
बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको रकम लगानी गर्न नसकेपछि राष्ट्र बैंकले प्रणालीबाट अरबौं रकम धमाधम खिच्न लागेको छ ।
राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बैंकिङ प्रणालीमा थुप्रिएको रकम खिच्न लागेको हो ।
गत आइतबार मात्रै बजारबाट एक खर्ब रकम तानेको राष्ट्र बैंकले बुधबार ४० अर्ब खिच्न लागेको हो ।
राष्ट्र बैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि आज बुधबार नै बोलकबोल हुनेछ ।
आज ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
महिना दिन नबित्दै ३ खर्ब २० अर्ब तान्यो
भदौको २ गते राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न एक खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट खिच्यो । बैंकले २१ दिनका लागि उक्त रकम बैंकिङ प्रणालीबाट तानेको थियो ।
१० दिनपछि अर्थात् भदौ १२ गते राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमार्फत तान्यो । र करिब ९ दिनपछि अर्थात् भदौ १९ गते पनि पुन एकै दिन ४० अर्ब रुपैयाँ बजारबाट राष्ट्र बैंकले तान्यो ।
राष्ट्र बैंकले फेरी एक हप्ता नबित्दै भदौ २३ गते एक खर्ब रुपैयाँ तान्यो । र आज फेरी एक हप्ता नबित्दै ४० अर्ब बजारबाट खिच्न लागेको छ ।