने, पाइरेसी गर्ने धन्दा बढेको ती अधिकारीले बताए ।
'भृकुटीमण्डपमा बाह्रैमहिना जुत्ताचप्पलको मेला लागिरहेको हुन्छ । मेला खास अवसरमा खास–खास दिन मात्र लाग्नुपर्नेमा बाह्रै महिना मेला लाग्ने गरेको छ,' ती अधिकृतले थपे, 'त्यहाँ १५ जनाको सिन्डिकेट छ । आलैपालो उनीहरूले मेला लगाउँछन् । मेलामा राखिएका जुत्ता चप्पलमा एमआरपी उल्लेख भएको हुँदैन ।'

पेयपदार्थमा पनि उपभोक्ता ठगिन बाध्य छन् । विभागले विभिन्न होटल, रेस्टुरेन्ट, पार्टी प्यालेसबाट म्याद गुज्रिएका बीयरका बोतल बरामद गरेर जरिवाना गरेको छ ।
म्याद रहेको र म्याद गुज्रिएको बीयर एक साथ राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएको उनले बताए ।
त्यसैगरी इनर्जी ड्रिंकको नाममा पनि उपभोक्तालाई ठग्ने काम गरिएको छ । 'रेड बुलले ट्रु इनर्जी भन्ने भ्रमपूर्ण शब्द लेखेर उपभोक्तालाई ठग्ने काम गरिरहेकाले विभागले त्यसको अध्ययन गरिरहेको छ,' उनले थपे,'त्यसैगरी फ्लेभर ड्रिंकलाई नेपाल सरकारले ब्यान्ड गरेको छ । तर, र्यापरमा फरक कुरा लेखेर फ्लेभर ड्रिंक बिक्री भइरहेको पाइएको छ ।'
त्यसैगरी इलेक्ट्रोनिक्स सामानहरूको बिक्रीमा पनि मनपरि देखिएको छ ।
'तेस्रो मुलुकमा रिजेक्ट भएका पार्टसहरू ल्याएर नेपालमा स्टिकरिङ गरी डेल, सामसुङको भनेर नक्कली सामान बिक्री गर्ने गरिएको छ,' उनले थपे, '५० हजार रुपैयाँमा पाइने सोनी टेलिभिजन १ लाख ४७ हजार रुपैयाँमा बिक्री भएको हामीले अनुगमनका क्रममा पाएका थियौं ।'
५ देखि ७ हजार रुपैयाँसम्ममा पाइने डेस्कटपलाई न्युरोडमै १५ देखि २० हजार रुपैयाँमा बिक्री गर्ने गरिएको उनले बताए ।
त्यसैगरी एसेसरिजमा पनि व्यापक मनपरि भएको उनको कथन छ । 'मोबाइलको टेम्पर ग्लास, कभर, डाटा केबलसहितका एसेसरिजको भन्सार मूल्यांकन २५ रुपैयाँ हुन्छ, तर यहाँ २ सय रुपैयाँमा बेच्ने गरिएको छ,' उनले थपे, 'किलोग्राममा बोराकाबोरा किनेर ल्याउने ती आयातकर्ताहरूले २ सयदेखि ३ सय रुपैयाँसम्ममा बेचिरहेका छन् ।'
मोबाइलदेखि आइफोनसम्मको व्यापक कालोबजारी भइरहेको पाइएको छ । 'खिचापोखरीमा आइफोनका तीन मात्र अधिकृत बिक्रेता छन्, तर त्यहाँ दर्जनौं बिक्रेताहरूले आफू नै आधिकारिक बिक्रेता रहेको भन्दै बिलसहितको र बिलबिनाको आइफोन बेचिरहेका छन्,' उनले भने ।
विदेशी चुरोट समेत नेपालको मापदण्डविपरीत बिक्री भइरहेको छ । 'महिलाहरूले सेवन गर्ने ब्ल्याक चुरोटदेखि पुरुषहरूले सेवन गर्ने मार्लबोरोसहितका विदेशी चुरोटको बट्टामा ७५ प्रतिशत क्यान्सरजन्य सन्देशसहितको सामग्री राखेको पाइएको छैन,' उनले भने, 'बट्टाको ७५ प्रतिशत भागमा क्यान्सर हुने सन्देश र क्यान्सर भएको तस्वीर राख्नुपर्ने भनेर नेपाल सरकारले तोकेको मापदण्ड ती विदेशी चुरोट कम्पनीले पालना नगरे पनि बिक्रीवितरण भइरहेको छ ।'
हेर्नुहोस्, बजार अनुगमनको विवरण :

