
बचतकर्ताको ९ करोड रुपैयाँ बढी हिनामिना गरेको आरोपमा विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् । ९५ जना सहकारी पीडितहरूले अध्यक्ष कर्णसहित १५ जना संचालकहरूविरुद्ध ‘सहकारी ठगी’मा उजुरी दिएपछि मोरङ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पीडितले सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्की, सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापा र सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूसहित १५ जनाले सहकारीको रकम हिनामिना गरी ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
अन्य १४ जना फरार रहेका छन् । उनीहरूको खोजी कार्यमा प्रहरी लागि परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ परेका कर्णसहित चार जना संचालकहरूले एक हजार बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६ सय १ रुपैयाँ हिनामिना गरेको केही दिनअगाडि गरिएको छानबिनले देखाएको थियो ।
जिल्ला सहकारी संघ मोरङका संचालक समिति सदस्य उमेश गुरूङको संयोजकत्वमा चार सदस्य समितिले तयार पारेको छानबिन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटला सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले गरेको देखिएको छ ।
कार्कीले सहकारीको ४ करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनले देखाएको हो । कार्कीपछि सहकारीका सचिव तथा संचालक समिति सदस्य प्रभाकर थापाले रकम हिनामिना गरेको देखिएको छ । थापाले सहकारीको १ करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ घोटला गरेको खुलेको छ । थापा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्वसभापति पनि हुन् ।
यसैगरी सहकारीका अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५ रुपैयाँ हिनामिना गरेको देखिएको छ । कर्ण साझा विवेकशील पार्टीका नेता हुन् । उनले २०७४ सालमा भएको स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी पनि दिएका थिए ।
यसैगरी सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटला गरेको प्रतिवेदनमा उल्लेख छ । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्ता भित्रमा सहकारीको हिसाब छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो ।
उक्त प्रतिवेदनअनुसार सहकारीका अध्यक्ष कर्णसहित संचालक समितिका सदस्यहरूले ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ हिनामिना गरेको देखाएको छ । प्रतिवेदनले हिनामिना गरेको देखाएपछि पनि संचालकहरूले हिसाब फरफारक नगरेपछि पीडितले प्रहरीमा ठगीमा उजुरी दिएका हुन् ।
घोटला गर्ने संचालहरूले सहकारीको नियम, मूल्यमान्यताविपरीत हिनामिना गरेको रकम जग्गामा लगानी गरेको देखिएको छ । उनीहरूले आफन्त र नातागोता व्यक्तिलाई सहकारीको रकम विना धितो कर्जा दिएको पाइएको छ । २ करोड बढी रकम धितो नराखी ऋण दिएको देखिएको समितिले जनाएको छ ।
चार जना संचालकको नाममा रहेको जग्गा पनि समितिले रोक्का राख्न सुझाव दिएको छ । प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको देखिएको छ । थापाको झापाको धुलाबारी २ मा १७ कठ्ठा जग्गा देखिएको छ । कित्ता नम्बर ९६ रहेको ४ कठ्ठा १० धुर र ३०७० किता नं. रहेको ४ कठ्ठा १० धुर जग्गा धुलाबारीमा देखिएको छ । यसैगरी थापाकी श्रीमतीको नाममा पनि १०६ र ८१२ किज्ञा नंं. को १७ कठ्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।