०४ साउन २०८३, सोमबार

आधा छेडियो शिद्धबाबा सुरुङ, तीन महिनाभित्र ‘ब्रेक थ्रू’को लक्ष्य

असोज १, २०८१
बुटवल
आधा छेडियो शिद्धबाबा सुरुङ, तीन महिनाभित्र ‘ब्रेक थ्रू’को लक्ष्य

सिद्धार्थ राजमार्गअन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो । 

उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ । सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ । 

बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ । आयोजनाको कूल भौतिक प्रगति २२.८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६.४ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ‘ब्लास्टिङ’ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । ‘तीनवटा बाइपासमध्ये एउटा छेडियो,’ ज्ञवालीले लोकान्तरसँग भनिन्, ‘एउटा अबको १० दिनभित्र छेडिन्छ । मुख्य सुरुङ आउँदो डिसेम्बर (मंसीर)सम्म छेड्ने लक्ष्य छ ।’

null

बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द हुने गरेको छ । कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङको ‘ब्रेक थ्रू’ गर्ने आयोजनाको तयारी छ । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ । यही क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ । भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउँदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ । 

बाह्रै महिना पहिरो झर्ने यो ठाउँलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो । सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । 

यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसँग ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने शर्त छ । यो सडकखण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म सवारीसाधन चल्ने गर्छन् । 

प्रायः हरेक वर्ष जाने पहिरोले जनधन क्षति पुर्याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो । आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचना बनाइने छ । 

यसले सडक माथिबाट खस्ने ढुंगालाई सिधै तल झार्ने छ । यसरी कूल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ । सुरुङमार्गका ३ स्थानमा खुला भाग राखिने छ । आकस्मिक घटना भइहाले सोही स्थानबाट उद्धारको काम हुनेछ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ ।

null


 

salt training

कमेन्ट गर्नुहोस्