
रोजगारीको शिलशिलामा यूएई (दुबई) गएका गुल्मीको चन्द्रकोट गाउँपालिका– ३ हर्राचौरका टीकाबहादुर गुरुङ गत जेठ तेस्रो साता काम गर्दागर्दै अचानक बिरामी परे ।
पहिलो छुट्टीमा घर आएर परिवारको रंगीन सपना पूरा गर्न भनी फेरि विदेश उडेका टीकाले अस्पताल पुर्याएको केही समयमै संसार छाडे ।
परिवारको राम्रो भविष्यको सपना बोकेर ठूलो जहाजमा उडेका टीकाको शव जेठ २६ गते बाकसमा स्वदेश फर्कियो । श्रीमान्को शव देखेर उनकी श्रीमती अनिता अचेत बनिन् ।
श्रीमती र २ सन्तानको सुख एवं सुन्दर भविष्यको कल्पना बुनेर यूएई गएका टीका परदेशमा अस्ताएपछि परिवारको मूल जिम्मेवारी अनिताको थाप्लोमा आइलागेको छ ।
टीकाको मृत्यु के कारणले भएको हो भन्ने वास्तविकता परिवारले थाहा नपाए पनि चर्को गर्मीमा काम गरेर फर्किएलगत्तै चिसो एसीमा सुत्दा त्यसको असरबाट हृदयघात भएको हुनसक्ने अनुमान आफन्तको छ ।
....
अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ७ का कृष्णप्रसाद पाण्डे यूएईमै यही भदौ ९ गते मृत अवस्थामा सडकमा भेटिए । भिजिट भिसामा दुई वर्षअघि दुबई उडेका उनी अबुधाबीमा मृत फेला परेका हुन् । कृष्णका दाजु शशिधरका अनुसार भारतमा रोजगारी गरेका भाइ राम्रो कमाइ हुने आशाले यूएई गएको दुई वर्षमै मृत्युवरण गर्न बाध्य भए ।
गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर– १२ का अनिल विश्वकर्मा परदेश उडेको तीन महिनामै बाकसमा फर्किनुपर्यो । गाउँमा सबैसँग ऋण/धन गरेर २३ वैशाखमा यूएई उडेका अनिल साउन १० मा सडक दुर्घटनामा परे । सडक पार गर्ने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका अनिलको शव एक सातापछि (साउन १८ मा) घरमा आयो ।
लाऊँलाऊँ खाऊँखाऊँ भन्ने उमेरमा श्रीमान् गुमाएपछि अनिलकी श्रीमती सरस्वतीसहित उनको परिवार शोकाकुल अवस्थामा छ । गाउँमै मजदुरी गर्ने अनिल नियमित काम पाउन नसकेपछि जसोतसो ३ लाख ऋण काढेर विदेश गएका थिए ।
दुर्घटनामा पर्नुभन्दा दुई घण्टाअघि काममै भएको अवस्थामा श्रीमतीसँग फोनमा कुराकानी भएको थियो । कुराकानी भएको ५ घण्टापछि गाडीको ठक्करबाट ज्यान गएको भनेर कम्पनीबाट फोन आउँदा परिवारलाई पत्याउनै मुस्किल पर्यो ।
‘दिउँसो फोन गर्नुभएको थियो । ड्युटी सकेपछि साँझ गफ गरौँला भनें’, सरस्वतीले भनिन्, ‘उहाँले धेरै बोल्न मन गर्दा पनि मैले नै दिइनँ, विडम्बना ! दैवले सधैंलाई बोल्न नदिने बनायो ।’
अनिल परदेश गएपछि सरस्वती घरमा एक्लै थिइन् । बिहे भएको वर्षदिनमै परिस्थितिले सरस्वती र अनिललाई कहिल्यै भेट नहुने गरी छुटायो । श्रीमानलाई विदेश पठाउँदाको ऋण पनि उनको काँधमा आइलागेको छ ।
दुई दशकदेखि वैदेशिक रोजगारीमा यूएईमा रहेका गुल्मीको रूरूक्षेत्र गाउँपालिका– ४ बलेटक्सारका बालकृष्ण थापा हरेक वर्ष घर आउजाउ गर्थे । तर, गत असार १४ मा बालकृष्णले कार दुर्घटनामा परी ज्यान गुमाए । एक वर्षअघि मात्रै श्रीमानसँग रोजगारीको लागि दुबई गएकी बालकृष्णकी श्रीमती सीता श्रीमान्को शव बोकेर घर फर्किनुपर्ने बाध्यता आइलाग्यो ।
विदेशमै सडक दुर्घटनामा परी छोराको मृत्यु भएपछि उनका बुवा प्रेमबहादुरका आँखा अझै ओभाएका छैनन् ।
गएको वर्षमात्रै श्रीमतीलाई पनि सँगै लगेका बालकृष्ण त्यहाँको ट्राफिक नियमबारे राम्रोसँग जानकार नहुँदा सडक दुर्घटनामा परेको हुन सक्ने प्रेमबहादुर बताउँछन् ।
‘छोरा दुर्घटना परेपछि परिवार ठूलो चिन्तामा छ । परिवार र सन्तानका लागि आँखामा बुनेका रंगीन सपना थिए । अहिले सन्तानको विचल्ली भएको छ,’ बालकृष्णका बुवा प्रेमबहादुर भन्छन् ।
कक्षा १२ मा पढ्ने १७ वर्षीय छोरा आयुष र ७ कक्षामा पढ्ने १३ वर्षीया छोरी अदितिको शिक्षाको जिम्मेवारी अहिले सीताको काँधमा आइपरेको छ ।
