३२ असार २०८३, बिहीबार

कुन्ती र शिशिरको आवाजमा ‘भ्रष्टाचारको चपेटामा देश’ [भिडियो]

भदौ २६, २०८१
काठमाडौं
कुन्ती र शिशिरको आवाजमा ‘भ्रष्टाचारको चपेटामा देश’ [भिडियो]

चर्चित गायकहरू कुन्ती मोक्तान र शिशिर योगीको आवाजमा भ्रष्टाचारविरोधी गीत सार्वजनिक भएको छ । मोक्तान र योगीको स्वरमा रहेको ‘भ्रष्टाचारको चपेटामा देश’ गीतको म्युजिक भिडियो मंगलबार काठमाडौंमा प्रिमियर गरिएको हो ।  

चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा बानेश्वरमा आयोजित एक कार्यक्रमकाबीच गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो । 

हेम पाठकको शब्द रचना रहेको गीत ‘भ्रष्टाचारको चपेटामा देश’को म्युजिक भिडियोको छायांकन हालै सम्पन्न भएको थियो । अमेरिकाको टेक्ससस्थित ‘हेम–सरिता पाठक फाउन्डेसन’का प्रमुख संरक्षकसमेत रहेका पाठकले शब्द रचना रहेको गीतको म्युजिक भिडियो भक्तपुरका विभिन्न स्थानमा छायांकन गरिएको थियो । म्युजिक भिडियोको अधिकांश दृश्य भक्तपुरको ‘होटल सिटी गाउँ’मा छायांकन गरिएको निर्माण पक्षले जानकारी दिएको छ । 

उक्त गीतका संगीतकार बीबी अनुरागी रहेका छन् । म्युजिक भिडियोमा कलाकारहरू किरण के. सी., विद्या कार्की, रेष्मा श्रेष्ठ, राजु भुजू र आर. के. मानन्धरको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन सुदन के.सी. र सहनिर्देशन चन्द्र भण्डारीले गरेका छन् । 

म्युजिक भिडियोको छायांकनमा फाउन्डेसनकी संरक्षक सरिता पाठक, मानवअधिकारकर्मी डा. गोपालकृष्ण सिवाकोटी, पत्रकार शिव गाउँले, समाजसेवीहरू ओम उप्रेती, गोपाल गड्तौला, गायक टीकाराम कट्टेललगायतको सहभागिता रहेको थियो ।

‘हेम–सरिता पाठक फाउन्डेसन’ले ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार’, ‘हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार’ र ‘टंकप्रसाद–रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्दै आएको छ । 

त्यस्तै, प्रतिष्ठानले नेपालमा स्कूल सञ्चालन, विपन्न वर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदानसमेत उपलब्ध गराउँदै आएको छ । 

यसैगरी, प्रतिष्ठानले बाजुरा र झापा जिल्लाका विभिन्न क्षेत्रका अशक्त एवं असहायलगायत दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं ल्याएर पठनपाठन गराइरहेको फाउन्डेसनको नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । 
 

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्