०९ साउन २०८३, शनिबार
सरकारविहीनताको आभास दिलाउने नख्खुको दृश्य

'एक घण्टासम्म छानोमाथि कुरे, सीडीओको फोन व्यस्तको व्यस्त, महानगरले पनि वास्ता गरेन'

असोज १२, २०८१
काठमाडौं
'एक घण्टासम्म छानोमाथि कुरे, सीडीओको फोन व्यस्तको व्यस्त, महानगरले पनि वास्ता गरेन'

समयमा उद्धार हुन नसक्दा ललितपुर महानगरपालिका वडा नम्बर– १४ कान्तिपुर कोलोनीनजिकै नख्खु खोलाले बगाएर ४ जना बेपत्ता भएका छन् ।

झण्डै एक घण्टासम्म उद्धारको पर्खाइमा जस्ताको टहरामाथि बसे पनि उनीहरूको उद्धार हुन सकेन । स्थानीयका अनुसार उनीहरू त्यहाँ वर्कशप चलाएर बस्दै आएका थिए ।

बेपत्ता हुनेमा २ पुरुष, १ महिला र १ बच्चा रहेको प्रहरीले जनाएको छ ।

ललितपुर– १४ का वडाध्यक्ष अमृतजंग महतले आफूहरूले उद्धारका लागि प्रयास गर्दागर्दै उनीहरूलाई खोलाले बगाएको बताए ।

आफूहरूसँग उद्धारका लागि स्रोत साधनको अभाव रहेको र जिल्ला प्रशासन तथा आफ्नै महानगरपालिकाबाट पनि उचित सहयोग पाउन नसकेको उनको गुनासो छ ।

समयमै हेलिकप्टरबाट उद्धार गर्न सकिएको भए उनीहरूलाई बचाउन सकिने अवस्था थियो ।

वडाध्यक्ष अमृतजंग महतको भनाइ उनकै शब्दमा :

यो परिवार वर्कशप चलाएर बस्दै आएको थियो । हिजो राति म आफैंले फोन गरेको थिएँ । वडाले नै यसअघि उहाँहरूलाई आवतजावत गर्न फलामको पुल हालिदिएको थियो ।

गएराति अवस्था के छ भनेर फोन गर्दा बाढीले पुल बगायो भनेका थिए । शायद त्यही पुल बगेकाले सुरक्षित स्थानमा जान सकेनन् । 

बिहान अरू मान्छेले बाढीको सतह बढ्यो भनेर फोन गरे । हत्तपत्त उठेर गएँ ।

नख्खु खोलामा बाढीको सतह निकै बढिसकेको थियो । ४ जना व्यक्तिहरू उद्धारको पर्खाइमा टहरोको जस्तामाथि (छानोमा) चढेर बसेका थिए । 

मैले र स्थानीयले सशस्त्र प्रहरीलाई फोन गर्‍यौं । नगर प्रहरी, प्रहरी सबैलाई बोलाइयो । केहीबेरमा इन्पेक्टरसहितको प्रहरी टोली आयो । सशस्त्र प्रहरीको टोली ढिला गरी आयो ।

यसबीचमा उपस्थित प्रहरी र स्थानीयले उद्धारका लागि मानिस फसेको ठाउँसम्म डोरी पुर्‍याएका थियौं । एक जनालाई हामीले डोरीमार्फत वारि ल्याउने प्रयत्न पनि गर्‍यौं ।

आधासम्म आएपछि डोरीले नधान्ने भयो । त्यसपछि फर्किनुभयो । उद्धारका लागि टायर खोजेर ल्याइयो । प्रहरीले दुईवटा लाइफ ज्याकेट पनि तयार गर्‍यो । 

हामीले आफ्नै हिसाबले रेस्क्युको प्रयास गर्दा एक घण्टा भइसकेको थियो ।

त्यो एक घण्टासम्म म आफू पनि फिल्डमै थिएँ । अकस्मात् टहरो भत्कियो । ९ बजेर ५ मिनेटतिर चारैजनालाई बाढीले बगायो । आँखैअगाडि ४ जना बगेको देख्नुपर्‍यो ।

रेस्क्युमा ढिलाइ हुँदा हामीले उनीहरूलाई वारि ल्याउन सकेनौं । ललितपुरका सीडीओलाई फोन गर्‍यौं, तर उहाँको फोन निरन्तर व्यस्त भइरह्यो । 

ललितपुरमै रहेको सेनाको राजदल गणमा खबर गर्‍यौं । कांग्रेसका सांसद उदयशमशेर राणालाई पनि फोन गरेर उद्धारका लागि माथिसम्म पहल गरिदिन भन्यौं । उहाँले कुरा भएको छ भन्नुभयो ।

उद्धारका लागि गुहार्नुपर्ने ठाउँ कतै पनि बाँकी राखिएन । सम्बन्धित ठाउँमा फोन गर्‍यौं । नगर प्रहरीको प्रमुखलाई फोन गर्‍यौं, तर हाम्रै नगर पनि समयमा आएन ।

धेरैबेरसम्म सशस्त्र प्रहरीको उपस्थिति नै भएन । हामी आफूले स्थनीय व्यक्तिहरूसँग मिलेर निरन्तरको वर्षाबीच भिजेरै उद्धारको प्रयत्न गर्‍यौं । तर, हाम्रो प्रयास सफल भएन ।

ठूलो विपतमा सीडीओले समन्वय गरेर प्रयत्न गरिदिएको भए यस्तो घटना हुने थिएन भन्ने लाग्छ । तर, सीडीओको फोन व्यस्तको व्यस्त भयो ।

हाम्रै महानगरमा पनि भन्यौ, तर समयमा केही रेस्पोन्स भएन । मानिसहरू बगाइसकेपछि १० बजेपछि माथि हेलिकप्टर घुमिरहेको छ ।

त्यो टहरामा बस्दै आएका ५ जनामध्ये एकजनाको उद्धार भएको छ । ४ जना बेपत्ता छन् । 

salt training

कमेन्ट गर्नुहोस्