२६ जेठ २०८३, मंगलबार

लगानी बढाऊ, महिला भलिबलमा नेपालको सम्भावना धेरै छ

साउन २४, २०८१
काठमाडौं
लगानी बढाऊ, महिला भलिबलमा नेपालको सम्भावना धेरै छ

काभा नेसन्स कप भलिबल प्रतियोगितामा देखाएको उत्कृष्ट प्रदर्शनले नेपालमा महिला भलिबलको सम्भावना उजागर भएको छ ।

सशक्त टोली भारतसँग ३–२ को सेटमा पराजित भएपनि नेपालको खेल सम्झनलायक थियो । उपाधि जित्न नसके पनि कलिला महिला खेलाडीले नेपालीहरूको मन पर्याप्त जितेका छन् । 

भारतजस्तो बलियो टीमलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्नु नै नेपालका लागि उपलब्धि र गौरवको विषय थियो । समग्र खेलकुद क्षेत्रमै नेपालको लगानी पर्याप्त छैन, त्यसैमाथि भलिबल उपेक्षामा पर्दै आइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीजस्ता विभागीय टोली र केही निजी क्षेत्रको पहलमा खुलेका क्लबले महिला भलिबललाई जोगाइरहेका छन् । 

विभागीय टोलीको भूमिका छँदैछ, नेपाली महिला भलिबल टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उपलब्धि हासिल गर्नु पछाडिका एक नायक कुमार राई हुन्, जसले न्यु डायमन्ड एकेडमीमार्फत महिला भलिबल खेलाडी उत्पादन गरिरहेका छन् ।

न्यु डायमन्डमा भलिबल सिकेका कलिला खेलाडीले काभामा भारत, श्रीलंका र इरानजस्ता देशका बलिया खेलाडीको सामना गरे । नेपालीहरूको मन जिते । 

भौगोलिक बनोटका कारण पनि भलिबल नेपालका लागि अनुकूल र सम्भावनाको खेल हो ।

पहाडी क्षेत्रमा फूटबल खेल्नका लागि पर्याप्त मैदानको अभाव छ । तर, भलिबलका लागि धेरैजसो सरकारी स्कूलका ग्राउन्ड नै पर्याप्त छन् । स्कूलदेखि नै विद्यार्थीलाई भलिबलतर्फ आकर्षित गर्न सकिन्छ । 

यतिधेरै सम्भावना भएको क्षेत्र भलिबलका लागि देशमा एउटा गतिलो कभर्ड हल नभएको खेलाडीको गुनासो रहने गरेको छ । 

आवश्यक नभएको ठाउँमा ठूल्ठूला भ्युटावर, सम्मेलन केन्द्र निर्माणमा राज्यको अर्बौं लगानी भइरहेको छ । तर, भलिबलका लागि गतिलो कभर्ड हल छैन । 

महिला भलिबलको सम्भावना हेरेर सरकारले छिट्टै कभर्ड हल निर्माणको थालनी गरोस् । महिला भलिबलको क्षेत्रमा गरेको लगानी खेर जाने छैन । 

salt training

कमेन्ट गर्नुहोस्