स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर रोगको उपचारका लागि ५ वटा प्रदेशमा सेवा विस्तार गर्ने भएको छ ।
क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेपछि थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।
उनका अनुसार विभिन्न क्यान्सर अस्पतालमार्फत अन्य प्रदेशमा सेवा विस्तार हुने छ ।
‘अब, भक्तपुर क्यान्सर अस्पतालमार्फत कोशी प्रदेशको विराटनगर र मधेश प्रदेशमा नारायणी अस्पताल वीरगन्ज, बीपी कोइराला मेमोरियल क्यान्सर भरतपुरमार्फत गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरसम्बन्धी परीक्षण तथा उपचार सेवा प्राप्त गर्न सकिनेछ,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेलगत्तै क्यान्सर रोगका बिरामीलाई केही राहत दिन सकिन्छ भनेर क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेपछि यस स्थितिसम्म आएको उनको भनाइ छ ।
मन्त्रालय सम्हालेको एक महिना पुग्दै गर्दा थप पाँच प्रदेशमा क्यान्सर सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेका उनले जनाएका छन् ।
आम नागरिकको स्वास्थ्यमा सहज पहुँच स्थापित गर्न दिलोज्यानले लाग्न आफूले निरन्तर प्रयास गर्ने उनले जानकारी दिएका छन् ।