०७ असार २०८३, आइतबार
सहकारी ठगी छानबिन प्रतिवेदन

९९ दिनमा सूर्य थापाले पास गरेको अग्निपरीक्षा– सहकारी ठगहरूको निदहराम

जब सूर्य थापालाई छोराले सोधे– 'देउवाले किन तपाईंलाई नदिएर गगनलाई धन्यवाद दिए ?'
असोज ७, २०८१
काठमाडौं
९९ दिनमा सूर्य थापाले पास गरेको अग्निपरीक्षा– सहकारी ठगहरूको निदहराम

असोज ३ गते सूर्य थापाका छोरा अशोकले सोधेछन्– ‘रातविरात काम गर्ने तपाईं, शेरबहादुर देउवाले गगन अंकललाई धन्यवाद दिएछन् । बाबा काम गरेको मान्छेलाई धन्यवाद दिनुपर्ने होइन र ?’

थापाले छोरालाई जवाफ फर्काए– ‘सहकारी ठगीको विषय संसद्मा गगन थापाले उठान गरेको भएर हो । छानबिन हुनुपर्छ भन्ने मुद्दा गगनले नै उठाएकाले पार्टी सभापतिले महामन्त्रीलाई धन्यवाद दिने कुरा ठीकै हो ।’

छोराले फेरि प्रतिप्रश्न गरे– ‘तपाईंको त कुरै छैन, देउवाले तपाईंलाई चिन्दैनन् हो ?’ 

थापाले जवाफ फर्काए– ‘होइन बाबु, राजनीतिमा यस्तो हुन्छ । देउवाले धन्यवाद दिएर म राम्रो हुने, नदिएर नहुने पनि होइन ।’

छोराले फेरि प्रश्न गरे– ‘तपाईंकै पार्टीका नेताले पनि धन्यवाद भनेनन् नि ?’

सूर्यले छोरालाई जवाफ फर्काए– ‘हाम्रो पार्टीमा त्यसरी व्यक्तिलाई धन्यवाद दिने चलन छैन । लगाएको काम पूरा गरेपछि पार्टीले मूल्याङ्कन गर्छ ।’

झण्डै साढे ३ महिना बुवा सहकारी ठगीसम्बन्धी छानबिनका लागि भन्दै बिहानै हिँडेर मध्यरातमा घर आएको उनलाई थाहा थियो । तर, उनले धेरै चासो राखेका थिएनन् ।

जब असोज २ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले महामन्त्री थापालाई सहकारीको विषय उठाएकोमा धन्यवाद दिए । 

null

‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदोरहेछ भने, चलाख मान्छे । म त छक्कै परें कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई,’ थापालाई धन्यवाद दिँदै देउवाले भनेका थिए ।  

देउवाले भनेको त्यो कुरामा सूर्य थापाको छोरालाई जिज्ञासा लागेछ । गगन थापाले त प्रतिनिधि सभाको बैठकमार्फत नै सूर्य थापालगायत समितिको कामप्रति खुलेर प्रशंसा गरेका थिए । देउवाले धन्यवाद दिएको बैठकमा पनि गगनले समितिलाई धन्यवाद दिएका थिए ।

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक भएपछि गाउँदेखि शहरसम्म यही विषयको चर्चा चलिरहेको छ । पत्रपत्रिका, डिजिटल पत्रिका (अनलाइन)हरू र टेलिभिजनका मुख्य समाचार तिनै भएका छन् । त्यही प्रतिवेदनको आधारमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी आइतबार पक्राउ परिसकेका छन् ।

भदौ २९ गते शनिबार संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका ओलीले फर्किँदै गर्दा लिफ्टमा भनेका थिए, ‘आफूले पाएको जिम्मेवारी सबैले यसैगरी (समितिले जस्तै) पूरा गरे देश बन्न कति समय लाग्थ्यो र ?’

