
राजन सापकोटा
शुक्रबार राति ८ बजेको समयमा डुम्रे, मुग्लिन हुँदै म पनि त्यहाँ (झ्याप्ले खोलामा) आइपुगेको थिएँ । हामी सवार हायसमा एक बच्चासहित ११ जना थियौं ।
झ्याप्ले खोला कटेपछि चालकले गाडीलाई नेपाली सेनाको ठूलो गाडीको पछिपछि लगाई पिपलामोड आएपश्चात् हामी सेनाको गाडीभन्दा अगाडि बढ्यौं । सो बेलासम्म नागढुंगा चेकपोस्ट निस्कन अवरोध थिएन । करिब राति १० बजेको समयमा अलिअलि गर्दै हामी चढेको हायस पिपलमोड र नागढुंगा चेकपोस्टको बीचमा पर्ने ठूलो भीरमा रोकिनुपर्यो ।
सेनाको गाडी ठूलो भएकाले बाटोमा भएको लेदो पार गरेर जान सक्यो, तर म यात्रा गरेको हायसभन्दा अगाडि साना निजी सवारीसाधन रहेकाले हामी सबै त्यहाँ रोकियौं ।
१० बजे हायसमा यात्रारत एक बहिनीले नेपाल प्रहरीको हटलाइन नम्बर र ट्राफिक प्रहरीलाई फोन गरी बाटोको अवस्थाबारे जानकारी दिनुभयो, तर कार्यालयबाट उल्टै हामीले गाडी नचलाउनु भन्दाभन्दै किन चलाएको ? किन यात्रा गरेको ? भनी गाली गर्नुभयो । पुनः मैले १०० र १०३ मा फोन गरी सडकको अवस्था र तुरुन्त गर्न सक्ने कामको बारेमा जानकारी गराएँ । थानकोट प्रहरी प्रमुखलाई समेत सोबारेमा जानकारी गराइयो । करिब २ टिप्पर जति लेदो हटाउन सके बाटो सुचारु हुन्छ भनी अनुरोध गर्दा भोलि बिहान उज्यालो भएपछि मात्र बाटो क्लियर हुन्छ भन्ने जवाफ आयो ।
गृह मन्त्रालयको हटलाइन नम्बर र राष्ट्रिय विपत प्राधिकरणको नम्बरमा बारम्बार फोन गर्दा कुनै रेस्पोन्स भएन । रातिको १२ बज्यो । मुसलधारे वर्षाका बीच कमजोर भूबनोटको अजङ्गको पहाडको बीचमा हामी त्रासदीपूर्ण समय गुजारिरहेका थियौं । हामीभन्दा सिधा तल गाडीहरूको लामो लाइन हेर्दै र छाड्दै आएका थियौं ।
अँध्यारोमा मुसलधारे वर्षा र पहिरोका कारण अगाडि बढ्ने अवस्था थिएन । राति करिब २ बजेतिर पहिरो झर्यो । हामी सबैको होसहवास उडिसकेको थियो । हामी २–४ जना पुरुष मात्र भएको भए पनि भाग्न सकिन्थ्यो होला, तर बालबच्चा, महिला र वृद्धवृद्धा समेत रहेकाले सुरक्षित स्थानमा लैजान सक्ने अवस्था थिएन । पानी अति नै ठूलो थियो ।

त्यत्तिकैमा राति करिब ३ बजे पहिरोको ठूलो आवाज आयो । हामी आत्तियौं । सोही क्रममा हामीभन्दा अगाडिको बसमा पहिरोले ढलाएको बिजुलीको पोल आएर बज्रियो । त्यहीँ अलपत्र एक गाडीका ड्राइभरले पहिरोले तल गाडीहरू पुर्यो रे भन्ने सुनाए ।
सो कुरा र हामीभन्दा अगाडिको सानो गाडीमा ढुंगा लागि शिशा फुटेर एकजना घाइते भएको कुरा १०३ मा फोन गरेर जानकारी गरायौं । अवस्था भयावह बनेको छ भन्यौं ।
हामीभन्दा २० मिटर अगाडि पनि ठूलो पहिरो झर्यो । बिहान उज्यालो भयो, तर बाटो हिँड्न सक्ने अवस्था थिएन । केही व्यक्तिहरू जबरजस्ती हिँड्ने प्रयास गर्दै हुनुहुन्थ्यो, तर सक्नुभएको थिएन । बिहान ७ बजे मुसलधारे पानीका बीच हामी १२–१४ जना पहिरो छिचोली नागढुंगा आयौं ।
रातभरि त्रासदीका बीचमा बसी सरकारी निकायहरूलाई हारगुहार गर्दा पनि सम्बन्धित निकायको गैरजिम्मेवारपूर्ण व्यवहारका कारण सडक खुलेन ।
करिब २ टिप्पर लेदो माटो सोहोरिदिएको भए राति ३ बजे झ्याप्ले खोलामा खसेको पहिरोले यति ठूलो जनधनको क्षति हुन पाउँदैनथ्यो । त्यो लेदो पन्छाउन ठूलो खर्च र समय लाग्ने पनि थिएन । लेदो पन्छाइदिएको भए सवारीसाधन काठमाडौं प्रवेश गर्थे । जाममा नपरेको भए यति धेरै सवारी पहिरोको चपेटामा पर्ने थिएनन् ।
सरकारी संयन्त्रको गैरजिम्मेवार कार्य र व्यवहारका कारण झ्याप्ले खोलामा ठूलो मानवीय क्षति पुगेको हो ।
विपदको सूचना पाएपश्चात बेवास्ता नगरौं । आ–आफ्ना जिम्मेवारी पूरा गरौं । जिम्मेवारी पूरा नगर्ने वा ढिलासुस्ती गर्ने सरकारी कर्मचारी र पदाधिकारीहरूलाई कारबाहीको दायरामा ल्याऔं । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
(लेखक अधिवक्ता हुन्)