
खड्ग बस्नेत लुम्बिनी प्रदेशसभा बैठकमा शतप्रतिशत उपस्थित हुने सांसद हुन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका बस्नेत चारवटा अधिवेशनका ६१ वटा बैठकमै उपस्थित भएका छन् ।
आफूले सदनमा रहँदा सधैं जनताको आवाज उठाएको र सरकारमा रहँदा पनि उनीहरूकै पक्षमा काम गरेको उनी बताउँछन् । पश्चिम नवलपरासी क्षेत्र नम्बर २ (१)बाट निर्वाचित बस्नेतलाई पार्टीले टिकट नदिएपछि विद्रोहगरी चुनाव जितेका थिए । उनले नेकपा (माओवादी केन्द्र)बाट विद्रोह गरेका हुन् ।
बस्नेत यसअघि जोखबहादुर महरा नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा शहरी विकास मन्त्रीसमेत बनेका थिए । तीन महिना मन्त्री बन्दा आफूले अवसरलाई सदुपयोग गरेर काम गरेको उनको दाबी छ ।
‘सबै माननीयले सदनप्रति ध्यान दिनुपर्यो । सदनलाई बेवास्ता गर्ने होइन,’ उनी भन्छन्, ‘सदनलाई आफ्नो पहिलो जिम्मेवारी ठान्नुपर्यो । यो बीचमा मैले सदनलाई राम्रोसँग सदुपयोग गरेंजस्तो लाग्छ । तीन महिना मन्त्री हुँदा पनि अवसरलाई सदुपयोग गरेर काम गरेँ । नीतिगत कुरामा मेरो बढी जोड हुन्छ । पाँच वर्ष सदनप्रति मेरो पूर्ण जिम्मेवारी रहन्छ ।’
माओवादी केन्द्रका सांसद यामबहादुर नेपाली सार्की पनि प्रदेशसभा बैठकमा शतप्रतिशत उपस्थित हुने सांसदमा पर्छन् । गुल्मीका समानुपातिक सांसद नेपाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पनि हुन् ।
आफ्नो उत्साहजनक उपस्थितिलाई उनी जनताको पक्षमा काम गर्ने हुटहुटीको रूपमा अथ्र्याउँछन् । ‘जनताको मत लिएर सदनमा गएका प्रतिनिधिले सदनलाई बेवास्ता गर्न हुँदैन,’ उनी भन्छन्, ‘केही समय संसद् बुझ्न समय लागे पनि अहिले संसदीय अभ्यासमा रमाइरहेको छु ।’
सांसद नेपालीले दलित अधिकारका विषयलाई विशेष महत्व दिएर सदनमा आफ्ना आवाज राख्ने गरेका छन् । जनताका काम पनि उनी आफ्नो निजी सचिवमार्फत् गराउने गर्छन् । आफैँ पनि खटिन्छन् । ‘हामी यो पाँच वर्ष व्यक्तिगत काममा बिजी हुने होइन,’ नेपाली भन्छन्, ‘संसद्मा फोकस हुनुपर्छ । आफ्ना आवाज बुलन्द पार्नुपर्छ । कस्तो कानून बनाउने भनेर विभिन्न देशका अभ्यास पनि अध्ययन गर्दै आफ्नो धारणा बनाउनुपर्छ ।’
सदनमा शतप्रतिशत उपस्थित हुने अर्की सांसद हुन् नेकपा (एकीकृत समाजवादी)की भगवती अधिकारी । रूपन्देहीकी समानुपातिक सांसद रहेकी उनी अघिल्लो सरकारमा मन्त्री पनि थिइन् । प्रदेशसभाका ६१ वटा बैठकमध्ये उनी ६० वटा बैठकमा उपस्थित छिन् । भूलबस एउटा हाजिरी छुटेको बताउँदै उनले आफू शतप्रतिशत उपस्थित भएको दाबी गरिन् । ‘एउटा बैठकमा म अली ढिला पुगेँ’ अधिकारीले भनिन्, ‘त्यही दिन सदनमा बोल्ने पालो थियो । म, हाजिरी नगरीभित्र गएछुँ । निस्कँदा भुलेँ ।’
उनले सदनमा महिला, बालबालिका, स्वास्थ्य र शिक्षा क्षेत्रमा विषय उठाउने गर्छिन् । ‘म २/३ वटा बैठकबाहेक हरेकमा बोलेकी छु’ पार्टीबाट एक्ली सांसद भएपछि बोल्न पनि पालो पाइने रहेछ ।’
