२९ असार २०८३, सोमबार
२२ वर्षीय युवकको ‘काम–सीप’ कम्पनी

अविरलको ‘जब एजेन्सी’:  जहाँ काम खोज्नेले होइन जनशक्ति चाहिनेले शुल्क तिर्नुपर्छ

भदौ ८, २०८१
कास्की
अविरलको ‘जब एजेन्सी’:  जहाँ काम खोज्नेले होइन जनशक्ति चाहिनेले शुल्क तिर्नुपर्छ

काठमाडौंमा परीक्षा दिएर पोखरा आएका अविरल पौडेल चिनेजानेका दाइको अफिसमा गइरहन्थे । बिदामा घर फर्किएका अविरल ती दाइको अफिस ‘ऊर्जा टेक’मा व्यस्त रहन थाले । बिदा मनाउन पोखरा आएका उनी आईटी अफिस ऊर्जा टेकमा रमाउँदै गए । अफिसमा कामकाजसँगै हुने भेटघाट र गफगाफमा नयाँ–नयाँ सोच–विचार आउँथे । त्यतिन्जेलसम्म अविरलले सोही अफिसमा काम शुरू गरिसकेका थिए । पछि, उनले ऊर्जा ल्याब (ऊर्जा टेकको अर्को कम्पनी)मा व्यवस्थापक (म्यानेजर)को जिम्मेवारी सम्हाल्न थाले । 

भलाकुसारीमा हुने व्यवसाय र स्टार्टअपका विचारलाई अविरलले नयाँ आकार दिए । उनका शब्दमा भन्दा ‘जो नयाँ नै त होइन । तर, पोखराको बजारमा पुरानो पनि थिएन । जो इन्टर्नसिप ब्रिजिङ थियो ।’ 

यही सोच बनाएर सन् २०२१ मा अविरलले ‘काम–सीप’ खोले । स्टार्टअप शुरू गर्दा अविरललाई असहज भएन । ‘ऊर्जा टेक’का विनायक पौडेलले उनलाई शुरूवातबाटै साथ दिए । विनायकको साथका कारण अविरलले अफिस कता र कुन ठाउँ राख्ने तनाब लिनु परेन । ऊर्जा टेकको अफिसबाट नै ‘काम–सीप’को काम शुरूवात भयो । विस्तारै अविरल दुईतिर व्यस्त हुने थाले । यता ऊर्जा ल्याबमा म्यानेजरको जिम्मेवारी सम्हालिरहेका थिए भने ऊर्जा टेकमा काम । यससँगै उनले स्नातक तहको पढाइ पोखराबाटै अघि बढाए । सूचना प्रविधि (आईटी) विषय लिएर पोखरा विश्वविद्यालयमा भर्ना भए । 

शुरूवातका केही महिनापछि अविरललाई लाग्यो इन्टर्नसिप ब्रिजिङमा मात्र अड्किनु हुँदैन । उनले यसमा खासै लाभ पनि देखेननइन्टर्नसिपभन्दा रोजगारीका अवसरतिर उनको ध्यान गयो । यसपछि अविरलले रोजगारदाता र कर्मचारीबीच पुलको काम गरेर नयाँ तरिकाबाट काम गर्ने बिचार गरे । अनि खोले ‘काम–सीप’ । 

त्यो बखत बजारमा ‘जब एजेन्सी’ नभएका होइनन्, तर ‘काम–सीप’ले फरक रूपमा काम गर्दै आएको छ । यसले रोजगारी होइन कम्पनीलाई दक्ष जनशक्ति खोजिदिने काम गर्छ । ‘काम गर्दागर्दै इन्टर्नसिप भन्दाबढी जब प्लेसमेन्टतिर गयौँ,’ उनले भने, ‘काम–सीप जब सेन्टर होइन । यसले रोजगारी खोज्दैन । तर पनि यसले रोजगारी दिलाउन सहयोग गर्छ ।’ 

