
परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलो विदेश भ्रमणका लागि भारतलाई चुनेकी आरजु राणा देउवालाई भारतीय पक्षले उच्च प्राथमिकता दिएको देखिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै उच्च प्राथमिकता दिएर भेट गर्नु, भेटलगत्तै सामाजिक सञ्जालमा त्यसबारे चर्चा गर्नु, भेटवार्तामा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई पनि सामेल गर्नुले आरजुको भ्रमणलाई भारतले 'सिरियसली' लिएको चर्चा कूटनीतिक वृत्तमा चलेको छ ।
आरजु गत आइतबार भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेकी थिइन् । सोमबार उनले आफ्ना समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गरिन् भने त्यसलगत्तै मोदीसँग उनको शिष्टाचार भेट भयो ।
प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हालिरहेका मोदीमाथि यसअघिका कार्यकालमा छिमेकी देशहरूलाई उपेक्षा गरेको आरोप लागिरहेका बेला अहिले नेपाललाई दिएको उच्च प्राथमिकताले त्यसलाई खण्डन गरेको छ ।
दिल्लीस्थित हैदरावाद हाउसमा भएको भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई स्वागत गर्न पाउँदा खुशी लाग्यो । भारत र नेपालबीच निकट सभ्यतागत सम्बन्ध र प्रगतिशील तथा बहुपक्षीय साझेदारी रहेको छ । हाम्रो विकास साझेदारीमा निरन्तर गति कायम राख्न म उत्साहित छु ।'

यसअघि नेपालका परराष्ट्रमन्त्रीहरूसँगको भेटलगत्तै मोदीले सामाजिक सञ्जालमा यसरी विरलै प्रतिक्रिया जनाउने गर्थे । भेटवार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्रीसँगै कार्यबाहक राजदूत सुरेन्द्र थापा, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख भृगु ढुंगाना र नेपाली राजदूतावासकी मिनिस्टर काउन्सिलर द्रुपदा सापकोटा पनि सहभागी थिए ।
भारतीय पक्षबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिस्री र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।
परराष्ट्र मामिलाका जानकार अरुण कुमार सुवेदीले यसअघि हुने परराष्ट्र मन्त्रीहरूको भ्रमणमा मिडियाबाजी र राजनीति बढी हुने गरेकोमा यसपालि कूटनीतिक विषयहरूले प्राथमिकता पाएको टिप्पणी गरे ।
'अहिलेको भ्रमण यसअघिका भ्रमणहरूभन्दा बढी कूटनीतिक देखियो,' सुवेदीले भने, 'मोदीको बडी ल्याङ्ग्वेजले पनि नेपाल प्राथमिकतामा रहेको पुष्टि गरेको छ ।'
प्रधानमन्त्री मोदीसँगको भेटअघि आरजु र उनका समकक्षी जयशंकरबीच भेट भएको थियो ।
भेटबारे जानकारी दिँदै जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, 'छिमेकी पहिलो नीति र जनस्तरको विशेष सांस्कृतिक सम्बन्धले हाम्रो सम्बन्धलाई अझ अघि बढाइरहेको छ ।'
सुवेदीले नेपालको सरकार बलियो रहेको र भारतले त्यहीअनुसार नेपाललाई हेरेको परिणाम परराष्ट्रमन्त्रीको भ्रमणमा देखिएको बताए ।
'भारतले परराष्ट्रमन्त्रीको भ्रमणलाई यति प्राथमिकता दिनुको पछाडि कांग्रेस र एमाले मिलेर बनेको बलियो सरकार पनि कारण हो,' सुवेदीले भने, 'नेपालको सरकार एक/दुई जनाको भेस्टेड इन्ट्रेस्टले तलमाथि हुँदैन भन्ने मोदीले बुझेका छन् ।'
सोमबार दिवाभोजसहित भारतीय समकक्षी जयशंकरसँगको भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्धका सबै पक्षको समीक्षा भएको भ्रमण टोलीका एक सदस्यले लोकान्तरलाई बताए ।
'ऊर्जा, कनेक्टिभिटी, व्यापार तथा पारवहन, एयर रुट, खेलकुद, बाढी तथा डुबान, पञ्चेश्वर परियोजनाजस्ता धेरै पक्षमा छलफल भयो,' उनले भने, 'दुई देशबीच बनेका संयन्त्रलाई थप सक्रिय बनाउन दुवै सहमत हुनुभएको छ । भारतीय पक्षले दिएको प्राथमिकताले अब नेपाल-भारत सम्बन्ध थप नयाँ उचाइमा जानेमा मन्त्रीज्यू विश्वस्त हुनुहुन्छ ।'
भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले पनि भारतले दिएको प्राथमिकता नेपालका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिएका छन् ।
लोकान्तरसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, 'यसका पछाडि धेरै कारणहरू हुन सक्छन् । पहिलो त, मोदीलाई नेपालसँग सम्बन्ध बिगारेको आरोप पनि लागेको छ । दोस्रो, छिमेकी पहिलो नीतिलाई मोदीले तेस्रो कार्यकालमा बढी नै प्राथमिकतामा राखेका छन् ।'
नेपालले गाम्भीर्यता र चातुर्यता देखाउने हो भने भारतसँगको सम्बन्धबाट धेरै लाभ हासिल गर्न सक्ने उपाध्यायको भनाइ छ । भारतले देखाएको अग्रसरता उसको आफ्नै फाइदाका लागि भए पनि नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ ।
आरजुको भ्रमणकै क्रममा भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत खरिदका लागि स्वीकृति दिएको छ ।
विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्समा भनेका छन्, 'हामीले ऊर्जा, व्यापार, यातायात र पूर्वाधार विकाससहित नेपाल-भारतको बहुआयामिक सहकार्यबारे छलफल गर्यौं । नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएकोमा खुसी लागेको छ, जुन एक नयाँ उपलब्धि हो ।'
पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुवै देशमा नयाँ सरकार बनेको र दुवैले एक अर्काको प्राथमिकतालाई बुझ्न र त्यहीअनुसार सम्बन्ध अघि बढाउन खोजेको टिप्पणी गरे ।
'नेपालमा समीकरण परिवर्तन भएर नयाँ सरकार गठन भएको र भारतमा निर्वाचनमार्फत नयाँ सरकार आएको अवस्था छ,' ज्ञवालीले भने, 'दुवै एकअर्काका प्राथमिकता बुझेर त्यहीअनुसार सम्बन्ध अघि बढाउने रणनीतिमा छन् ।'
परराष्ट्रमन्त्रीको भ्रमणलाई भारतले महत्त्व दिएको भए पनि परिणाम आउन केही समय लाग्ने उनले बताए ।
'अहिले भारतले नेपाललाई महत्त्व दिएकै हो, त्यसको परिणाम कस्तो हुन्छ भन्ने हेर्न बाँकी छ । यसपछिका उच्चस्तरीय भ्रमण कसरी आदानप्रदान हुन्छन्, हामीले राखेका विषयमा उनीहरूले के तयारी गर्छन् र कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा आगामी दिनहरूले देखाउलान्,' लोकान्तरसँगको संक्षिप्त कुराकानीमा ज्ञवालीले भने ।
५ दिने भ्रमणका लागि दिल्लीमा रहेकी आरजुले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी छन् । उनी यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।