अधिकारीसहित महिला सांसदहरूले निर्वाचन क्षेत्र विकास कोषमा सांसदहरूबीच भएको विभेदविरुद्ध पनि आवाज उठाएका छन् । उनले क्षेत्र विकास कोषको आफ्नो सम्पूर्ण रकम शिक्षा क्षेत्रमा लगाएको बताइन् । बस्नेत, नेपाली र अधिकारी तीनजना सदनमा शतप्रतिशत उपस्थित हुने सांसद हुन् ।
संसदीय गतिविधिमा नियमित क्रियाशील अर्का सांसद हुन नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी । रूपन्देही क्षेत्र नम्बर ३ (२)बाट निर्वाचित उनले सदनको एउटा बैठक मात्र छुटाएका छन् । सदनमा समय पाउँदासम्म उनले पार्टीका र जनताका आवाज सशक्त रूपमा उठाउँदै आएका छन् ।
सदनलाई कसरी व्यवस्थित गर्ने, समसामयिक समस्या र विकास निर्माणजस्ता विषयमा उनी आफ्ना धारणा राख्ने गर्छन् । प्रतिपक्षमा हुँदा खबरदारी र पार्टी सरकारमा हुँदा सहयोग गर्नेगरी उनले सदनमा बोल्ने गरेका छन् । ‘समग्रमा मैलै आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेकोजस्तो लाग्छ,’ उनी भन्छन्, ‘बिरामी भएका कारण मात्रै एउटा बैठक छुटेको हो । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने मेरो मान्यता छ । सांसदहरूले पार्टी र संसदीय अभ्यासलाई मिलाएर लैजानुपर्छ । संसदलाई बेवास्ता गर्ने होइन ।’
त्यस्तै एमालेका समानुपातिक सांसद तथा ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री सीता शर्माको पनि संसदमा उपस्थितिको रेकर्ड राम्रो छ । उनले पनि संसदको एउटा मात्रै बैठक गुमाएकी छिन् । त्यो पनि खुट्टा ‘फ्याक्चर’ भएका कारण अनुपस्थित भएकी हुन् ।
शर्माले सदनमा आफूले बिताएको दुई वर्ष निकै उपयोगी भएको उनले बताइन् । दाङकी सांसद शर्माले सदनका उठेका हरेक विषय ध्यान दिएर सुन्ने गर्छिन् । आफूले समसामयिक राजनीति र नीति निर्माणका विषय सदनमा उठाउने गरेको उनले बताइन् ।
रूपन्देहीकी एमाले समानुपातिक सांसद शान्ति लोध पनि ६० वटा बैठकमा उपस्थित भएकी छिन् । उनले सदनमा तराई मूलका नागरिकका विषयमा सवाल उठाउने गरेकी छिन् । यसले गर्दा आफूले एक तहका जनताको विश्वास जितेको उनी बताउँछिन् ।
लोध जनताप्रति जवाफदेही हुनु आफ्नो जिम्मेवारी ठान्छिन् । ‘तराई–मधेशमा रहेको दाइजो प्रथा, दक्षिणी क्षेत्रमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि सदनमा उठाएको आवाजलाई लिएर जनताले मलाई धन्यवाद दिने गरेका छन्,’ उनले भनिन् । लोधले किसानलाई मल, बिउको समस्या, बाटोघाटो निर्माण र कानून कार्यान्वयनका विषय पनि सदनमा उठाउँदै आएकी छिन् ।
लुम्बिनी प्रदेशसभामा नियमित हाजिर हुने सांसदको संख्या थोरै छ । प्रदेशसभाको दोस्रो कार्यकालको चारवटा अधिवेशन सकिँदा धेरै सांसद ६० प्रतिशतभन्दा बढी बैठकमा गएका देखिँदैनन् । प्रदेशसभाबाट पाउने सबै सुविधा लिने तर, सदनप्रति जिम्मेवार नभएको भन्दै सांसदहरूप्रति जनताले प्रश्न उठाउँदै आएका छन् । तर, माथि उल्लेखित नाम अपवाद हुन् । जो नियमित सदनमा उपस्थित हुने गर्छन् । लुम्बिनी प्रदेशमा ५२ प्रत्यक्ष निर्वाचित र ३५ समानुपातिक गरी ८७ सांसद सदस्य छन् ।