२६ जेठ २०८३, मंगलबार
झ्याप्ले खोला पहिरो

एक वकिलको त्रासदीपूर्ण अनुभव– हारगुहार गर्दा पनि सरकारले वास्ता गरेन

असोज १३, २०८१
काठमाडौं
एक वकिलको त्रासदीपूर्ण अनुभव– हारगुहार गर्दा पनि सरकारले वास्ता गरेन
तस्वीर : नागढुंगा सुरुङ मार्गनजिकैको सडक र गोलो घेराभित्र अधिवक्ता सापकोटा
  • राजन सापकोटा

शुक्रबार राति ८ बजेको समयमा डुम्रे, मुग्लिन हुँदै म पनि त्यहाँ (झ्याप्ले खोलामा) आइपुगेको थिएँ । हामी सवार हायसमा एक बच्चासहित ११ जना थियौं  । 

झ्याप्ले खोला कटेपछि चालकले गाडीलाई नेपाली सेनाको ठूलो गाडीको पछिपछि लगाई पिपलामोड आएपश्चात् हामी सेनाको गाडीभन्दा अगाडि बढ्यौं । सो बेलासम्म नागढुंगा चेकपोस्ट निस्कन अवरोध थिएन । करिब राति १० बजेको समयमा अलिअलि गर्दै हामी चढेको हायस पिपलमोड र नागढुंगा चेकपोस्टको बीचमा पर्ने ठूलो भीरमा रोकिनुपर्‍यो । 

सेनाको गाडी ठूलो भएकाले बाटोमा भएको लेदो पार गरेर जान सक्यो, तर म यात्रा गरेको हायसभन्दा अगाडि साना निजी सवारीसाधन रहेकाले हामी सबै त्यहाँ रोकियौं ।

१० बजे हायसमा यात्रारत एक बहिनीले नेपाल प्रहरीको हटलाइन नम्बर र ट्राफिक प्रहरीलाई फोन गरी बाटोको अवस्थाबारे जानकारी दिनुभयो, तर कार्यालयबाट उल्टै हामीले गाडी नचलाउनु भन्दाभन्दै किन चलाएको ? किन यात्रा गरेको ? भनी गाली गर्नुभयो । पुनः मैले १०० र १०३ मा फोन गरी सडकको अवस्था र तुरुन्त गर्न सक्ने कामको बारेमा जानकारी गराएँ । थानकोट प्रहरी प्रमुखलाई समेत सोबारेमा जानकारी गराइयो । करिब २ टिप्पर जति लेदो हटाउन सके बाटो सुचारु हुन्छ भनी अनुरोध गर्दा भोलि बिहान उज्यालो भएपछि मात्र बाटो क्लियर हुन्छ भन्ने जवाफ आयो । 

गृह मन्त्रालयको हटलाइन नम्बर र राष्ट्रिय विपत प्राधिकरणको नम्बरमा बारम्बार फोन गर्दा कुनै रेस्पोन्स भएन । रातिको १२ बज्यो । मुसलधारे वर्षाका बीच कमजोर भूबनोटको अजङ्गको पहाडको बीचमा हामी त्रासदीपूर्ण समय गुजारिरहेका थियौं । हामीभन्दा सिधा तल गाडीहरूको लामो लाइन हेर्दै र छाड्दै आएका थियौं । 

अँध्यारोमा मुसलधारे वर्षा र पहिरोका कारण अगाडि बढ्ने अवस्था थिएन । राति करिब २ बजेतिर पहिरो झर्‍यो । हामी सबैको होसहवास उडिसकेको थियो । हामी २–४ जना पुरुष मात्र भएको भए पनि भाग्न सकिन्थ्यो होला, तर बालबच्चा, महिला र वृद्धवृद्धा समेत रहेकाले सुरक्षित स्थानमा लैजान सक्ने अवस्था थिएन । पानी अति नै ठूलो थियो ।​

null

त्यत्तिकैमा राति करिब ३ बजे पहिरोको ठूलो आवाज आयो । हामी आत्तियौं । सोही क्रममा हामीभन्दा अगाडिको बसमा पहिरोले ढलाएको बिजुलीको पोल आएर बज्रियो । त्यहीँ अलपत्र एक गाडीका ड्राइभरले पहिरोले तल गाडीहरू पुर्‍यो रे भन्ने सुनाए । 

सो कुरा र हामीभन्दा अगाडिको सानो गाडीमा ढुंगा लागि शिशा फुटेर एकजना घाइते भएको कुरा १०३ मा फोन गरेर जानकारी गरायौं । अवस्था भयावह बनेको छ भन्यौं । 

हामीभन्दा २० मिटर अगाडि पनि ठूलो पहिरो झर्‍यो । बिहान उज्यालो भयो, तर बाटो हिँड्न सक्ने अवस्था थिएन । केही व्यक्तिहरू जबरजस्ती हिँड्ने प्रयास गर्दै हुनुहुन्थ्यो, तर सक्नुभएको थिएन । बिहान ७ बजे मुसलधारे पानीका बीच हामी १२–१४ जना पहिरो छिचोली नागढुंगा आयौं ।

रातभरि त्रासदीका बीचमा बसी सरकारी निकायहरूलाई हारगुहार गर्दा पनि सम्बन्धित निकायको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण सडक खुलेन  । 

करिब २ टिप्पर लेदो माटो सोहोरिदिएको भए राति ३ बजे झ्याप्ले खोलामा खसेको पहिरोले यति ठूलो जनधनको क्षति हुन पाउँदैनथ्यो । त्यो लेदो पन्छाउन ठूलो खर्च र समय लाग्ने पनि थिएन । लेदो पन्छाइदिएको भए सवारीसाधन काठमाडौं प्रवेश गर्थे । जाममा नपरेको भए यति धेरै सवारी पहिरोको चपेटामा पर्ने थिएनन् ।

सरकारी संयन्त्रको गैरजिम्मेवार कार्य र व्यवहारका कारण झ्याप्ले खोलामा ठूलो मानवीय क्षति पुगेको हो ।

विपदको सूचना पाएपश्चात बेवास्ता नगरौं । आ–आफ्ना जिम्मेवारी पूरा गरौं । जिम्मेवारी पूरा नगर्ने वा ढिलासुस्ती गर्ने सरकारी कर्मचारी र पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याऔं । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली ।​

(लेखक अधिवक्ता हुन्)

salt training

कमेन्ट गर्नुहोस्