छानबिन समितिको प्रतिवेदन जहाँ रवि लामिछानेको मात्र होइन, अन्य सहकारी ठगीका विषय पनि मसिनो गरी केलाइएको छ । करिश्मा मानन्धरकी छोरीलाई हिरोनी बनाउन सहकारीको रकम दुरुपयोग गरेकोदेखि सहकारीको रकम हत्याउन सुमेरु सेभिङका भरत महर्जनले नक्कली डिभोर्स र पुनःविवाह गरेको जस्ता धेरै तथ्य समितिले उजागर गरेको छ ।

सहकारी ठगी सम्बन्धमा ‘महाभारत’जस्तो प्रतिवेदन तयार गर्नमा समिति सभापति सूर्य थापाले कठोर परिश्रम गरेका छन् ।

९९ दिनसम्म घनीभूत छलफल गरेका थापाले आइतबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा भेट हुँदा अझै थकाइ नमरेको भन्दै थिए । 

यो छोटो समयमा यति विस्तृत प्रतिवेदन तयार गर्नु असम्भवजस्तै थियो । चुनौतीपूर्ण काममा खारिएका थापाले असम्भव जस्तै कामलाई सम्भव बनाइदिए । संसदीय समितिको बैठकमा उपस्थित पूर्व अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले थापालाई ‘अकबरे खुर्सानी’को संज्ञा दिएका थिए । 

प्रतिवेदन तयार भएपछि लोहनीले फोन गरेर भने– ‘संसदीय इतिहासमा तपाईंले एउटा हिस्ट्री बनाइदिनुभयो ।’ संसदीय छानबिनका क्रममा जेलमा रहेका कैदीलाई ल्याएर सोधपुछ गर्ने काम पहिलोपटक भएको थियो । सहकारी ‘ठगीका महारथी’हरू सुधीर बस्नेत, सीबी लामादेखि डीबी बम्जनसम्मले समितिमा आएर धेरै कुरा राखे ।  

null

संसदीय छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश गर्ने र सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाउने काम दुर्लभ हो । 

संसद्बाट आएको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय पनि सम्भवतः पहिलो नै थियो । 

ओलीले भने– ‘सबैले यस्तै काम गरे त देश बन्थ्यो !’

जेठ १५ गते थापाको संयोजकत्वमा छानबिन समिति बन्दा धेरैलाई लागेको थियो– ‘रविलाई चोख्याउनका लागि समिति बनाइयो ।

‘वास्तवमा सरकारद्वारा तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई जोगाउने उद्देश्यद्वारा नै समिति गठन गरिएको थियो । तर, समितिले तत्कालीन गृहमन्त्री जोडिएको सहकारी रकम ठगी प्रकरणमा अगाडि सारेका तथ्यप्रमाणबाट लामिछानेउपर सहकारीको रकम ठगी र अपचलनका विषयमा लाग्दै आएको आरोप पुष्टि भएको छ,’ पहिला आशंका गर्नेमध्येको एक दल राष्ट्रिय जनमोर्चाले आफ्नो प्रतिवेदनमै लेखेको छ ।

समितिको पहिलो बैठक बसेको जेठ २३ देखि प्रतिवेदन बुझाउने दिन भदौ ३१ सम्मका ९९ दिन उनी यसरी लागे कि घर/परिवार र निर्वाचन क्षेत्र समेत बिर्सिए । निर्वाचन क्षेत्र प्युठानमा बाढीले क्षति गर्दा समेत जान पाएनन् । परिवारको नजिकका सदस्यको मृत्यु हुँदा समेत जान पाएनन् । थापाको व्यस्तताप्रति कटाक्ष गर्दै ८१ वर्षीया आमाले भनिन्– ‘हाम्रो छोरालाई जहिल्यै असार १५ छ, कहिल्यै घर बस्ने होइन ।’ 

छोटो समयमा समस्याको पहाड छिचोल्नुपर्ने भएकाले उनले सार्वजनिक बिदाको दिन नभनी काम गरे ।

‘समय घर्किंदै गएपछि तीजको दिन समेत उपासनामा बसेका कर्मचारीलाई काममा लगाउन पर्‍यो, अलि नै निर्मम भइएछ कि जस्तो पनि लाग्यो,’ थापाले भने । समितिको सचिव वविता मिश्र छिन् । समितिमा दुईजना महिला सदस्य थिए भने कानूनी सल्लाहकार, नासुदेखि चिया पकाउने कार्यालय सहयोगी पनि महिला नै थिए । 

