
तीन दिनसम्मको अविरल वर्षा तथा बाढीपहिरोका कारण सडक सञ्जाल ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । ढुवानी प्रभावित भएको बहानामा तरकारीको मूल्य अत्यधिक वृद्धि भइसकेको छ ।
काठमाडौंमा दैनिक उपभोग्य हरियो तरकारीको मूल्य एकपटकमा प्रतिकिलो १५० रुपैयाँसम्म वृद्धि भएको देखिएको छ । शनिबारसम्म औसतमा २२६ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको हरियो लसुन आइतबार ३७६ रुपैयाँ पुगेको थियो । एकैदिन प्रतिकिलो १५० रुपैयाँ मूल्य बढ्न पुग्यो ।
त्यस्तै, शनिबारसम्म औसत ३१ रुपैयाँ प्रतिकिलो रहेको लोकल गोलभेँडाको मूल्य ७५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ६० रुपैयाँ रहेको सानो गोलभेँडा ९० रुपैयाँ पुगेको छ । त्यसैगरी, एक दिनमा प्याजको मूल्य पनि प्रतिकिलो २२ रुपैयाँले बढेको छ । गाँजरको मूल्य पनि प्रतिकिलो ५५ रुपैयाँले बढाइएको छ ।
यही बहानामा चाडबाडअघि खाद्यान्नको मूल्य पनि बढाइने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको छ । तर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै बहानामा खाद्यान्नको मूल्य बढाउन नदिइने जनाएको छ ।
सोमबारदेखि बजारमा १० टोली अनुगमनका लागि खटाइएको विभागका महानिर्देशक राजन पौडेलले बताए । उनका अनुसार कुनै पनि बाहानमा मूल्य बढाएर बिक्री गर्नेलाई कडा कारबाही गरिनेछ ।
‘शनिबारको बाढीपहिरोका कारण तरकारी तथा फलफूल बजारमा क्षति भएर केही वस्तुको मूल्य वृद्धि भएको छ, जुन एकदुई दिनमै घट्ने छ । पृथ्वी राजमार्गमा यातायात सहज हुनेबित्तिकै अत्यावश्यक वस्तुहरू भित्रिने छन् । बजारमा अनावश्यक मूल्य वृद्धि हुने छैन । विभागले सोमबारदेखि नै मूल्य वृद्धिको अनुगमनका लागि १० वटा टोली खटाउँदै छ । कुनै पनि बाहानमा मूल्य बढाउन दिनेछैनौं ।’
विभागका अनुसार काठमाडौंमा १० दिनसम्मको खाद्य सामग्रीको मौज्दात रहेको छ । एक–दुई दिन अवरोध हुँदैमा कुनै प्रभाव नपर्ने उनले बताए ।
चिनीको अभाव नहुने
साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी आयातका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो । असोज ७ गते अन्तिम दिनसम्म कुनै पनि कम्पनीले टेन्डरमा आवेदन दिएनन् ।
चिनीको आयातका लागि लिनुपर्ने स्वीकृतिका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको र दोस्रो टेन्डर प्रक्रिया अगाडि बढाइएको कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीले जानकारी दिए । ‘जीटुजी’ (सरकार टु सरकार) प्रक्रियाबाट खरिदका लागि परराष्ट्रको स्वीकृति हुनेबित्तिकै चिनी आयात हुने उनको भनाइ छ ।
हाल साल्ट ट्रेडिङले आफूसँग भएको १४ सय मेट्रिकटन चिनी बिक्री गरिरहेको छ । त्यस्तै, दशैंभन्दा अघि चिनी नेपाल भित्रिसक्ने राज भण्डारीले जानकारी दिए । उनका अनुसार बजारमा चिनीको अभाव हुने छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई सरकारले १५ हजार मेट्रिक टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार छुट दिएको छ ।
उक्त चिनी आयातका लागि कम्पनीले ग्लोबल टेन्डर आह्वान गरेको थियो, जसमा कुनै कम्पनीले चिनी आयातका लागि आवेदन दिएनन् । र, प्रक्रिया पुनः शुरू गर्ने तयारी गरिएको छ ।
गत वर्ष ल्याउन बाँकी रहेको १९ हजार मेट्रिक टन चिनीमा ८ हजार १ सय मेट्रिक टन चिनी आयात भइसकेको छ । बाँकी चिनीको आयातका लागि सरकारले साल्ट ट्रेडिङ कार्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा अनुमति दिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार बजारमा चिनीको कुनै पनि अभाव छैन । पौडेलले भने, ‘आयातकर्ताहरूले चिनी ल्याइरहेका नै छन् । बजारमा त्यस्तो अभाव पनि सिर्जना भएको छैन । चाडपर्वको बीचमा चिनी मात्रै नभएर अन्य कुनै पनि खाद्यवस्तुको अभाव हुँदैन ।’
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्वका लागि सहुलियतमा ५ रुपैयाँ छुट दिएर १०२.५० रुपैयाँ प्रतिकिलोका दरले चिनी प्रदान गरिरहेको छ । खुद्रा बजारमा प्रतिकिलो १२० रुपैयाँसम्म रहेको चिनी ११५ रुपैयाँसम्म झरेको छ । विभागका अनुसार वर्षभरिमा नेपालले ३ लाख मेट्रिकटन चिनी खपत गर्दै आएको छ ।