११ असार २०८३, बिहीबार
संरक्षणभन्दा व्यवस्थापनमा चुनौती

बस्ती पस्न थाले बाघ– ६ वर्षमा लिए ६९ जनाको ज्यान

साउन २०, २०८१
काठमाडौं
बस्ती पस्न थाले बाघ– ६ वर्षमा लिए ६९ जनाको ज्यान
फाइल तस्वीरमा चिडियाखानामा रहेको बाघ

चितवनको मुख्य बजार क्षेत्र नारायणगढनजिकै आइबार बिहान पाटेबाघको आक्रमणबाट भरतपुर– २ बेलटाँडी बस्ने पशुपति श्रेष्ठ घाइते भए ।

नारायणी नदी किनारमा हिँडिरहेका श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको थियो । हात र मुखमा चोट लागेका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । 

बाघ नरकट झाडीमा लुकेको आशंकामा जिल्ला वन कार्यालय र भरतपुर प्रहरीको टोली खोजीमा जुटेका छन् । 

गत बिहीबार मात्रै कञ्चनपुरमा खेतमा धान गोड्दै गरेकी २० वर्षीया महिलालाई बाघले आक्रमण गरी मारेको थियो । दोधारा चाँदनी– २ की हिरा शाहलाई धान गोड्दै गरेका बेला बाघले आक्रमण गरेको थियो । 

स्थानीयले प्रहरीलाई खबर गरेपछि राष्ट्रिय निकुञ्जको टोली तथा वन कार्यालय र सुरक्षा निकायको टोलीले बाघलाई नियन्त्रणमा लिएको थियो ।

बाघले मानिसलाई आक्रमण गरेका यी दुईघटना उदाहरण मात्रै हुन् । मुलुकभरकै पछिल्लो ६ आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ (पछिल्लो १ सहित) पुगेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा मात्रै बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । 

त्यस्तै, आव ०७९/८० मा १२ जना, ०७८/७९ मा २१ जना, ०७७/७८ मा १३ जना, ०७६/७७ मा ८ जना र ०७५/७६ मा ४ जनाको मृत्यु भएको विभागले जनाएको छ । 

विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाका अनुसार नेपालमा पछिल्लोपटक २०२२ मा बाघ गणना गरिएको थियो । त्यतिबेला ३५५ वटा बाघ गणना गरिएको थियो । 

विभागका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१, चितवन राष्ट्रिय निकुञ्जमा १२८, बाँके राष्ट्रिय निकुञ्जमा २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ बाघ छन् । 

नेपालमा राष्ट्रियस्तरमा बाघको गणना १९९५ बाट शुरू भएको हो । त्यतिबेला राष्ट्रिय निकुञ्जमा जम्मा ९८ वटा बाघ गणना गरिएको थियो ।

‘सन् २०२२ मा बाघ गणना गर्दा ३५५ भए पनि अहिले त्यो संख्या बढ्दै गएको छ,’ डा. ढुंगानाले भने, ‘सरकारलाई बाघको संरक्षणभन्दा पनि व्यवस्थापनमा चुनौती देखिएको छ ।’ 

विभागले चितवनमा पर्यटन प्रवर्द्धनसँगै बाघको व्यवस्थापनका लागि वन मन्त्रालयमा एउटा प्रस्ताव पठाइसकेको छ । प्रस्तावमा मानिसमाथि आक्रमण गर्ने बाघको व्यवस्थापनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ठूलो चिडियाखाना बनाउने र त्यहाँ आउने आन्तरिक एवं बाह्य पर्यटकलाई देखाउँदा आम्दानीको स्रोत समेत बन्ने उल्लेख छ ।

विभागका महानिर्देशक ढुंगानाका मानिसमाथि आक्रमण गर्ने बाघको व्यवस्थापन सजिलो विषय नभएको बताउँछन् । खर्चसँगै संरक्षणमा पनि चुनौती छ । 

उनले केही विदेशी मुलुकमा यसरी बाघले लगातार मानिसमाथि आक्रमण गर्‍यो भने त्यसलाई मार्ने प्रचलन पनि रहेको बताए ।

‘केही विदेशी मुलुकमा यसरी वन्यजन्तुको आक्रमण निरन्तर हुँदा मार्ने चलन पनि रहेछ । हाम्रोमा त्यो चलन छैन, तर व्यवस्थापनमा चुनौती छ । यसका लागि राज्यले ठूलो रकम खर्चिनुपर्छ,’ उनले भने । 

वन्यजन्तु विज्ञ डा. नरेश सुवेदी जंगलभित्रै आहार र पानी भएपनि बाघ एकआपसमा जुध्दा घाइते बाघ आफ्नो क्षेत्रमा पकड राख्न भौंतारिँदै जंगलबाहिर निस्कने गरेको बताउँछन् ।

‘बाघको आहार मानिस हुँदै होइन, जंगलनजिक घर र खेतीपाती भएकाले सावधानी अपनाउनुपर्ने देखिन्छ,’ सुवेदीले लोकान्तरसँग भने, ‘बाघले सकेसम्म वन्यजन्तुलाई नै आक्रमण गर्छ । संख्या बढ्दा एकले अर्कोसँग जुधेर वा आहार तथा पानी नपाउँदा भौंतारिँदै जंगलबाट बाहिर निस्किने हुन् । त्यस्तो बेला मानिस भेट्यो भने आक्रमण गर्छ ।’

बाघको आक्रमणबाट कहिले कतिको मृत्यु ?

२०८०/०८१     – १०

२०७९/०८०    – १२

२०७८/०७९    – २१

२०७७/०७८    – १३

२०७६/०७७    – ८

२०७५/०७६    – ४

salt training

कमेन्ट गर्नुहोस्