३१ जेठ २०८३, आइतबार
कर्मचारीमा शेयरको भूत

सिंहदरबारमा शेयर कारोबार आतंक– बढ्दा खुशीले उफ्रिन्छन्, घट्दा कामै गर्दैनन् कर्मचारी

भदौ २१, २०८१
काठमाडौं
सिंहदरबारमा शेयर कारोबार आतंक– बढ्दा खुशीले उफ्रिन्छन्, घट्दा कामै गर्दैनन् कर्मचारी

गत बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९० दशमलव ७३ अंकले घटेर २७३९ दशमलव ४६ विन्दुमा कायम भयो ।

दिउँसो ३ बजे बजार बन्द हुनै लाग्दा सञ्चार मन्त्रालयका एक शाखा अधिकृत कार्यकक्षमै खुशीले चिच्याएपछि के भएछ भनेर आसपासका कर्मचारी उनकोमा पुगे । उनले आफ्नो बढेको पोर्टफोलियो देखाए ।

बजार उच्च अंकले घटेको भए पनि समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर भ्यालू भने करिब १० प्रतिशतले बढेको थियो ।

उक्त कम्पनीमा उनको लाखौंको पोर्टफोलियो रहेछ । उनले आफूले विजय प्राप्त गरेको शैलीमा अरूलाई 'देख्यौ' भन्न भ्याए ।

स्रोतका अनुसार सञ्चार मन्त्रालयमा करिब आधा दर्जन कर्मचारी (खरदार, सुब्बा, अधिकृत र उपसचिवसमेत) शेयर कारोबारमा सक्रिय छन् ।

'पोर्टफोलियो त अरूहरूको पनि होला, तर उहाँहरू अलि बढी चासो दिने, बढ्दा खुशी हुने, घट्दा दु:खी हुने, कहिलेकाहीँ लड्डु बाँड्ने गर्नुहुन्छ,' स्रोतले भन्यो ।

यस्तै, हालत प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका समितिमा छ ।

त्यहाँका अधिकांश कर्मचारी आफूले काम गर्ने सरकारी कम्प्युटरमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) चलाउँछन् । समितिको बैठक नहुँदा उनीहरू टीएमएसमै व्यस्त देखिने गरेका छन् ।

'मैले खाजा खर्च निकाल्न मात्र चलाउने हो,' समितिका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै लोकान्तरसँग भने, 'शेयर मार्केटमा पैसा हाल्न हुन्न भन्ने कहीँ कतै निर्देशिका छैन । यहाँ ठूल्ठूला कर्मचारी पनि लागिरहेका हुन्छन् । म त सामान्य कर्मचारी, सानो पोर्टफोलियो छ । कामै ठप्प पारेर यता लागेको नि हैन ।'

उद्योग समिति, सार्वजनिक लेखा समिति, राज्य व्यवस्था तथा सुशासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति लगायत प्रायः सबै समितिमा काम गर्ने कर्मचारी शेयर मार्केटमा आबद्ध छन् ।

अर्थ मन्त्रालयमा पनि समस्या विकराल रहेको त्यहीँकै कर्मचारी बताउँछन् । अर्थमा दिनभरि टीएमएस हेर्ने अनि घर जाने प्रवृत्ति बढिरहेको एक उपसचिवले बताए ।

दर्जनभन्दा बढी कर्मचारीको दैनिकी नै शेयर मार्केटमा बित्ने गरेको आफूले थाहा पाएको उनको भनाइ छ । शेयर मार्केटमा दैनिकी बिताउने कतिपय कर्मचारी रात परेपछि क्लब हाउसमा मार्केट म्यानुपुलेसन गर्न बनाइएको ग्रुपमा समेत सहभागी भएर 'गिराउने र उठाउने' कथित बहसमा सामेल हुने गरेका छन् ।

सिंहदरबारभित्र मन्त्रीका पीएहरूसमेत खाली समयमा शेयर मार्केटमै घोत्लिने गरेका छन् । कतिपय आफूले कुनै गलत काम नगरेको बताउने गर्छन् भने कतिपय खुल्न चाहन्नन् । सञ्चार र अर्थ मात्र होइन, यो रोगबाट सिंहदरबारका कुनै मन्त्रालय चोखो छैनन् ।

लोकान्तरले यसबारे दर्जन बढी कर्मचारीसँग कुरा गरेको थियो ।

शेयर मार्केटमा कारोबार गर्ने कर्मचारी भनी आएको सूचनाका आधारमा प्रश्न सोद्धा आधा जतिले आफूले कुनै गल्ती नगरेको बताए भने बाँकी खुल्न चाहेनन् ।

सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले कर्मचारीले गरेको शेयर कारोबारबारे औपचारिकरूपमा मन्त्रालयमा उजुरी नआएको बताए ।