सहकारी ठगीको आरोप लागेका गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग मध्यरातसम्म गरिएको बयानले धेरैको ध्यानाकर्षण गर्‍यो । समितिले प्रतिवेदन बुझाउने अघिल्लो दिन भदौ ३० गते पनि राति २ बजेसम्म समितिको बैठक चलिरहेको थियो । 

सहकारी ठगीको आरोप लागेका अन्यसँग पनि राति अबेरसम्म समितिले बयान लिने र सोधपुछ गर्ने काम गरेको थियो । बिहान १० बजेदेखि मध्यरातसम्म लगातार बैठक बसेको बारे प्रधानमन्त्री केपी शर्मा ओली जानकार थिए । भदौ २९ गते शनिबार संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका ओलीले फर्किँदै गर्दा लिफ्टमा भनेका थिए, ‘आफूले पाएको जिम्मेवारी सबैले यसैगरी (समितिले जस्तै) पूरा गरे देश बन्न कति समय लाग्थ्यो र ?’

समिति रविलाई बचाउने या फसाउने भन्ने साँघुरो घेरामा सीमित रहेन । आममानिसले अपेक्षा गरेभन्दा पृथक र विस्तृत प्रतिवेदन समितिले तयार गर्‍यो । सहकारी ठगेर अकुत सम्पत्ति कमाएका सञ्जालको जायजेथा बेचेर भएपनि बचतकर्ताको रकम फिर्तालगायत सुझाव प्रतिवेदनमा समावेश गरिएको छ । 

null

छानबिन समितिले पहिलो कार्यकालमै बनाइदिएको अब्बल परिचय

गोरखा मिडियामा लगेर सहकारीको रकम अपचलन गरेकोमा कारबाही सिफारिशमा परेका रवि लामिछानेसम्मले सूर्य थापाको कामको प्रशंसा गरे । 

संसदीय समितिमा आएका र आउन नपाएका कयौं सहकारीपीडितले बचत फिर्ता पाउने आशा पलाएको भनेर राहत मानिरहेका छन् । 

चौतर्फी प्रशंसा भइरहेको छानबिनको काम सूर्य थापाका लागि निकै कठिन थियो । अप्ठ्यारो काम गर्दागर्दा खारिएका उनका लागि सहकारी संकटको जरा पत्ता लगाउने काम चुनौतीपूर्ण रह्यो । तर, उनले विगतमा गरेको कार्यसम्पादनका तुलनामा यो कामलाई त्यस्तो चुनौतीपूर्ण ठानेनन् । 

‘चुनौती त मलाई संसद्मा आउनै थियो । गठबन्धनविरुद्ध म २० हजार भोटले पछि थिएँ । नतिजा ल्याउँदा ५ हजार थपेर २६ हजारको फराकिलो मतान्तरले चुनाव जितेर आएको थिएँ,’ थापाले स्मरण गरे, ‘राजतन्त्रको जगजगी रहेको समयमा राजदरबारको सम्पत्ति खोज्ने चुनौतीपूर्ण बाटो रोजेको थिएँ । यदि गणतन्त्र नआएर पुरानै व्यवस्थामा गएको भए शायद म आज देश निकाला भएको हुन्थें होला ।’ 

थापाले २०६३ सालमा ‘राजतन्त्रको अर्थराजनीति’ शीर्षकमा ३ वटा किताब निकालेका थिए, जहाँ राजा र दरबारको सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।

किताब लेखेबापत त्यो बेला थापाले एकदिनमा ३ पटकसम्म बयान दिनुपरेको थियो । 

उनले जिम्मेवारी पाएका सबै मोर्चामा मानक स्थापित गर्ने गरी काम गरेका छन् । एमालेको मुखपत्र ‘नवयुग’ सम्पादन गरेर थापाले एक कार्यकालमा झण्डै २ करोड रूपैयाँ आयआर्जन गराएका थिए ।

पार्टीको पर्यटन विभाग इन्चार्जको जिम्मा पाउँदा पर्यटन क्षेत्रका अधिकांश संगठनमा एमाले नेतालाई जिताएका थिए । नेकपा एमालेका तत्कालीन महासचिव स्व. मदन भण्डारीका लेख/रचनाको संगालो १ देखि १० भागसम्म खोजेर प्रकाशन गर्ने कामको नेतृत्व पनि उनले गरेका थिए । 

