काठमाडौं, १८ कात्तिक– नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यापारिक घरानाका मोतीलाल दुगड पनि अटेका छन् ।
एमालेले यसअघि पनि सामानुपातिक उम्मेदवारका रुपमा व्यापारिक घरानाका व्यक्तिलाई टिकट दिने गर्दथ्यो । २०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा अर्बपती बिनोद चौधरीलाई समानुपातिक सांसद बनाएको एमालेले २०७० सालको संविधान सभा निर्वाचनमा व्यापारिक घरानाकै राज्यलक्ष्मी गोल्छालाई उम्मेदवार बनाएको थियो ।
यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट दुगड ग्रुपका व्यवसायी मोतीलाल दुगडले सामानुपातिक तर्फको टिकट पाएका छन् । उनले यसअघि नव नेपाल निर्माण पार्टी गठन गरेका थिए । उक्त पार्टी एमालेमै विलय भएको थियो ।
एमालेले समानुपातिकको एक नम्बरमा पुनः पार्टीमा फर्किका विजय सुब्बालाई राखेको छ । युवा नेतृ रामकुमारी झाक्री, अखिलकी अध्यक्ष नविना लामा, युवा संघकी नेतृ दिलु पन्त पनि समानुपातिक उम्मेदवारको सूचीमा अटाएकी छिन् ।
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलहरुले बुझाएको उम्मेदवारको बन्दसूची गरेको शुक्रबार सार्वजनिक गरेको छ । दलहरुले संसोधनसहित बुझाएको समानुपातिकको बन्दसूची आयोगले सार्वजनिक गरेको हो ।