उनले भने, 'व्यक्तिगत हिसाबले कसैले शेयर मार्केटमा आफ्नो टीएमएस खोल्न पायो । तर, कार्यालयको समयमा अफिसबाटै शेयर किनबेच गर्नुचाहिँ भ्रष्टाचार नै हो । यसबारे औपचारिक उजुरी आए मन्त्रालयले छानबिन गर्छ ।'

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले पनि यो दण्डयोग्य काम भएको बताए । तर, मन्त्रालयका कर्मचारी शेयर कारोबारमा लागेकोबारे उनले पनि अनविज्ञता प्रकट गरे ।

'औपचारिक जानकारी आएको छैन । आयो भने मन्त्रालयले नै विभागीय कारवाही गर्छ । अझ यसमा अख्तियारलगायत अन्य नियमनकारी निकायले पनि छानबिन गर्न सक्छन् । यसरी कार्यालयको कामै छाडेर शेयर कारोबारमा लाग्नु दण्डनीय हो,' उनले भने ।

पूर्व मुख्यसचिव विमल कोइराला पनि यो गलत भएको बताउँछन् ।

'निजामती सेवा ऐनले राजपत्रांकित कर्मचारी (अधिकृत या त्यो भन्दा माथिको तह)लाई व्यापार/व्यवसाय गर्न पूर्णतः निषेध गरेको छ । त्योभन्दा तलका कर्मचारीले भने व्यापार/व्यवसाय गर्न पाउँछन् । तर, अफिस आवरमा सेवाग्राहीको काम छाडेर शेयर किनबेच गर्न पाइँदैन ।'

उनले शेयर किनबेच व्यापार नै भएको बताए ।

'यो एक किसिमको व्यापार नै हो । यसमा लगानी हुन्छ, रिटर्न आउँछ,' उनले भने, 'तर, सिंहदरबारभित्र यस्तो व्यापार हुनु विडम्बना हो ।'

भित्र-भित्रै भुसको आगोजस्तो बनिरहेको शेयर कारोबारबारे त्यहीँका केही कर्मचारीले आजित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी गरेका छन् ।

तर, अहिलेसम्म अख्तियारले देखिने गरी एक्सन लिएको छैन ।

अख्तियारमा बेनामे उजुरी हालेका सिंहदरबारकै एक कर्मचारीले उजुरीबारे छानबिन भइरहेको जानकारी आफूले पाएको बताए ।

उनले प्रधानमन्त्री कार्यालयमार्फत सिंहदरबारमा टीएमएस नचल्ने बनाउने तयारी भइरहेको समेत जानकारी दिए ।

'एक दुईदिनमा अख्तियारले प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएर यसबारे जरुरी जानकारी माग गर्ने र सिंहदरबारभित्र ब्रोकरहरूको सफ्टवेयर टीएमएस नचल्ने बनाउने तयारी गरेको जवाफ उताबाट आएको छ,'  उनले भने ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले अख्तियारबाट त्यस्तो जानकारी माग गरेर पत्र आएको आफूलाई जानकारी नभएको बताए ।

उनले लोकान्तरसँग भने, 'पत्र आएको भए अर्को शाखामा आएको होला, मेरो व्यक्तिगत जानकारीमा छैन । यदि कर्मचारी काम छाडेर शेयर मार्केटमै लागेका हुन् भने त्यसबारे प्रधानमन्त्री कार्यालय सजग हुन्छ । यसका लागि अन्य नियमनकारी निकाय पनि छन् । त्यो रोक्न हाम्रो प्रयास हुनेछ ।'

लामो समय माथि उठ्न नसकेको शेयर बजारमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेसँगै व्यापक सुधार आएको छ ।

बजार माथि उठ्न थालेपछि सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारी पनि अतिरिक्त कमाई हुने लोभमा यसमै ध्यान दिएर बस्ने गरेका हुन् ।

बजार बढ्दा खुशी भएर काम नगर्ने र बजार घट्दा दु:खी भएर काम नगर्ने प्रवृत्ति हावी हुँदै गएपछि यसलाई रोक्न अख्तियारलगायत नियामक निकायमाथि दबाब सिर्जना भएको छ ।

सञ्चार मन्त्रालयअन्तर्गत रहेको एकीकृत डेटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र)का निर्देशक क्षितिज भट्टराईले सरकारले चाहे सिंहदरबारभित्र ब्रोकरको टीएमएस नचल्ने बनाउन सक्ने बताए ।

'सरकारले निर्देशन दिए हामीले फायरवाल लगाएर निश्चित वेबसाइट नचल्ने बनाउन सक्छौं । कुनै कार्यालयले हामीले प्रदान गरेको बाहेक अन्य सेवा प्रदायकबाट इन्टरनेट लिएको छ भने त्यो हाम्रो क्षेत्राधिकारभन्दा बाहिरको कुरा भयो,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्