२०७९ पुसमा प्रतिनिधि सभामा आएका थापाले पहिलोपटक नै संसदीय छानबिन समितिको नेतृत्व पाएर आफूलाई थप खार्ने मौका पाए ।

‘संसदीय विशेष समितिले कसरी काम गर्नुपर्छ भन्ने एउटा उदाहरण सहकारी बचत दुरुपयोग छानबिन समितिले देखाएको छ । नेपालको संसदीय प्राक्टिसका लागि यो एउटा नमूना काम भएको छ,’ सभामुख घिमिरेले भनेका थिए । 

‘उनी (सूर्य थापा)बाहेक अर्को व्यक्ति सभापति भएको भए शायद यो स्तरको प्रतिवेदन आउँदैन थियो होला । एमालेकै अर्को सांसदलाई नेतृत्व दिएको भएपनि यति गहिराइमा पुग्न कठिन थियो,’ संसद् सचिवालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने । 

विशेष समितिको प्रतिवेदन बुझाइसकेपछिको भेटमा सभामुख देवराज घिमिरेले ‘संसदीय प्राक्टिस’का लागि एउटा नयाँ उदाहरण भएको बताएका थिए ।

‘संसदीय विशेष समितिले कसरी काम गर्नुपर्छ भन्ने एउटा उदाहरण सहकारी बचत दुरुपयोग छानबिन समितिले देखाएको छ । नेपालको संसदीय प्राक्टिसका लागि यो एउटा नमूना काम भएको छ,’ घिमिरेले भनेका थिए । 

आफूले पाएको जिम्मेवारी पूरा गर्ने तर प्रशंसा नखोज्ने खरो स्वभावका सूर्य थापा यो प्रतिवेदनका आधारमा आफूलाई ‘नायक’को रूपमा चित्रित गरेको रुचाउँदैनन् । 

‘हामीले तथ्य केलाएर प्रतिवेदन बनाएको हो । यसमा रौं बराबर पनि दायाँबायाँ बनाएको होइन । कसैलाई जोगाउन या कसैलाई फसाउन यत्रो प्रतिवेदन लेखिएको होइन,’ थापाले भने । 

देश तताएको सहकारी ठगी छानबिन समितिको प्रतिवेदनबारे सभापति सूर्य थापाको अन्तर्वार्ता लिन चाहने कति होलान् ? एकाध मिडियामा बाहेक उनी बोलेनन् । 

अन्तवार्ता माग्नेहरूलाई उनको जवाफ हुन्थ्यो– ‘मेरो व्यक्तिगत कुरा केही छैन । प्रतिवेदन हेर्नुस् र त्यसको विश्लेषण गर्नुस् ।’ तर, बाहिर भने प्रतिवेदनले ‘क्लिन चिट’ दिएको भनेर बहस शुरू भयो । सूर्य थापाले संसद्मा प्रतिवेदन टेबल गर्न नपाउँदै बाहिर रास्वपा नेताहरूले संयुक्त पत्रकार सम्मेलनको शैलीमा रवि लामिछानेले सफाइ पाएको व्याख्या गरे । 

समग्र सहकारी क्षेत्रको समस्या समाधानको मार्गचित्र प्रस्तुत गरेको प्रतिवेदनलाई ‘रविको क्लिन चिट’का रूपमा व्याख्या गर्न थालिएपछि थापाले बोल्न थाले ।

‘कसैले मलाई क्लिन चिट दियो भनेर अपव्याख्या गर्दै हिँडेपछि सभापतिको हैसियतमा प्रतिरक्षा गर्नु मेरो दायित्व भयो,’ थापाले लोकान्तरसँग भने । ​

 

पढ्नुहोस् यो पनि :

सहकारी ठगी छानबिनमा संसदीय समितिले स्थापित गरेको मानक र रविसँग मध्यरातको त्यो बयान

संसदीय छानबिन समितिले कसैलाई 'क्लिन चीट' दिएको छैन– सभापति थापा [अन्तर्वार्ता]​

कमेन्ट गर्नुहोस्