कम्पनी र काम खोज्नेबीच पुलको काम गरिरहेका अविरल आफ्नो कम्पनीलाई ‘इम्प्लोइमेन्ट एजेन्सी’ भन्न रुचाउँछन् । ऊर्जा ल्याब आईटी कम्पनी र ऊर्जा टेक आईटी इन्टिच्युट हो । उनले पढाइ पनि सोहीअनुसार रोजे । अहिले उनी स्नातक तह अन्तिम वर्षमा अध्ययनरत छन् । 

null

‘काम–सीप’ सञ्चालनको शुरूवाती समयमा अविरलले स–साना झन्झटिला काममा अल्झिनुपरेन । अफिसका लागि नयाँ स्थान आवश्यक नपर्दा सहज भएको थियो । यसले एक हिसाबले बिजनेसमा खर्च बचेको थियो । अफिसका लागि गर्नुपर्ने लगानी जोगिए पनि उनले विभिन्न चुनौतीको सामना भने गर्नुपर्यो । यसका बीच ‘काम–सीप’ पछिल्ला वर्षहरूमा ३०० भन्दा बढी जनशक्तिलाई रोजगार दातासम्म पुर्याउन सफल भएको छ । तर, पनि अविरल यसलाई अपुग नै ठान्छन् । किनकि उनले यसलाई ठूलो अवसरको रूपमा लिएका छन् । ‘यो काममा च्यालेन्ज धेरै नै छ । वाह ! भनेर बबाल काम भने गर्न सकिएको छैन । तर, मार्केट रिसर्च र मार्केटको स्ट्याब्लिटी कस्तो छ बुझ्ने मौका भने पाएँ,’ उनले सुनाए । 

पछिल्लो समय बजारमा जब एजेन्सी धेरै खुल्न थालेका छन् । जब एजेन्सीहरू रोजगारी खोजिदिनेभन्दा पनि जागिर लगाइदिने आस देखाएर कमाउने माध्यम बनेको सरोकारवालाहरूको गुनासो छ । यस्तोमा ‘काम–सीप’ले भने फरक काम गरिरहेको छ । यसले काम खोजिरहेका जनशक्तिसँग कुनै पनि बाहानामा पैसा (शुल्क) लिँदैन । अविरल यसमा प्रष्ट छन् । जनशक्ति चाहिनेले रकम तिर्नुपर्छ काम खोज्नेले होइन । 

‘काम गर्न पैसा तिर्न जरुरी छ भन्ने मलाई लाग्दैन । जनशक्ति कम्पनीलाई चाहिएकाले उसैले शुल्क तिरेर जनशक्ति खोज्ने हो । कम्पनीले तिर्नुपर्छ भन्ने हाम्रो नारा हो,’ उनले प्रष्ट्याए, ‘तर अहिले विकृति आइरहेको छ । कतिपय जब एजेन्सीले दुवै तर्फबाट लिने गरेको पाएका छौँ । हामी भने कहिले पनि काम खोज्नेबाट पैसा लिँदैनौँ ।’ 

योबाहेक ‘काम–सीप’ले बेरोजगारलाई तालिमसमेत उपलब्ध गराउँछ । तालिम भने शूल्क तिरेर लिनुपर्छ । ‘काम–सीप चलाइरहँदा अविरलले भोग्नुपरेको अर्को चुनौती हो– दक्ष जनशक्तिको आवेदन नपाउनु । ‘रोजगारीको अवसर छ तर, रोजगार अनुसारको आवेदन हुँदैन । कतिपय अवस्थामा उनीहरूको सही मूल्यांकन हुँदैन । यसले गर्दा दक्ष जनशक्ति पलायन हुँदैछन्,’ उनले गुनासो गरे । 

सरकारले दक्ष जनशक्तिको औचित्य बुझेर युवा पुस्तालाई अपनत्व महसुस गराउन नसकेमा अविरल दुःखी छन् । कहिलेकाहीँ सरकारी काम धेरै झन्झटिला हुन्छन् । यसले गर्दा उनी पनि बेला–बेला थाक्छन् । फेरि सम्हालिन्छन् । अनि अविरल ‘काम–सीप’मार्फत् भविष्यको योजना बनाइरहेका छन् । २२ वर्षीय युवाको कम्पनीः जसले पोखरामा अन्य कम्पनीलाई जनशक्ति खोज्न सहयोग गरिरहेको छ । त्यही कम्पनी ‘काम–सीप’लाई थप अगाडि लैजाने सोचका साथ अघि बढिरहेका छन् अविरल ।

salt training

कमेन्ट गर्नुहोस्