
दशैं तथा तिहारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकाका लागि १५ सय खसीबोका ल्याइने भएको छ । सहुलियत दरमा बिक्री गर्न कम्पनीले १५ सय खसीबोका ल्याउने भएको हो ।
१५ सय खसीबोकासँगै तीन सय च्याङ्ग्रा ल्याउन लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । खाद्य कम्पनीले हेटौंडा र तुल्सीपुरबाट खसीबोका ल्याउन लागेको हो भने मुस्ताङबाट च्याङ्ग्रा ल्याउने छ ।
सहुलियत पसलका लागि खाद्य कम्पनीले ४ करोड बजेट छुट्याएको छ । सर्वसाधारणलाई छुट दिन ३ करोड बजेट छुट्याइएको उनले बताइन् ।
कम्पनीले असोज ७ देखि छठसम्म चाडबाडलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने छ । कम्पनीले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि सहुलियत सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।
सहुलियत दरमा केके पाइन्छ ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसवर्ष देशभर ५ हजार मेट्रिक टन चामल बिक्री गर्ने छ । प्रति किलोग्राम ५ रुपैयाँ सहुलियतमा चामल बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले तेलमा ७ रुपैयाँ सहुलियत दिनेछ भने, खसी/बोका तथा च्याङग्रामा प्रतिकेजी १० रुपैयाँ सहुलियत प्रदान गर्ने छ । त्यस्तै, दालमा ५ रुपैयाँसम्म सहुलियत दर र अन्य खाद्यान्नमा पनि ५ देखि १० रुपैयाँसम्म सहुलियत दिइनेछ ।
भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डिडिसी घ्यूमा प्रतिलिटर १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था मिलाइएको कम्पनी लिमिटेडले जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रधान कार्यालयसँगै ७ प्रादेशिक कार्यालय कार्यालय, ५ मुख्य शाखा कार्यालय, २५ शाखा कार्यालय र २५ डिपोहरू छन् । यी स्थानहरूबाट सर्वसाधारणले सहुलियत मूल्यमा खाद्य सामग्रीहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
बागमती प्रदेशको प्रादेशिक कार्यालय थापाथलीमा रहेको छ भने काठमाडौं उपत्यकाभित्र नख्खु, ललितपुर, रामशाहपथ सिंहदरबारको पश्चिम गेट नजिक र भक्तपुरको सूर्यविनायकमा रहेका छन् ।
गत वर्ष सबै खसीबोका र च्यांग्रा बिकेनन्
गत वर्ष व्यापार कम्पनी लिमिटेडले ५४२ च्याङ्ग्रा बिक्रीका लागि ल्याएको थियो । जसमध्ये ४६ वटा च्याङ्ग्रा बिक्री नभएको कम्पनीले जनाएको छ । तिनलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै राखेको थियो ।

त्यस्तै, गत वर्ष कम्पनीले १९ सय खसीबोका खरिद गरी बिक्रीका लागि काठमाडौं ल्याइएको थियो । कम्पनीका अनुसार दशैं र तिहारमा ११ सय मात्रै खसी/बोका बिक्री मात्रै भएका थिए ।
२० च्याङ्ग्रा मरे
गत (२०८०) पुस १९ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा २० च्याङग्रा मृत भेटिएका थिए । कम्पनीले ल्याएका ५४२ च्याङग्रामध्ये बिक्री नभएका बाँकी ४६ च्याङग्रा त्यत्तिकै कम्पनीमै राखिएको थियो । जसमध्ये २० च्याङग्रा मरेका थिए ।
त्यसलगत्तै पनि ४ च्याङ्ग्रा बिरामी परेर मरेका थिए । त्यसपछि बाँकी २२ च्याङग्रा कम्पनीले खरिद गरेकोभन्दा पनि न्यून मूल्यमा बिक्री गरिदिएको थियो ।