०९ साउन २०८३, शनिबार
प्रहरी बढुवामा झमेला

प्राविधिक एआईजीसहित ४ हजार दरबन्दी रिक्त, आकांक्षी धेरै हुँदा बढुवामा सकस

भदौ २३, २०८१
काठमाडौं
प्राविधिक एआईजीसहित ४ हजार दरबन्दी रिक्त, आकांक्षी धेरै हुँदा बढुवामा सकस

नेपाल प्रहरीमा प्राविधिकतर्फ एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सहित ४ हजार ५० दरबन्दी खाली रहेको पाइएको छ ।

गृह मन्त्रालयले असोजको पहिलो सातादेखि खाली रहेको दरबन्दी पूर्ति गर्ने तयारी गरेको छ । 

प्रहरी अस्पतालकी एआईजी डा. आशा सिंहले अवकाश पाएपछि उक्त दरबन्दी पूर्ति भएको छैन ।

अस्पतालकै प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई बढुवा गर्ने तयारी सरकारको छ । 

प्रहरी मुख्यालयका अनुसार भदौ १६ गते एक डीआईजीसहित झण्डै १०० जना प्रहरी अधिकृतले अवकाश पाएपछि माथिल्लो तहका दरबन्दी पूर्ति गर्न आन्तरिक बढुवा गर्नुपर्ने अवस्था छ ।

भदौ महिना प्रहरीको कार्यसम्पादन मूल्यांकनको समय परेकाले अहिले बढुवा गर्न मिल्दैन । असोजको पहिलो सातादेखि बढुवा खुलाउने तयारी गृह मन्त्रालयको छ । 

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार प्राविधिकतर्फ ५४२ र जनपदतर्फ ३ हजार ५०८ जनाको दरबन्दी खाली छ ।

मुख्यालयका अनुसार २ प्राविधिकसहित ५ डीआईजी, ४ प्राविधिकसहित १६ जना प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी), दुई प्राविधिकसहित १४ जना प्रहरी उपरीक्षक (एसपी), एक जना प्राविधिकसहित ३७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २९ प्राविधिकसहित ५४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ । 

त्यस्तै, ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना सई, ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ जना प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४३ जना कार्यालय सहयोगीको दरबन्दी खाली रहेको मुख्यालयले जनाएको छ । 

खाली रहेका प्रहरी निरीक्षक, वरिष्ठ सई, सई, असई, वरिष्ठ हबल्दार र हवल्दारको दरबन्दी आन्तरिक बढुवाबाट पूर्ति भएपनि जवान र कार्यालय सहयोगीको भने भर्ना खुलाउनुपर्ने देखिन्छ । जनपदतर्फ डीआईजीको ३, एसएसपीको १२, एसपीको १२ र डीएसपीको ३६ वटा दरबन्दी तलबाटै बढुवा गरेर पूर्ति गर्नुपर्ने हुन्छ । 

खाली रहेका प्राविधिकबाहेक डीएसपीदेखि डीआईजीसम्मका दरबन्दी पूर्तिमा भने धेरै अकांक्षी हुने भएकाले बढुवामा सकस हुने देखिन्छ । 

जनपदतर्फका दुई डीआइजीहरू क्रमशः विष्णुकुमार केसी र पोषराज पोखरेलले अवकाश पाए उक्त खाली रहेको दुई दरबन्दी पूर्ति भएका छैनन् ।

त्यस्तै, एआईजी उमेशराज जोशीले अवकाश पाएपछि खाली एआईजीको दरबन्दीमा रामदत्त जोशीलाई बढुवा गरेर पूर्ति गरिएको थियो । 

प्रहरी प्रवक्ता डीआईजी कार्कीले लोकान्तरसँग भने, ‘खाली रहेको धेरै संख्याको पूर्ति आन्तरिक बढुवाबाटै हुने हो । असोजको पहिलो वा दोस्रो साताबाट बढुवाको प्रक्रिया शुरू भएपछि पूर्ति हुन्छन् ।’ 

बढुवा आकांक्षीहरूले राजनीतिक लबिङ गर्ने हुँदा गृहमन्त्री रमेश लेखकलाई सन्तुलित बढुवा निकाल्न सकस हुने देखिन्छ ।  

‘तलका दर्जामा धेरै खाली देखिएपनि प्रतिस्पर्धी पनि धेरै भएकाले समस्या हुँदैन,’ स्रोतले भन्यो, ‘प्रहरी निरीक्षक र त्यसमाथिका दर्जामा बढुवा गर्दा भने आन्तरिक एवं दलीय दबाब हावी हुने भएकाले गृहमन्त्री लेखकलाई सकस पर्ने देखिन्छ ।’ 

प्रहरी मुख्यालयले बढुवा सिफारिशमा दोहोरो मापदण्ड अपनाउँदा पनि बढुवामा सकस हुने देखिएको हो । कहिले वरिष्ठताका आधारमा त कहिले कार्यसम्पादनका आधारमा भन्दै गृहमन्त्रीअनुकूलको बढुवा सिफारिश गर्दा त्यो बीचमा प्रतिस्पर्धी प्रहरी अधिकृतले खेल्ने मौका पाउने गरेको मुख्यालयका एक उच्च अधिकृतले बताए । 

उनले भने, ‘गृहमन्त्री रवि लामिछानेको पालामा सिनियारिटीलाई पन्छाएर कार्यसम्पादनका आधारमा भन्दै १ र २ नम्बरलाई समेत छुटाएर बढुवा निकालियो । अब फेरि सिनियारिटीका आधारमा गर्ने भनियो भने पहिले छुटेका अहिले बढुवा हुने र बढुवाको मुखमै आइपुगेका छुट्ने सम्भावना बलियो छ ।’ 

हाल खाली रहेको एसएसपी र एसपीको दरबन्दी पूर्ति गर्दा त्यही ब्याचबाट प्रहरी नेतृत्वमा पुग्ने भएकाले गृहमन्त्री लेखकलाई सन्तुलित बढुवा निकाल्न सकस पर्ने बुझाइ प्रहरी मुख्यालयको छ । 

स्रोतले भन्यो, ‘सिनयारिटी पनि नमिचिने र कार्यक्षमताको पनि अवमूल्यन नहुने गरी बढुवा निकाल्न गृहमन्त्रीज्यूलाई सकस छ । उहाँले प्रहरी अधिकारीको ट्रयाक रेकर्ड हेरेर वस्तुनिष्ठ बढुवा निकाल्नुपर्ने हुन्छ ।’  

salt training

कमेन्ट गर्नुहोस्