३१ असार २०८३, बुधबार
नेकपा एसमा नेतृत्व चयन

रामकुमारी झाँक्री– विद्रोहमा माधव नेपाललाई डोहोर्‍याएको क्षणदेखि अहिलेको पराजयसम्म

भदौ १२, २०८१
काठमाडौं
रामकुमारी झाँक्री– विद्रोहमा माधव नेपाललाई डोहोर्‍याएको क्षणदेखि अहिलेको पराजयसम्म

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा होस् वा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन गर्दा, पार्टीको अग्रमोर्चामा रहेर साथ दिएकी रामकुमारी झाँक्री अन्ततः उपाध्यक्षमा पराजित भएकी छिन् । 

महिला उपाध्यक्षमा प्रतिस्पर्धी जयन्ती राई १९९ मत ल्याएर विजयी हुँदा प्रभावशाली एवं चर्चित नेत्री झाँक्री ११२ मत प्राप्त गर्दै पराजित हुन पुगिन् । 

नेकपा एस गठन गर्ने क्रममा २०७८ भदौ २ गते अरू प्रभावशाली नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले साथ दिएनन् । तर, झाँक्रीले माधव नेपाललाई डोहोर्‍याएर निर्वाचन आयोगको कार्यालयसम्मै पुर्‍याएकी थिइन् ।

झाँक्रीले युवा पुस्ताको रूपमा दरिलो साथ दिने सन्देश प्रवाह गरेकी थिइन् । अरू युवा र प्रभावशाली नेताले साथ नदिए पनि म छु नि भन्दै झाँक्रीले नेपालको नाडी समाएर निर्वाचन आयोगको कार्यालयसम्मै तानेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

null

तर, पार्टी बनेको तीन वर्षपछि भएको महाधिवेशनमा तिनै झाँक्री पराजित हुन पुगिन् । अप्ठ्योरामा अध्यक्ष माधव नेपाललाई साथ दिए पनि उनीसँग बिग्रँदै गएको सम्बन्धको परिणामस्वरूप झाँक्री पराजित हुने स्थिति बनेको हो ।

असार २० गते भएको महाधिवेशनमा माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिव चयन भएका थिए । अन्य १८ पदाधिकारी र पनि सर्वसम्मत चयन गर्ने गरी यिनै ३ पदाधिकारी (सचिवालय)लाई जिम्मा दिइयो । 

असार २१ गते भोलिपल्टै पदाधिकारीको सूची सार्वजनिक गर्ने भनियो । यसै क्रममा झाँक्रीलाई उपाध्यक्ष बनाउने आन्तरिक सहमति भएको नेताहरूले नै दाबी गरेका थिए । तर, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेको नाममा मात्रै मंगलबार सर्वसम्मति भयो । अन्य १७ पदाधिकारीका लागि निर्वाचन हुँदा झाँक्री पराजित बन्न पुगिन् ।

‘पहिले आफू सुरक्षित नभएसम्म चुनाव हुन दिएनन् । आफू सुरक्षित भएपछि अरू पदाधिकारी पनि सर्वसम्मत गर्छौं, भोलि नै सूची सार्वजनिक गर्छौं भने,’ नेकपा एसका एक नेता भन्छन्, ‘तर, सर्वसम्मति गर्ने नाममा कोसँग सल्लाह भयो ? अनि सुरक्षित भएपछि नाम मात्रैको चुनाव गरियो र परिणाम आफ्नो पक्षमा पारियो ।’

आफ्नो राजनीतिक भविष्यको लेखाजोखा नगरी भएको कुरा बोल्ने नेताका रूपमा झाँक्री परिचित छिन् । आलोचनात्मक चेत भएकी झाँक्रीलाई परम्परागत ढर्रामा चल्ने पार्टी प्रणालीले विश्वास नगरेको रूपमा यसपटकको चुनावी नतिजालाई लिइएको नेताहरू बताउँछन् । 

