
नेपाली बैंकहरूले २९ अर्बभन्दा बढी रकम विदेशी मुलुकमा जम्मा गरेर राखेका छन् ।
आर्थिक वर्ष २०८०/८१ भरि नेपालका बैंकहरूले २९ अर्ब २ करोड ६१ लाख रुपैयाँ विदेशी बैंकहरूमा जम्मा गरेका हुन् ।
वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकले मात्रै विदेशी मुलुकमा निक्षेप जम्मा गरेर राख्ने गरेका छन् ।
त्यस बाहेकका फाइनान्स कम्पनीहरूलाई भने विदेशी मुलुकमा पैसा राख्न राष्ट्र बैंकले अनुमति दिएको छैन ।
बैंकहरूले डलरका लागि अमेरिकामा पैसा राख्ने गर्दछन् भने युरोका लागि युरोपियन मुलुकमा पैसा राख्दै आएका छन् ।
यसका साथै एसियाली मुलुकहरूमा पनि नेपाली बैंकहरूले पैसा जम्मा गर्दै आएका छन् । एसियाली मुलुकहरूमा राखिएको पैसा पनि युरोप अमेरिकामा जम्मा गर्ने जानकारहरू बताउँछन् ।
नेपाली बैंकहरूले विदेशी मुद्राको एक्सचेन्ज रिस्कलाई म्यानेज गर्न विदेशी बैंहरूमा पैसा राख्ने गरेको पूर्वबैंकर पशुराम कुँवर बताउँछन् ।
उनी भन्छन्, ‘बैंकहरूले विदेशी मुलुकहरूमा पैसा राख्ने भनेको विदेशी मुद्रामा हुने हेरफेरको जोखिमलाई व्यवस्थापन गर्न हो । एलसीका लागि पनि बैंकहरूले व्यापार हुने राष्ट्रमा पैसा राख्ने गर्दछन् ।’
विदेशी मुलुकहरूमा पैसा राख्दा ब्याज अलि धेरै आउने गर्दछ । त्यसैले पनि बैंकहरूले विदेशी मुलुकमा पैसा राख्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकले बैंकहरूलाई क्यापिटलको ३० प्रतिशतभन्दा बढी विदेशमा राख्न अनुमति दिएको छैन । जसमा बैंकहरूले विदेशी मुद्राको दायित्वमा ३० प्रतिशत छुटाएर राख्नुपर्ने हुन्छ ।
तीन वर्षअघि आर्थिक वर्ष २०७७/७८ मा नेपालका बैंकहरूले ३९ अर्ब ४१ करोड ८९ लाख रुपैयाँ विदेशी बैंकहरूमा राखेका थिए । आर्थिक वर्ष २०७८/७९ मा बैंकहरूले ४६ अर्ब ३९ करोड ७१ लाख रुपैयाँ विदेशी मुलुकहरूमा राखेका थिए ।
आर्थिक वर्ष २०७९/८० मा नेपाली बैंकहरूले ४६ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ विदेशका विभिन्न मुलुकमा राखेका थिए । गत आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब २ करोड ७८ लाख रुपैयाँ विदेशी बैंकहरूमा राखिएको छ ।
कुन बैंकले कति रुपैयाँ विदेशमा जम्मा गरेका छन् ?
गत आर्थिक वर्षभरि सबैभन्दा बढी ग्लोबल आईएमई बैंक र सबैभन्दा कम कृषि विकास बैंकले विदेशमा रकम जम्मा गरेका छन् ।
वाणिज्य बैंकहरूमा नबिल बैंकले १ अर्ब २० करोड ३६ लाख रुपैयाँ विदेशी मुलुकमा राखेको छ । नेपाल बैंक लिमिटेडले १ अर्ब ३६ करोड ७८ लाख रुपैयाँ विदेशमा राखेको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ८२ करोड ५० लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ५ करोड ५९ लाख रुपैयाँ विदेशी मुलुकमा जम्मा गरेर राखेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले २३ करोड ६६ लाख रुपैयाँ मात्रै राखेको देखिएको छ भने हिमालयन बैंकले २ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ विदेशी बैंकमा राखेको छ ।
नेपाल एसबीआई बैंकको विदेशमा पैसा कम देखिएको छ । नेपाल एसबीआई बैंकले ९० करोड रुपैयाँ मात्रै विदेशमा राखेको छ ।
एभरेस्ट बैंक लिमिटेडले २ अर्ब १७ करोड ७० लाख रुपैयाँ, एनआईसी एसिया बैंकले १ अर्ब १४ करोड ३३ लाख र माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब २४ करोड ४३ लाख रुपैयाँ विदेशमा जम्मा गरेका छन् ।
त्यसैगरी, कुमारी बैंक लिमिटेडले १ अर्ब १ करोड ८० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब २१ करोड ३४ लाख रुपैयाँ, कृषि विकास बैंकले १३ करोड ९३ लाख रुपैयाँ र सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब ८६ करोड ७८ लाख रुपैयाँ विदेशमा राखेका छन् ।
ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ३ अर्ब ८६ करोड ८८ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४८ करोड ७६ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ९४ करोड २२ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब ५७ करोड १२ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ३ करोड ३४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ८१ करोड २ लाख रुपैयाँ विदेशी मुलुकहरूमा जम्मा गरेका छन् ।