परिवारको खुशी खोज्न श्रीमान्सँगै परदेश पसेकी सीताले कल्पना समेत गर्न नसक्ने गरी बाकसमा श्रीमानलाई लिएर आउनुपर्ने बाध्यता आइलाग्यो ।
तेस्रो मुलुकमा रोजगारीमा रहेका नेपाली मजदूरको गन्तव्य मुलुकमा निधन भएको अवस्थामा मृतकको शव अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्ने गरिन्छ ।
मृत्युको मुख्य कारण सडक दुर्घटना र हृदयाघात
नेपाल छाडेर विदेश जानेहरू बढेसँगै विभिन्न कारणले ज्यान गुमाउने नेपालीको संख्या पनि क्रमशः बढिरहेको छ । माथिका केही प्रतिनिधि घटना मात्र हुन् ।
सडक दुर्घटना, आपसी झैझगडा, काम गर्दागर्दै लडेर, अकस्मात निम्तिने स्वास्थ्य समस्याका कारण मजदुरले ज्यान गुमाउने गरेका छन् । हरेक परिवारका सदस्य कोही न कोही विदेशमा रहेको पाइन्छ । वैधानिक मात्र होइन, गैरकानूनी बाटोबाट विदेश पस्नेहरूको संख्या पनि बढ्दो छ ।
वैधानिक प्रक्रियाबाट परदेश जानेहरूको कुनै घटना वा दुर्घटना परी मृत्यु भएमा परिवारले केही राहत पाउने गरेका छन् ।
बिमाबापत ७ लाख, छोराछोरीहरूलाई शैक्षिक छात्रवृत्ति, परिवारका सदस्यलाई ५ प्रकारका गम्भीर रोग लागेमा ५० हजार सहयोग उपलब्ध हुन्छ ।
त्यस्तै, अंगभंग हुनेहरूको हकमा अवस्था हेरेर ५० हजारदेखि ७ लाखसम्म आर्थिक सहायता प्राप्त हुने गर्दछ । गुल्मीको रूरूक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रोजगारीको शिलशिलामा विदेशमा मृत्यु भएका पालिकाका नागरिकको शव ल्याउन निःशुल्क एम्बुलेन्सदेखि आवश्यकताका आधारमा आर्थिक सहयोग पनि गर्दै आएको बताए । ज्ञवालीले रोजगारीमा जानुभन्दा अघि आफूहरूले उनीहरूलाई कानूनी सचेतनादेखि सीप सिकेर जान सचेत गराउँदै आएको बताए ।
सुरक्षित वैदेशिक रोजगारी नारामै सीमित
देशको अर्थतन्त्रमा ठूलो योगदान दिए पनि वैदेशिक रोजगारीका धेरै समस्याहरू छन् ।
समस्या परेपछि उद्धार र सहयोगका लागि हारगुहारमा आउनुपूर्व नै वैदेशिक रोजगारी र श्रम स्वीकृतिबारे जनचेतना जगाएमा वैदेशिक रोजगारी सुरक्षित, मर्यादित एवं व्यवस्थित हुने देखिन्छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वैदेशिक रोजगारीमा गएका व्यक्तिको तथ्यांक संकलन र उनीहरूको सीप विकासका लागि काम गर्न स्थानीय तहलाई जिम्मेवारी दिएको छ ।
रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारले गरिरहेको पहलमा सर्वसाधारण, म्यानपावर कम्पनी, अभिमुखीकरण संस्था, स्वास्थ्य परीक्षण संस्थालगायतको साथ आवश्यक रहेको बताए ।
अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सामी परियोजनामार्फत सचेतीकरण भइरहेको जानकारी दिए ।
लुम्बिनीबाट १ लाख ३० हजार वैदेशिक रोजगारीमा
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा ‘श्रमको सम्मान राष्ट्रको अभियान’ भन्ने नारा अघि सार्दै मर्यादित रोजगारीका अवसर सिर्जना गर्नमा जोड दिएको छ ।
असल श्रम सम्बन्ध स्थापना गरी श्रमिकको हकहितको सुरक्षा गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने सरकारको लक्ष्य छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट वैदेशिक रोजगारीमा जाने लर्को छ । लुम्बिनी प्रदेशका नागरिकको अवस्था कमजोर मानिन्छ । वैदेशिक रोजगारीमा जानेमध्ये लुम्बिनी प्रदेश तेस्रो स्थानमा पर्छ ।
लुम्बिनी प्रदेशबाट १ लाख ३० हजार ५८६ जना वैदेशिक रोजगारमा गएका छन्, जसमध्ये ७८ हजार ५१२ जना पहिलोपटक वैदेशिक रोजगारमा गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।
श्रम तथा रोजगार कार्यालय, बुटवलका सूचना अधिकारी केशवराज भट्टराईले बुटवलमा श्रम स्वीकृति लिनेहरू बढ्दो क्रममा रहेको बताए । देशका सबैजसो जिल्लाका युवाले बुटवलबाट श्रम स्वीकृति लिएको तथ्यांक रहेको उनले बताए ।