‘अरूले साथ नदिँदा पनि झाँक्रीले खुट्टा दह्रो टेक्न अध्यक्षलाई साथ दिनुभएको थियो । यसको पुरस्कार स्वरूप सचिव र मन्त्री पद पनि पाउनुभएको थियो । तर, दुवैले सम्बन्धलाई सौहार्द बनाएर लान सकेनन्,’ नेकपा एसका एक नेता भन्छन्, ‘यसअघि नै सम्बन्ध बिग्रिसकेको थियो । तर, यसपटक अध्यक्षले उपाध्यक्षको उम्मेदवारका रूपमा अगाडि सारे पनि पराजित हुनुभयो ।’ 

नेपालले गलत सन्देश नजाओस् भनेर झाँक्रीको नाम आफ्नो सूचीमा हाले पनि नेपाल समर्थित प्रतिनिधिको भोट उनले पाउन नसकेको बताइन्छ । भारी अन्तरको पराजयले पनि त्यही कुरा पुष्टि गरेको छ । १८ जनामध्ये १३ जना पदाधिकारी नेपाल पक्षबाटै जिते, तर झाँक्री जित्न सकिनन् । यसअघि पनि उपाध्यक्ष रहेकी जयन्ती राईलाई झलनाथ खनाल र घनश्याम भुसालले सहयोग गरेका थिए । 

पार्टीभित्रैबाट एमालेमा जान सम्पर्क बढाएको भन्दै हल्ला फैलाइएपछि पनि झाँक्रीलाई यसपटक चुनाव जित्न कठिन भएको एक नेता बताउँछन् । 

‘नेपालले वास्ता नगर्ने र झाँक्रीको पनि एकपटक असन्तुष्ट बन्ने बानीले उहाँलाई नै हानी गर्‍यो,’ ती नेता भन्छन्, ‘पार्टीले प्रस्ट भूमिका नदिने, उहाँ पनि खोजेर सक्रिय नहुनेजस्ता निष्क्रियता पछिल्लो झण्डै २ वर्षयता देखियो । यही बीचमा उहाँ एमालेमा जाँदैहुनुहुन्छ भन्ने हल्ला पनि फैलाइयो, त्यसले उहाँलाई यसपटक चुनाव जित्न गाह्रो परेको हो ।’

भन्नलाई चुनाव भनिए पनि निर्वाचन प्रक्रिया नाम मात्रैको भएको ती सदस्य बताउँछन् । 

‘एकातिर ढिलागरी चुनाव गर्ने, गुटबन्दी गर्ने अनि निर्वाचनको प्रक्रिया पनि मनलाग्दीरूपमा अगाडि बढाउने प्रयास भयो,’ ती नेता भन्छन्, ‘भन्नलाई निर्वाचनबाट पदाधिकारी चयन गरियो भन्ने छ, तर प्रक्रिया आफ्नै गुट र समूहका नेतालाई जिताउनतर्फ केन्द्रित थियो ।’

उम्मेदवारलाई समेत बैठकमा सहभागी नगराई आफ्नै हिसाबले भोटिङ प्रक्रिया अगाडि बढाइएको ती नेता बताउँछन् । २२ जना केन्द्रीय सदस्यले भोट नै नहालेको एक नेताले जानकारी दिए । झाँक्रीमात्रै होइन, जीवनराम श्रेष्ठ, रामचन्द्र झासहितका अन्य प्रभावशाली नेता पनि पराजित हुन पुगेका छन् । पार्टीमा चरम गुटबन्दी हुँदा पराजित हुनुपरेको उनीहरूको भनाइ छ ।  

विद्रोह र आलोचनात्मक चेतकी पर्याय झाँक्री

अहिले मात्रै होइन, झाँक्री आलोचनात्मक चेतका लागि जानिँदै आएकी नेत्री हुन् । एमालेबाट माले विभाजित हुँदा होस्, या महाकाली सन्धिमा राष्ट्रघात भएको भन्नेमा किन नहोस्, झाँक्री फरक कित्तामा उभिइन् ।

वामदेवको मालेबाट फर्किए पनि पार्टीमा झाँक्रीलाई कुनै अवसर मिलेको थिएन । तर, आफ्नो पहिचानलाई उनले यत्तिकै छाडिनन् । २०६२/६३ सालमा भएको जनआन्दोलनमा झाँक्री ‘पोस्टर गर्ल’का रूपमा उदाइन् । 

