०३ असार २०८३, बुधबार

हुम्लाको सिमीकोटमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा

साउन ३२, २०८१
काठमाडौं
हुम्लाको सिमीकोटमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा

हुम्लाको सिमीकोटबाट आजदेखि उच्च गतिको इन्टरनेट सेवा (फाइबर टू द होम–एफटीटीएच) प्रविधिबाट टेलिफोन तथा इन्टरनेटसहितको ‘एनटी फाइबर’ सेवा प्रारम्भ भएको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो सेवा शुभारम्भ गरेका हुन् । योसँगै नेपालका ७७ वटा जिल्लामा एफटीटीएचमार्फत इन्टरनेट सेवाको पहुँच पुगेको छ ।

भौगोलिक तथा पूर्वाधार विकासका हिसाबले दुर्गम मानिएको कर्णाली प्रदेशका १० दुर्गम जिल्लामध्ये हुम्लामा मात्रै एफटीटीएच सेवा सञ्चालन हुन बाँकी थियो । 

त्यस अवसरमा मन्त्री गुरुङले एफटीटीएचमार्फत इन्टरनेटको प्रारम्भसँगै देशलाई डिजिटलाइज बनाउने सरकारको उद्देश्यमा सघाउ पुगेको बताए ।

उनले आफू मन्त्री भएपछि सय दिनभित्र सम्पन्न गर्नुपर्ने कार्यसूचीअन्तर्गत हुम्लामा द्रुत गतिको इन्टरनेट सेवा प्रवाह गर्ने कार्य पूरा भएको जानकारी गराए ।

'मन्त्रालयको कार्यसूचीअनुसार हुम्लामा एफटीटीएच पुर्‍याउने लक्ष्य पूरा भएको छ । जनस्तरबाट बोल्दाबोल्दै फोन नसुनिने गुनासो आएपछि टावर राखेर सञ्चार अवरोध हटाउन मन्त्रालयले कार्ययोजना अघि सार्न थालेको हो । अब नेपालका ७७ जिल्लामा एफटीटीएचको पहुँच पुगेको छ,' मन्त्री गुरुङले भने ।

मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालको सबैभन्दा दुर्गम जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा प्रवाह हुनुले डिजिटल विकासको राम्रो सङ्केत गरेको बताइन् । उनले यसको पहुँचलाई चुस्त र सहज बनाउन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई सुझावसमेत दिइन् ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले थुप्रै चुनौतीको सामना गर्दै हुम्लाजस्तो भौगोलिक रूपले दुर्गम क्षेत्रमा टेलिकमले द्रुत गतिको इन्टरनेट सेवा प्रवाह गर्न सक्नु सरकारको महत्त्वपूर्ण उपलब्धि रहेको बताइन् ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत टेलिकमका कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेश साह, प्रादेशिक कार्यालय सुर्खेत प्रमुख सुष्मा गौतमलगायतले हुम्लामा इन्टरनेटको अवस्था र प्रगतिबारे जानकारी दिएका थिए ।​

salt training

कमेन्ट गर्नुहोस्