तत्कालीन महासचिव माधव नेपालले भूमिका नदिए पनि उनले हिम्मत हारिनन् । अर्का नेता झलनाथ खनाल पक्षको साथ मिलेपछि २०६५ सालमा भएको अनेरास्ववियुको महाधिवेशनबाट पहिलो महिला अध्यक्ष बनेरै छाडिन् । 

प्रतिस्पर्धामा माधव समर्थित गोकुल घर्तीलाई पराजित गरेर अध्यक्ष बनेपछि झाँक्रीले पार्टी राजनीतिका लागि गोरेटो कोरेकी थिइन् । 

आफूलाई मन नपरेका कुरा खुलस्त बोलिहाल्ने स्वभाव झाँक्रीको छ । नेकपाको विवाद उत्कर्षमा पुग्दा ‘बोल्न पाइन्छ’ भन्दै मुखमा टेप लगाउनेदेखि तत्कालीन राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीविरुद्ध खरो टिप्पणी गर्नेसम्मका साहस झाँक्रीले देखाइन् । खासगरी २०७७ पुसमा गरिएको संसद् विघटनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको मिलोमतो भएको खुला आरोप झाँक्रीले लगाएकी थिइन् ।

यो कदमविरुद्ध प्रदर्शनीमार्गमा मुखमा लगाएको कालो क्रस टेप फाल्दै  ‘बोल्न पाइन्छ’ भनेर भाषण गर्दा उनी थप चर्चामा आइन् । 

मन्त्रीबाट अपमानजनक बहिर्गमन

केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापना भयो । बहुमत पुर्‍याएर दाबी गरेपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने परमादेश पनि जारी भयो । यसै परमादेशपछि बनेको देउवा नेतृत्वको सरकारमा झाँक्री २०७८ असोज २२ गते शहरी विकास मन्त्री भइन् । अप्ठ्यारोमा साथ दिएकै आधारमा पार्टी सचिव बनाएलगत्तै झाँक्रीलाई मन्त्रीको जिम्मेवारीमा पनि अध्यक्ष नेपालले ल्याएका थिए । 

संसद् विघटनदेखि पार्टी विभाजनको हरेक कदममा साथ दिएपछि झाँक्रीलाई पार्टीले प्रभावशाली मन्त्रालय पनि दियो । तर, मन्त्रीबाट फिर्ता बोलाउन अध्यक्षले गरेको तयारीको प्रतिवाद गरेपछि यी दुईबीचको सम्बन्ध बिग्रियो । 

पहिलोपटक मन्त्री बनेकी झाँक्री केही सुधारका काम गर्दै चर्चामा आएकी थिइन् । एमालेबाट विभाजित भएर बनेको पार्टीलाई थप जोखिम नहोस् भनेर मन्त्री परिवर्तन गर्ने तयारी गरियो । मन्त्री हटाउने भन्दै सूची बालुवाटारमा पठाएको समेत बताइयो । यसबाट झाँक्री असन्तुष्ट बन्न पुगिन् । २०७९ असार २२ गते नेकपा एसको सचिवालयले झाँक्रीसहितका मन्त्रीलाई हटाउने निर्णय गर्यो । पार्टीमा पर्याप्त छलफल र जानकारीविना नै हटाउने निर्णय गरेर आफूहरूलाई अपमान गरेको दाबी झाँक्रीको थियो ।

null 

यसैले मन्त्री हुँदा  हाँसोका साथ सिंहदरबार छिरेकी झाँक्री रुँदैरुँदै बाहिरिएकी थिइन् । त्यसपछि पार्टीले २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेस र माओवादीको समर्थनमा गुल्मीबाट एमालेका गोकर्ण विष्टसँग चुनाव लडायो । तर, उनी पराजित भइन् । देशभरमा नेकपा एसले १० सीट जित्दा न्यूनतम् ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन । त्यसयता झाँक्री पार्टीमै रहे पनि गुमनामजस्तै भइरहिन् ।

पार्टीको पदाधिकारीमा पराजित भएपछि झाँक्रीलाई समाजवादीमा सक्रिय भएर फेरि राजनीतिक जीवन अगाडि बढाउन सकस पर्ने नेताहरू बताउँछन् । 

 

salt training

कमेन्ट गर्नुहोस्